कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आयोगको चेतावनीपछि सूची सच्याउँदै राजपा

सुरुमै सबै नाम मधेसी समूहबाट पठाएर क्लस्टर उल्लंघन गरेको राजपाद्वारा निर्वाचनपछि पनि मिलाउन आनाकानी

काठमाडौँ — निर्वाचन आयोगको चेतावनीपछि राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रदेश २ को प्रदेशसभामा समानुपातिकबाट विजयी उम्मेदवारको सूची सच्याउन तयार भएको छ । आयोगले भनेअनुसार नै ‘क्रम’ मिलाएर सूची बुझाउने निर्णयमा राजपा पुगेको राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए । 

आयोगको चेतावनीपछि सूची सच्याउँदै राजपा


‘आइतबार कार्यालय खुल्नासाथ आयोगले भनेअनुसार नै सूची बुझाउनेछौं,’ यादवले भने । आयोगले सूची नसच्याए राजपाको परिणाम रोक्ने चेतावनी दिएको थियो । चेतावनीपछि राजपाका नेता शुक्रबार आयोगका अधिकारीलाई भेट्न पुगेका थिए । भेटपछि राजपाले आयोगसँग सूची सच्याउन केही दिन पर्खन आग्रह गरेको थियो । यसअघि आयोगले सूची सच्याउन बारम्बार आग्रह गरे पनि राजपाले अटेर गर्दै आएको थियो । समानुपातिकबाट राजपाले प्रदेश २ मा १० सिट पाएको छ ।


निर्वाचनअघि बुझाइएको सूचीमा पनि राजपाले क्लस्टर मिलाएको थिएन । आयोगले त्यतिबेलै आपत्ति जनाए पनि राजपाले सूची नसच्याई चुनावमा होमियो । राजपाले अहिले वरीयता सूची पनि आयोगले भने जसरी बुझाउन आनाकानी गर्दै आएको थियो । समानुपातिकको बन्दसूचीमा भएको ‘क्रम’ अनुसार नै प्रतिनिधि छनोट गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, राजपाले १० सिटमध्ये पहिलो ६ जनाको बन्दसूचीअनुसार छानेको थियो भने त्यसपछिका चार जनाका लागि क्रम मिचेको थियो । त्यसप्रति निर्वाचन आयोगले आपत्ति जनाएको हो ।


उम्मेदवारी दर्ता गराउँदा बुझाएको बन्दसूचीमा महिलाको संख्या पुर्‍याइए पनि अल्पसंख्यक तथा अन्यको थिएन । राजपाले प्रदेश २ का लागि समानुपातिकको बन्दसूचीमा ४२ वटै नाम मधेसी समूहबाट राखेको थियो । समावेशीको ‘क्लस्टर’ उल्लंघन गरेको राजपाले मधेसी समुदायको नाममा पनि क्रम मिचेपछि आयोगले त्यसो नगर्न सचेत गराएको थियो । त्यसले राजपाभित्रै व्यापक असन्तुष्टि सिर्जना गरेको थियो । ‘केही असन्तुष्टि थियो, साथीहरूमा त्यो सबै सम्बोधन भइसकेको छ,’ यादवले प्रस्ट पारे ।


आयोगले राजपासँग मधेसी ५, दलित २, आदिवासी जनजाति १, थारू १ र मुस्लिम १ जनाको नाम माग गरेको थियो । त्यसमा ७ जना महिला, ३ जना अल्पसंख्यक समुदायबाट नाम पठाउनुपर्छ । महिलाको संख्या पुर्‍याइए पनि अल्पसंख्यक भने पुगेको थिएन । यसअघि पठाइएको ७ जना महिलाको नाममा पनि क्रम मिचिएको थियो ।


प्रदेश २ मा राजपाले पाउने १० सिटमा पठाइएको नाममा बन्दसूचीको क्रम संख्या ६ सम्म क्रमअनुसार नै नाम पठाइए पनि त्यसबाहेक अन्य चार जनाको नाममा भने क्रम मिचिएको थियो । २२ नम्बरको विभा ठाकुर, २७ क्रमसूचीमा रहेको रामप्रवेश बैठा, २९ क्रमसूचीमा रहेको लैला खातुन र बन्दसूचीको ३४ नम्बरमा रहेको पुनम यादवको नाम क्रम मिचेर पठाइएको थियो ।


अब आयोगले भनेअनुसार नै सच्याउँदा बबिता कुमारी, नीलमदेवी भूमिहारिन, अञ्जुकुमारी, डा. डिम्पल कुमारी झा, नीराकुमारी साह, अलका कुमारी झा, रीना यादव, रामनरेश राय, जानकीशरण साह र नेत्रविक्रम शाहनाम सूचीमा अटाउने सम्भावना छ ।


प्रकाशित : पुस २९, २०७४ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?