१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

११ हजार सरकारी कर्मचारीले स्वेच्छिक अवकास रोज्ने सम्भावना

समायोजनमा नजाने कर्मचारीलाई ‘बिदा’

काठमाडौँ — सरकारले स्थानीय तह, प्रदेश र संघको समायोजनमा नजाने कर्मचारीलाई अवकास दिने भएको छ । त्यसका लागि प्याकेज बनाई स्वेच्छिक अवकासको बाटो रोज्न सरकारले ४५ दिने सूचनासमेत जारी गरेको छ ।

११ हजार सरकारी कर्मचारीले स्वेच्छिक अवकास रोज्ने सम्भावना

समायोजन प्रक्रियामा जाँदा करिब ११ हजार निजामती कर्मचारीले स्वेच्छिक अवकासको बाटो रोज्ने आँकलन सरकारको छ ।


सामान्य प्रशासनले त्यसका लागि आवश्यक पर्ने बजेट व्यवस्था गर्न अर्थ मन्त्रालयलाई आग्रहसमेत गरेको छ । तर, एकैपटक त्यति ठूलो संख्यामा अवकास दिइदा कर्मचारीलाई सुविधा दिन बजेट अभाव हुने भन्दै मापदण्ड तय गर्नुपर्ने सुझाव अर्थले दिएको छ ।


सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवराम न्यौपानेले सबै तहका कर्मचारीबाट करिब ११ हजारले स्वेच्छिक अवकास रोज्न सक्ने भन्दै त्यसको जानकारी अर्थलाई समेत गराइएको कान्तिपुरलाई बताए ।


‘समायोजन रोज्ने कर्मचारीलाई दिने सुविधाका लागि आवश्यक बजेटबारे छलफल भइरहेको छ । त्यसबारे अर्थसँग बसेर टुंगो लगाउछौं’, न्यौपानेले भने ।


स्वेच्छिक अवकासका लागि ५० वर्ष उमेर पुगेका र २० वर्ष सेवा अवधि पुगेका (पेन्सनका लागि योग्य) कर्मचारी हुनुपर्ने मापदण्ड सरकारले तय गरेको छ । उक्त मापदण्ड पूरा गर्ने सबै तहका कर्मचारी २२ हजार ६ सय छन् । तीमध्ये अवकास रोज्ने कर्मचारीलाई ७ वर्षको पेन्सन एकमुष्ठ रुपमा दिइने र उक्त अवधि भुक्तानी भएपछि प्रचलित कानुनबमोजिम पेन्सन दिइने राजपत्रमा उल्लेख गरिएको छ । त्यसरी पेन्सन लिएपछि ७ वर्षको अवधिमा बहालवाला सरकारी कर्मचारीको तलब बृद्धि हुदा समान पदबाट निवृत्त कर्मचारीले प्राप्त गर्ने थप निवृत्तिभरण रकम समेत प्राप्त गर्नेछन् ।


अवकास रोज्ने कर्मचारीले सम्बन्धित निकाय वा कार्यालयमा निवेदन दिन सक्नेछन् । ‘प्रक्रिया सुरु भइसकेको छ । केही सातामै मन्त्रालयमा त्यसको संख्याको आकार आउँछ’ प्रवक्ता न्यौपानेले भने ।


कर्मचारी समायोजनका लागि संसदले ऐन पारित गरेको थियो । त्यसलाई कार्यान्वयन गर्न नियमावलीको कामसमेत भइरहेको छ । नियामावली बनाउने क्रममा अवकासमा जाने कर्मचारी, खर्च र पदपूर्ति प्रक्रियाबारे सिंहदरवारमा गहन अध्ययन भइरहेको छ ।


त्यस्तै, नियमावलीमा हाल कायम रहेको श्रेणीलाई तहमा लैजाने र त्यसरी लैजाँदा सबै कर्मचारीको एक तह बढाइने उल्लेख छ । नियमावलीमा संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गरिने र त्यसले सबै अध्ययन पश्चातमात्र समायोजन र नियुक्ति प्रक्रिया टुंगो लाग्नेछ ।


अवकासका लागि निवेदन दिएपछि सम्बन्धित कर्मचारीले उक्त प्रक्रियाबाट फिर्ता हुन नपाइने नियम बनाइएको छ । त्यस्तै निलम्बनमा परेका, सरकारको स्वीकृतिमा अध्ययन विदामा रहेका तथा अध्ययन, तालिम सकेपछि पूरा गर्नुपर्ने न्युनतम सेवा अवधि पूरा नगरेका कर्मचारीले स्वेच्छिक अवकासको बाटो रोज्न पाउने छैनन् । साथै विभागीय कारवाही प्रक्रिया सुरु भएका कर्मचारीले समेत यो बाटो रोज्न पाउने छैनन् ।


निजामती सेवा ऐन, २०४९, नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ र व्यवस्थापिका–संसद सचिवालय सम्बन्धी ऐन, २०६४ बमोजिम सेवामा कार्यरत कर्मचारी यो प्रक्रियामा सामेल हुन सक्नेछन् ।


प्रकाशित : माघ १, २०७४ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?