१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

जे पनि हुन्छ भन्दै अटेर गर्ने ? : नेम्वाङ्ग

प्रधानमन्त्री देउवाको अभिव्यक्तिप्रति नेम्वाङ्गको आपत्ति

काठमाडौँ — काठमाडौ पूर्व सभामुख सुवास नेम्वाङ्गले प्रधानमन्त्री शेरबहादुर देउवाका पछिल्ला अभिव्यक्तिप्रति गम्भीर असहमति राख्दै जनादेशको सम्मान गर्दै नयाँ सरकार निर्माणको मार्ग प्रशस्त गर्न शनिवार आग्रह गरेका छन् ।

जे पनि हुन्छ भन्दै अटेर गर्ने ? : नेम्वाङ्ग

प्रधानमन्त्री देउवाले अघिल्लो दिन धनगढीमा आयोजित एक कार्यक्रममा ‘यो नेपाल हो जे पनि हुन्छ’ भनी दिएको अभिव्यक्तिप्रति आश्चर्यता राख्दै नेम्वाङ्गले भने–‘प्रधानमन्त्रीजी मेरो मित्र पनि हुनुहुन्छ । त्यस्ता अभिव्यक्ति दिएर पदमा बस्न मिल्दैन । झण्डै २ तिहाई ल्याएको गठबन्धनलाई सम्मान गर्न सिक्नुहोस् र सरकार बनाउने मार्गप्रशस्त गर्नुहोस् ।’


एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चले नवनिर्वाचित सांसदहरुलाई बधाई दिन आयोजित कार्यक्रममा बोल्दै संविधानसभा अध्यक्ष समेत रहेका नेम्वाङ्गले अत्यधिक बहुमत ल्याएको राजनीतिक शक्तिलाई किनारा ल्याउन खोज्नु मुर्खता हुने चेतावनी समेत दिए । देउवाले एमाले विनाको सरकार बन्न पनि सक्ने प्रतिक्रिया समेत दिएका थिए ।


जितेको शक्तिलाई बधाई दिन समेत प्रधानमन्त्री देउवाले एक महिना लगाएको प्रसङ्ग झिक्दै उनले सरकार कामचलाउको आयु लम्ब्याउन नचाहिने बखेडा झिकिरहेको आरोप लगाए ।


त्यसका लागि प्रदेशका अस्थायी केन्द्र र प्रदेश प्रमुख नियुक्त गर्न समेत ढिलाई गरी राष्ट्रिय सभा निर्वाचनलाई प्रभावित बनाउन लागेको नेम्वाङ्गको दावी थियो ।


‘सरकारलाई ढिलो गर्नु छ । त्यही भएर प्रदेश राजधानी र प्रमुख नियुक्त गर्न सकेको छैन’, आफ्नो पार्टी अध्यक्ष केपी ओली उपचारमा बैंकक जानु अघि पनि प्रधानमन्त्री देउवालाई ती काम गर्न आग्रह गरेपनि सरकारले वेवास्ता गरेको जनाउदै भने–‘एउटा उखान छ । हिजो पारि वनमा चितुवा कराउनु, आज खोरको सिंगौरी खसी हराउनु भनेजस्तो प्रधानमन्त्रीले गर्नुभएन । सरकार लम्ब्यानका लागि यो सब नाटक किन ?’


नयाँ संविधानको प्रस्तावनाले कानुनको शासन, स्वतन्त्र न्यायापालिका, आवधिक निर्वाचनलाई सुनिश्चित गरेको छ । निर्वाचन हुने तर समयमा मतपरिणाम नआउने हो भने संविधानको आत्म मर्छ । सरकार किन यस्तो खेलमा लागेको छ ?’ नेम्वाङ्गको प्रश्न थियो ।


जतिसुकै विलम्व गराउन खोजेपनि वाम गठबन्धनकै नेतृत्वमा सरकार बन्ने र पार्टी एकता पनि चाँडै हुने जानकारी उनले दिए ।


कार्यक्रममा एमाले दोलखाका युवा नेता गणेश शिवाकोटीले घोषणापत्र र चुनावी प्रतिवद्धता अनुसार काम गर्ने चुनौति दलहरुमा रहेको बताएका थिए ।

प्रकाशित : पुस २९, २०७४ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?