आन्दोलनमा नर्सहरू

उनीहरूलाई बोलाएर छलफल गर्छौं र जायज माग पूरा गरिदिन्छौं – स्वास्थ्य सचिव चौधरी
फातिमा बानु

काठमाडौँ — नर्समाथि भइरहेको श्रम शोषण बन्द गरियोस् भन्दै देशभरका नर्स आन्दोलनमा उत्रिएका छन् । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका नर्सिङ कर्मचारीलाई बिनासर्त पुनर्बहाली गर्नुपर्ने मुद्दालाई मुख्य बनाएर उनीहरूले आन्दोलन थालेका हुन् ।

आन्दोलनमा नर्सहरू

यसबाहेक विभिन्न ११ बुँदे माग अघि सार्दै एक सातादेखि उनीहरू आन्दोलनमा छन् । नेपाल नर्सिङ संघको अगुवाइमा नर्सले बुधबारदेखि नै हातमा कालोपट्टी बाँधेर मौन विरोध सुरु गरेका थिए ।


यसअघि नर्सहरूले कालोपट्टी बाँधेर ड्युटी गर्ने र एक घण्टा कामै नगरी अस्पताल परिसरमा धर्ना बस्दै आएका थिए । आन्दोलनरत नर्सहरूले सोमबारदेखि भने एक सिफ्टको ड्युटी नै छाडेका छन् । तीन घण्टा कामै नगरी उनीहरू अस्पताल परिसरमा धर्ना बसे । तीन दिनभित्र पनि माग पूरा नभए आफूहरू अस्पताल नै नजाने ड्युटी छाडेर २४ घण्टा नै स्वास्थ्य मन्त्रालयमा धर्ना दिने उनीहरूले चेतावनी दिएका छन् ।


माग पूरा नभए अनिश्चितकालका लागि काम ठप्प पार्ने निणर्य गरिएको नेपाल नर्सिङ संघकी कार्यबाहक अध्यक्ष गंगा थापाले बताइन् । ‘हाम्रो मागलाई बेवास्ता गरिएको छ, सुनुवाइ नभएसम्म हामी निरन्तर आन्दोलन गरिरहन्छौं,’ थापाले भनिन् । अधिकारसहितको नर्सिङ सेवा महाशाखा बनाउनुपर्ने, अस्पतालमा नर्स बिरामीको अनुपात मिलाउनुपर्ने, निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सलाई तहगत हिसाबले तलब दिनुपर्ने, भोलिन्टियर नर्सको नाममा नर्सहरूमाथि भइरहेको श्रम शोषण बन्द गर्नुपर्ने, दुर्गममा काम गर्ने नर्सलाई उचित पारिश्रमिक र सुरक्षा दिनुपर्ने, श्रम ऐन, २०७४ सबै स्वास्थ्य संस्थामा लागू गर्नुपर्ने उनीहरूका माग हुन् । नर्सिङ संघको तथ्यांकअनुसार देशभार ७४ हजार नर्स छन् ।


नर्सको आन्दोलन चर्किएसँगै राजधानीका सरकारी अस्पताल प्रभावित हुन थालेका छन् । वीर अस्पतालमा सोमबार नर्सहरूले तीन घण्टा काम गर्न नमान्दा अस्पतालको आकस्मिक कक्ष प्रभावित बनेको अस्पतालका निर्देशक डा. भूपेन्द्रकुमार बस्नेतले बताए । ‘नर्सहरू बिना डाक्टर एक्लैले काम गर्न सम्भव छैन, आन्दोलन अझै चर्कियो भने बिरामी मारमा पर्छन्,’ डा. बस्नेतले भने । स्वास्थ्य मन्त्रालयले यथाशीघ्र नर्सहरूका जायज माग पूरा गरी उनीहरू काममा फर्किने वातावरण बनाउनुपर्ने उनको भनाइ छ । वीर अस्पतालमा हाल चार सय नर्स कार्यरत छन् । सबै आन्दोलनमा उत्रिएका छन् ।


प्रसूतिगृहका नर्सहरूले भने अस्पताल सेवा प्रभावित नहुने गरी आन्दोलनमा सहभागी भइरहेको गृहले जनाएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा आन्दोलनको प्रभाव बढी छ । नर्सहरूले काम नगरिदिंदा डाक्टरहरूले पनि काम गर्न नमानेको अस्पताल प्रशासन प्रमुख गोविन्द प्रधानले बताए । ‘काम गर्दा पनि कालोपट्टी बाँधेका छन्, आन्दोलन चर्कियो भने अस्पताल अस्तव्यस्त हुन्छ,’ उनले भने ।


मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ भन्छ्न्, ‘कानुनअनुसार निष्कासन गरिएका नर्सलाई पुनर्बहाली गर्न मिल्दैन, आन्दोलनका कारण मृगौला डायलासिस गर्नुपरेका बिरामी मर्कामा परेमा छन् ।’ केन्द्रमा एक सय नर्स छन्, सबै आन्दोलनमा होमिएका छन् । नर्सहरूका अधिकांश मागहरू जायज भएको स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले बताएकी छन् । ‘भोलि नै उनीहरूलाई बोलाएर छलफल गर्छौं र जायज मागहरू पूरा गरिदिन्छौं,’ उनले भनिन् । आन्दोलन चर्काएर अस्पतालको सेवा अवरुद्र नपार्न सचिव चौधरीले अनुरोध गरेकी छन् ।

प्रकाशित : माघ २, २०७४ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?