कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

साँखुमा पुनर्निर्माण

आधाजसो घर पुनर्निर्माण भइरहँदा पैसा अभावमा केही भत्केका पुराना घर जस्ताको तस्तै छन्
शिल्पा कर्ण

काठमाडौँ — साँखु, साल्खाटोलमा ३ तले निर्माणाधीन घरमा कामदार व्यस्त छन् । १ आनामा रुमित श्रेष्ठको घर बन्दै छ । उनले निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ पाए । ‘दोस्रो किस्ताका लागि कागजात नगरपालिकामा बुझाइसक्यौं तर घर फिनिसिङ हुन लागिसक्दा समेत पाएका छैनौं,’ उनले भने । घर निर्माणमा लाखौं खर्च भइसकेको उनी बताउँछन् । 

साँखुमा पुनर्निर्माण

घर त ढोंलाटोलका भीमबहादुर श्रेष्ठले पनि बनाएका छन् । तर नेवारी वा आधुनिक शैलीमा नभई बस्न हुने गरी भत्केको घरको इँटा प्रयोग गरी । पहिलो किस्ता बापतको ५० हजार पाएका उनले त्यो रकम टहरा बनाउनै प्रयोग गरे । ‘त्यो पैसाले फोहोर हटाएर नयाँ टहरो बनाएँ,’ श्रेष्ठले थपे, ‘अर्को किस्ता पाउन घर बनाउन सुरु गरेको प्रमाणसहित निवेदन दिनुपर्छ । तर पैसा नभएकाले बनाएकै छैन ।’

ऐतिहासिक तथा पौराणिक बस्ती साँखुलाई भूकम्पले निकै क्षति पुर्‍याएको थियो । पुरातात्त्विक तथा धार्मिक महत्त्व बोकेको शाली नदीको केही माथिको यो पुरानो बस्ती भूकम्पले तहसनहस बनाएको थियो । त्यसको अवशेष अहिले पनि देख्न सकिन्छ । पुरानो शैलीमा बनेका सबैजसो घर भत्किए, चर्किए ।

खेतमा टहरा बनाई बस्नेको संख्या घटे पनि अन्य स्थानमा अझै टहरा देखिन्छन् । भूकम्प गएको तीन वर्ष हुन लाग्दा भित्री क्षेत्रमा (चार ढोकाभित्र) अहिले नयाँ घर निर्माण गर्नेको चहलपहल देखिन्छ । भित्रका पसल र घर दुवै भत्किएपछि पनि केही समयमा बिस्तारै जनजीवन सामान्य बन्यो । यद्यपि अहिले पनि भत्केर बाँकी रहेको तल्लो तलामा व्यवसाय सञ्चालन गर्नेदेखि जोखिमपूर्ण संरचनामा बसोबास गरिरहेका परिवारसमेत पाइन्छन् । यसरी नै व्यवसायलाई निरन्तरता दिइरहेको छ चलाखुका सहन श्रेष्ठको परिवारले पनि । ४५ वर्ष पुरानो ४ तले घर भूकम्पले भत्काएपछि उनको परिवार अर्को टोलमा बसिरहेको छ । भत्केर बाँकी रहेको एक तले घरमा उनले टिनको छाना हालेर सानो पसल चलाइरहेका छन् । घर पुनर्निर्माण हुन नसकेको कारणबारे उनले भने, ‘हजुरबुबाको मृत्यु भएकाले एक वर्षसम्म नयाँ काम थाल्नु हुन्न । त्यसैले नबनाएका हौं ।’

उक्त क्षेत्रमा निर्माण कार्य धमाधम भइरहे पनि त्यहाँ घर बनाउन अधिकांशलाई आर्थिक समस्या छ । पुरानो शैलीमा घर बनाउँदा विशेष किसिमका बुट्टेदार इँटा र काठ आवश्यक पर्ने तर ती निकै महँगो हुने गरेको उनीहरूको गुनासो छ । यस्तै समस्याबाट गुज्रिरहेकी छन्, शंखरापुर नगरपालिका–७ ढोंलाटोलकी मीरा बज्राचार्य । ५ तले घर भूकम्पमा परेर भत्किएपछि बाँकी रहेको तीनतले घरमै बसिरहेकी छिन् उनी ।

बज्राचार्यले भनिन्, ‘सामान्य राम्रो इँटाको २० रुपैयाँ प्रतिइँटा पर्छ तर गुणस्तरिय यस्तो चिल्लो इँटाको ४० रुपैयाँ सम्म पर्छ । अनि पैसा नभएकाले भत्किने डर भए पनि यही घरमा बसिरहेका छौं ।’ पुनर्निर्माणको पहिलो किस्तासमेत नपाएकी उनी जोखिमपूर्ण संरचनाका बावजुद तल पसल थापेर परिवारसहित पुरानै घरमा बसिरहेकी छन् । आधाजसो घर पुनर्निर्माण भइरहँदा पैसा अभावका कारणले केही भत्केका पुराना घर जस्ताको तस्तै छन् । ढोंलाटोलका भीमबहादुर श्रेष्ठको पनि त्यही कारण हो । आर्थिक समस्या त छँदैछ घरहरू पुनर्निर्माण नहुनुको अर्को कारण संयुक्त परिवार हुनु रहेको सहन श्रेष्ठको ठम्याइ छ । ‘भूकम्पपछि धेरै परिवारमा झैझगडा र विभाजन भयो,’ उनले अनुभव सुनाए, ‘अंशबण्डा नभएका थुप्रै परिवार सँगै बस्थे । त्यही कारणले कतिलाई किस्ता पाउन पनि सास्ती भयो ।’

अहिले ज्यामी खोज्न पनि कठिनाइ भइरहेको बताउँछन् बालमुकुन्द नकर्मी । काठको समस्या पनि उत्तिकै छ । उनले भने, ‘किस्ता नपाउँदा धेरैले काम सुरु गरेनन् । वर्षातमा कुहिन्छ भनेर कलात्मक ढोका, झ्यालहरू सस्तैमा बेचिदिए । अहिले त्यही काठ र कुँद्ने कलाकार भेट्न गाह्रो छ ।’

उपमेयर शुक्रलक्ष्मी श्रेष्ठ न्यायिक समिति गठन नभइसके पनि स्थानीय तहमा महिला हिंसापछि अर्को मुख्य उजुरी जग्गासम्बन्धी नै आउने गरेको बताउँछिन् । ‘नयाँ घर बन्ने क्रम जारी रहेकाले जग्गा मिचेको उजुरीहरू आइरहेका छन्,’ श्रेष्ठले भनिन् । वडा नं. ६ का वडाध्यक्ष राधाकृष्ण श्रेष्ठले आउँदो नगरसभाबाट पौराणिक शैलीको निर्माणलाई प्रोत्साहित गर्न त्यस्ता घर बनाउनेलाई १ लाख रुपैयाँ दिने निर्णय गर्ने तयारी भइरहेको बताए । नगरपालिकाबाट किस्ता वितरणको कार्य भइरहेकाले केही पीडितले किस्ता पाउन नसकेको स्वीकार्दै श्रेष्ठले आफूहरू भूकम्पपीडितलाई किस्ता दिलाउन सक्दो प्रयास गरिरहेको बताए ।

पुनर्निर्माण प्राधिकरणले सम्पदा बस्तीभित्र साँखुलाई सूचीकृत गरेकाले पुरानो नेवारी शैलीमा घर बनाउनेलाई थप ५० हजार दिने निर्णय गरेको छ ।

प्रकाशित : पुस ३०, २०७४ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?