कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिनियाँको सहयोगमा रोजले पाए आँखा

चेतनाथ आचार्य

बेइजिङ — पोखराका १२ वर्षीय रोज परियारले चीन आएर आफ्नो गुमेको आँखाको ज्योति पाएका छन् । आफ्ना आँखाको ज्योति गुमाएको आठ वर्षपछि सहयोगी चिनियाँ मनका एक युवा भेट भएपछि रोजले संसार देख्न पाएका हुन् ।

चिनियाँको सहयोगमा रोजले पाए आँखा

चार वर्षको उमेरमै रोजले आँखाको ज्योति गुमाएका थिए ।

चीनको आन्हुइ प्रान्तका चाङ यौयी गत असारदेखि नेपालमा परोपकारी स्वयंसेवा गरिरहेका थिए । उनी गत असोजमा पोखरा घुम्न जाँदा रोजलाई पहिलोपटक देखेका थिए । गरिबीको कुचक्रमा परेका रोज पाँच जनाको परिवारसँगै झुप्रो घरमा बस्दथे । उनको घरसम्मै पुगेका चाङले सबै अवस्था बुझेपछि उपचारमा सहयोग गर्ने सोचाइमा पुगेका थिए । रोजका अभिभावकको वार्षिक आम्दानी दस हजार रुपैयाँ मात्र रहेको चाइना डेलीले चाङलाई उद्धृत गर्दै लेखेको छ ।

चाङले रोजको घरायसी अवस्था र आँखाको अवस्थाको जानकारी गराउँदै आफ्नो प्रान्तको आँखा अस्पताल र चिकित्सकलाई उपचारमा सहयोग गर्न अनुरोध गरे । उनको अनुरोधलाई अस्पतालले स्वीकार गरेपछि पोखराका रोज हजारौँ किलोमिटर टाढा चीनको पूर्वी क्षेत्रमा पर्ने आन्हुई प्रान्तको हफेईमा आएर आँखाको उपचार गराउन सफल भएका हुन् ।

चाङले रोजलाई चीनमा ल्याएर उपचार गराउने सोचाइ त बनाए तर सोचेजस्तो सजिलो थिएन । रोजको राहदानी बनाउनु पर्ने थियो अनि उनको साथमा कोही अभिभावक पनि साथमा ल्याउनु पर्ने थियो । अन्तत: रोज र उनकी दिदी सुष्मा परियारसँगै काकाकी छोरी दुर्गा परियारको राहदानी बनाउन चाङले सहयोग गरे । चाङले नै उनीहरुलाई चिनियाँ भिसा दिलाए र तिनैजना एक हप्ता अगाडि चीनको आन्हुइ प्रान्त आइपुगे ।

४ वर्षको उमेरसम्म राम्रो आँखा देख्ने रोजका आँखामा जन्मदेखि नै एक प्रकारको फुलो परेको थियो जसलाई समयमै उपचार गर्दा सजिलै ठीक हुन सक्थ्यो । तर आर्थिक श्रोत र चेतनाको अभावले गर्दा उनको उपचार भएन । फलत: उनको ज्योति बिस्तारै हराउँदै गयो । रोजको आँखाको शल्यक्रिया गरेकी हफेई चम्किला आाखा ‘हफेइ ब्राइट आइ’ अस्पतालकी डाक्टर फु लिनलिनले गत मंगलबार रोजको आँखाको शल्यक्रिया गरेकी हुन् । ‘रोजको देब्रे आँखाले केही प्रकाश देख्न सक्थ्यो तर दाहिने आँखाले केही पनि देख्दैनथियो । शल्यक्रियापछि रोजको देब्रे आँखाको पूरै ज्योति फर्किएको छ । अहिले उनी राम्ररी देख्न सक्छन् ।’ शल्यक्रियामा सहभागी डा. फु भन्छिन् ‘यदि शल्यक्रिया गर्न अरु केही समय ढिला भएको भए उनको दुवै आँखाको ज्योति पूरै गुम्ने थियो र जीवनभरका लागि उनी दृष्टिविहीन हुने थिए ।’

सो अस्पतालले रोजको आँखाको शल्यक्रिया नि:शुल्क गरेको मात्र होइन पोखरादेखि हफेईसम्मको विमान टिकट खर्चका लागि आफ्ना कर्मचारीहरुबाट १० हजार चिनियाँ युआन अर्थात् डेढ लाख रुपैयाँभन्दा बढी नगद सङ्कलन गरेर सहयोग पनि गरेको छ । हफेईबाट काठमाडौँसम्मको विमान टिकट भने चाइना इस्टर्न एयरलाइन्सले निशुल्क उपलब्ध गराएको छ ।


अस्पताल र एयरलाइन्सको यस्तो सहयोगप्रति आन्हुइमा रहेका नेपाली विद्यार्थीहरुले सामूहिक रुपमा ब्यानरसहित आइतबार बिहान दुवै निकायलाई धन्यवाद प्रकट गर्ने आन्हुइको हेफेइस्थित विज्ञान तथा प्रविधि विश्वविद्यालयमा सार्वजनिक प्रशासनमा पिएचडी गरिरहेका लोचनकुमार बटालाले कान्तिपुरलाई बताए । रोज र उनका दिदीहरु पनि आइतबार हफेइबाट उडान गरी खुन्मिङमा बास बस्नेछन् र सोमबार अपरान्ह काठमाडौँ फर्कैछन् ।

रोजको उपचारमा चिनियाँको सहयोग गरिब दुखीको सेवामा अरुलाई प्रेरणा दिने र दुई देशमा जनस्तरको सहयोगमा साँचो नमूना बनेको बटालाले बताए ।

प्रकाशित : पुस २९, २०७४ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?