२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

कांग्रेस बैठक भोलि

चुनावी परिणामबारे समीक्षा नहुने

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले चौतर्फी दबाबपछि पार्टीको केन्द्रीय कार्यसमिति बैठक माघ ४ गतेका लागि बोलाएका छन् । निर्वाचनमा पार्टी पराजयको समीक्षाका लागि तत्काल बैठक बोलाउन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पार्टीभित्रकै युवा नेताहरूले देउवालाई दबाब दिँदै आएका थिए । 

कांग्रेस बैठक भोलि

निर्वाचनपछि पहिलोपटक बैठक बोलाइएको हो । निर्वाचनको समीक्षाका लागि बैठक बोलाउन दबाब परे पनि सभापति देउवानिकट नेताहरूले माघ ४ को बैठकमा राष्ट्रिय सभा निर्वाचनसम्बन्धी एजेन्डामा मात्रै छलफल हुने बताएका छन् । ‘समीक्षा बैठक पछि छुट्टै बस्छ, ४ गतेको बैठकमा राष्ट्रिय सभा निर्वाचनका विषयमा मात्रै छलफल हुन्छ,’ देउवानिकट एक केन्द्रीय सदस्यले भने ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले माघ ४ को बैठक लामो समय नजाने संकेत गरे । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको समीक्षाको विषय पनि प्रवेश हुने उनले बताए । ‘राष्ट्रिय सभाको निर्वाचन मुखमै आएकाले पहिला त्यसैमा छलफल हुनु स्वाभाविक हो,’ उनले भने, ‘निर्वाचनको हारको समीक्षाका लागि एक दिनले पुग्दैन । हप्ता दिन बढी लाग्न सक्छ । पहिलो दिन शीर्ष नेताहरूले छलफल गरेर दोस्रो चरणमा बैठक बस्ने गरी टुंगिन पनि सक्छ ।’

राष्ट्रिय सभाका निर्वाचनका लागि उम्मेदवारको मापदण्ड र सम्भावित तालमेलका विषयमा पार्टी शीर्ष नेताहरूबीच मंगलबार पनि छलफल भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्रदेश र प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक उम्मेदवारसमेत रहेकालाई नल्याउने गरी मापदण्ड तय गर्नुपर्नेमा जोड दिएको स्रोतले बतायो ।

वरिष्ठ नेता पौडेलले विधानविपरीत गठन भएको पार्टीको संसदीय समिति विघटन हुनुपर्ने माग गरेपछि राष्ट्रिय सभाका उम्मेदवार चयन कुन निकायले गर्ने भन्नेमा समेत छलफल भएको स्रोतले बतायो । केन्द्रीय कार्यसमितिमा छलफल गर्ने र त्यही बैठकबाट ‘म्यान्डेट’ लिएर शीर्ष नेताहरूबाटै उम्मेदवार चयन टुुंग्याउन सकिने विकल्पमा छलफल भएको थियो । यहीबीच, कोइराला परिवारका तीन सदस्यले निर्वाचनमा पार्टी पराजय हुनुको कारण र नेतृत्वको विषयमा छुट्टै छलफल गरे । पार्टी नेत्री सुजाता कोइराला निवास मन्डिखाटारमा भएको ‘लन्च मिटिङ’ मा महामन्त्री शशांक र नेता शेखर सहभागी थिए ।

प्रकाशित : माघ ३, २०७४ ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?