१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

एक परिवारलाई चार दिनमा जम्मा १० लिटर पानी !

रामेछापको सान्नेमा पानी पीडा
टीकाप्रसाद भट्ट

सान्ने (रामेछाप) — रामेछापको सान्नेमा पानीको हाहाकार छ । गाउँमा भएका पानीका सबै मुल सुकेकाले स्थानीयबासी पानी अभावसँग जुधिरहेका छन् । यहाँका झण्डै ७० परिवार सान्ने गाउँको देवीस्थान पधेरामा निर्भर छन् ।

एक परिवारलाई चार दिनमा जम्मा १० लिटर पानी !

गाउँमा रहेको अन्य दुई कुवा वर्षौअघि सुकेको स्थानीय बताउँछन् ।


बैंकको ढुकुटीको चावीजस्तो पधेंराको ढोकाको ताला खोल्न तल्लो र माथिल्लो गाउँका दुइ जना जुट्नैपर्छ ।


ताला ठोकेको ४ दिनमा शुक्रबार देवीस्थान पधेंरामा पानी बाँड्ने भनेपछि भीड लाग्यो । केही दिन अघिदेखि लाइनमा राखेका गाग्री भरिएला कि भन्ने आशामा ६० जना जति स्थानीय पधेंरामा जुटे ।


पालेले ढोका खोले र पानी हेरे । ‘जनाको १० लिटर जति पुग्ला भन्ने अनुमान निकालिएको छ,’ स्थानीय डबलबहादुर कार्कीले भने, ‘हामी बाँडिरहेका छौं अन्तिममा पालो आउनेलाइ नपुग्न पनि सक्छ ।’


सान्ने दुई कोशीको बीचमा पर्ने डाँडामाथिको गाउँ हो । दक्षिणतिर सुनकोशी र पूर्वीभागमा तामाकोशी बग्छ । गाउँबाट दुवै कोशिमा जान उस्तैउस्तै समय लाग्छ । कोशी झर्दा झण्डै एक घण्टा जस्तो अनि पानी बोकेर उक्लदा करिव ३ घण्टा लाग्ने ठाडो उकालो । अहिले धेरै महिलाहरु यहि उकालो ओरालोमा पानी बोकिरहेका भेटिन्छन् ।


‘कोशी नगइ पानी खान पाइएको छैन’ स्थानीय सिता कार्की भन्छिन्, ‘दिनको ३ खेपसम्म कोशीको पानी बोक्न बाध्य छौं ।’


बिहान ४ बजेदेखि स्थानीय महिलाहरु डोकोमा गाग्री हालेर कोशी झर्छन । बेलुका ७ बजेसम्म मुस्किलले ३ गाग्री पानी घरसम्म उकाल्छन । ‘हाम्रो दिन नै कोशीको पानी बोकेर जान थालेको छ,’ स्थानीय अम्बिका कार्की भन्छिन्, ‘पानी बोकेरै जाने भइयो ।’ गाउँलेहरु लुगाधुन कोशीनै झर्छन । डोकोमा पानीको गाग्रीसँगैं जुठा भाडा पनि लिएर झर्ने चलन पनि छ । कोशीमा माझ्ने अनि ल्याउने ।


खाँडादेवी गाउँपालिकामा पर्ने सान्नेमा पानीको सास्ती पुरानै हो । तर केही वर्षयता दु:ख झन् थपिएको छ ।


गाउँमा सडक पुगेकाले पैसा हुनेले लिटरको ३ रुपैयाँसम्म हालेर किन्न पाएका छन् । ‘३ रुपैयाँ लिटरको पानी किनेर कति दिन चलाउनु ?,’ स्थानीय रामहरी कार्की भन्छन् । अधिकांशका घरमा एकभन्दा बढी गाईभैंसी छन् ।


खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रामेछापका डिभिजन प्रमुख लोकवहादुर चौलागाईले सान्नेका बासिन्दालाइ अबको एक वर्षमा पानी खुवाउने लक्ष्य राखेर काम भइरहेको बताउँछन् । उनले योजनाका आवश्यक पूर्वाधारको निर्माण धमाधम भइरहेको बताए ।


ईन्जिनियर नवराज सत्यालका अनुसार सुरुमा करिब ४३ करोडको लागतमा निर्माण गर्ने लक्ष्य लिएको उक्त योजनाको निर्माण लागत बढेको छ । निर्माण सामाग्रीको मूल्यबद्धि र योजनामा थप काम समेत गर्दा उक्त योजना सक्न झण्डै ६५ करोड लाग्ने अनुमान कार्यालयको छ ।


उक्त योजनाबाट साविक पकरवासका ३ हजार परिवारका झण्डै १५ सय नागरिकलाइ पानी वितरण गर्ने लक्ष्य रहेको सत्यालले बताए ।


विगत १० वर्षयता रामेछापको दक्षिणी क्षेत्रमा थोरै बर्षा हुँुदा पानीका श्रोतहरु धमाधम सुकिरहेका छन् ।

प्रकाशित : पुस ३०, २०७४ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?