२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

जाजरकोट संक्रमण इन्फ्लुएन्जा भएको पुष्टि

भाइरलका बिरामी घटे । स्वास्थ्य सचिवलगायत मन्त्रालयको टोलीद्वारा प्रभावित क्षेत्रमा अनुगमन । 
रुघाखोकी जटिल प्रकृतिको महामारी होइन, आत्तिनु पर्दैन : स्वास्थ्य सचिव
भीमबहादुर सिंह

जाजरकोट — जुनीचाँदे गाउँपालिकामा तीन सातादेखि फैलिएको रोग भाइरल इन्फ्लुएन्जा भएको पुष्टि भएको छ । काठमाडौंस्थित रोग नियन्त्रण महाशाखाको प्रयोगशालामा बिरामीको नमुना परीक्षणपछि उक्त पुष्टि भएको हो । 

जाजरकोट संक्रमण इन्फ्लुएन्जा भएको पुष्टि

प्रयोगशालामा बिरामीको खकार, सिंगान र र्‍याल परीक्षण गर्दा ए टाइपको ‘एच थ्री एन टु’ भाइरस देखा परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यले जानकारी दिए । ५ नमुनामध्ये एउटामा उक्त जीवाणु फेला परेको आचार्यले बताए । तर इन्फ्लुएन्जा जटिल खालको महामारी नभएको उनले बताए । ‘इन्फ्लुएन्जा पनि संक्रामक रोग भएकाले तत्काल उपचार तथा नियन्त्रणका लागि उच्च सतर्कता अपनाउनैपर्ने हुन्छ,’ उनले भने । रोग प्रभावित क्षेत्रबाट ५ जना बिरामीको खकार तथा सिंगानलगायत नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएकोमा एक जनामा उक्त भाइरस देखिएको उनले बताए ।


जुनीचाँदेको १, २, ३ र ११ वडामा फैलिएको भाइरल इन्फ्लुएन्जा तथा रुघाखोकी शनिबारदेखि नियन्त्रणमा आउने क्रममा छ । जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले स्वास्थ्य शिविरमा आउने बिरामी घटेका र आएका पनि कमै बिरामीमा ज्वरो देखिएपछि भाइरल नियन्त्रणमा आउने क्रममा रहेको बताए । ‘रोग प्रभावित क्षेत्रमा सञ्चालित शिविरमा ३/४ दिनअघि जस्तो बिरामी आएका छैनन्,’ उनले भने । रोग प्रभावित क्षेत्रमा खटिएका स्वास्थ्यकर्मीले शनिबार १ सय २३ बिरामीको उपचार गरेका छन् । शुक्रबारसम्म १ हजार ८ सयको बिरामीको उपचार भएको थियो । रोग पूर्ण रूपमा नियन्त्रणमा नआएसम्म प्रभावित क्षेत्रबाट स्वास्थ्यकर्मी नफर्कने उनले बताए ।


अबको एक सातामा जुनीचाँदेमा फैलिएको रोग नियन्त्रणमा आउने उनको दाबी छ । कर्णाली विज्ञान प्रतिष्ठान जुम्लाका बाल रोग विशेषज्ञ डा. नम्रता सिन्दान, ३ मेडिकल अधिकृतसहित २० भन्दा बढी स्वास्थ्यकर्मीले प्रभावित क्षेत्रमा बिरामीको उपचार गर्दै आएको नेपालीले बताए । स्वास्थ्यकर्मीले जुनीचाँदेको बडकुले, मजकोट, डाँडाकोट, लुहादहलगायत स्थानमा शिविर सञ्चालन गरेको उनले बताए ।


यसैबीच स्वास्थ्य सचिव पुष्पा चौधरी, सांसदहरू तथा विज्ञ टोलीले शनिबार रोग प्रभावित क्षेत्रको अनुगमन गरेको छ । मन्त्रालयको टोली औषधि र स्वास्थ्यकर्मीसहित रोग प्रभावित क्षेत्र पुगेको थियो । जुनीचाँदेमा फैलिएको रोग सामान्य खालको रुघाखोकी भएको सचिव चौधरीले बताइन् । उनले रुघाखोकी जटिल प्रकृतिको महामारी नभएकाले स्थानीय बासिन्दालाई नआत्तिन आग्रह गरेकी छन् । रोगले आगामी दिनमा महामारीको रूप लिन सक्ने सम्भावना भएकाले समयमै उच्च सतर्कता अपनाइने उनले बताइन् । जुनीचाँदेमा रोगविरुद्ध लड्ने क्षमता कम भएका व्यक्ति भाइरल इन्फ्लुएन्जाबाट पीडित भएको उनले बताइन् ।



१) अनुगमन तथा निरीक्षणका क्रममा हेलिकप्टरद्वारा भाइरल प्रभावित जुनीचाँदे २, मजकोट पुगेको स्वास्थ्य सचिव पुष्पा चौधरीलगायतको टोली ।


२) भाइरलको उपचारका लागि मजकोटस्थित स्वास्थ्य क्याम्पतर्फ बोकेर लैजाँदै गरेकी स्थानीय कालिका बस्नेत । तस्बिर : भीमबहादुर सिंह/कान्तिपुर


प्रकाशित : पुस २९, २०७४ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?