कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

अस्थायी राजधानी माग गर्दै दाङमा प्रदर्शन

राजधानी माग गर्दै अनिश्चितकालिन आमहड्ताल 
दुर्गालाल केसी

दाङ — पाँच नम्बर प्रदेशको अस्थायी राजधानी दाङलाई घोषणा गर्नुपर्ने माग गर्दै बुधबार घोराहीमा प्रदर्शन भएको छ । प्रादेशिक राजधानी सरोकार समितिको आयोजनामा भएको प्रदर्शनमा उद्योगी, व्यवसायी, राजनीतिक दल र स्थानीय नागरिकको सहभागिता थियो ।

अस्थायी राजधानी माग गर्दै दाङमा प्रदर्शन

दाङ जिल्ला उद्योग बाणिज्य संघको कार्यालयबाट शुरु भएको र्‍याली बजार परिक्रमा गरी तुलसीपुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै कांग्रेस जिल्ला सचिव शंकर डाँगीले दाङ राजधानी बन्न योग्य भएकाले अन्यत्र विकल्प खोज्न नहुने बताए । माओवादी केन्द्रका जिल्ला सहईञ्चार्ज निर्मल आचार्यले दाङ राजधानी घोषणा नभएसम्म आन्दोलन नरोक्ने बताए । एमाले जिल्ला सदस्य विवेक श्रेष्ठले प्रदेशका सबै जिल्लालाई पायक पर्ने स्थान दाङ भएको धारणा व्यक्त गरे ।

कार्यक्रममा सरोकार समितिका संयोजक एवं दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसालले दाङमा राजधानीका लागि आबश्यक भवन, पूर्वाधार निर्माणको जग्गा र शान्ति सुरक्षाको सहजता भएकाले राजधानी घोषणा गर्नुपर्ने बताए । संघका पूर्व अध्यक्ष मधुसुदन बैद्य, सरोकार समितिका सदस्य सचिव सविन प्रियाशन र साहित्यकार लोकराज पराजुलीले पनि दाङ राजधानीका लागि उपयुक्त स्थान भएकाले सरकारले यसतर्फ ध्यान दिनुपर्ने धारणा व्यक्त गरेका थिए ।

अनिश्चितकालिन आमहड्तालका कारण जनजीवन कष्टकर भएको छ । यातायात, उद्योग, व्यवसाय, शैक्षिक संस्था सबै ठप्प छन् । जिल्ला सदरमुकाम घोराहीका साथै तुलसीपुर, लमही, गढवा, भालुबाङ लगाएतका मुख्य बजार बन्द छन् । सडकमा टायर बालेर अबरोध गरिएको छ । ठाउँठाउँमा प्रदर्शन भैरहेका छन् । पूर्व पश्चिम राजमार्ग पनि पूर्णरुपमा ठप्प भएको छ । यातयात सञ्चालन हुन नसक्दा लामो दूरीमा यात्रा गर्नेहरु सडकमै अलपत्र परेका छन् ।


प्रकाशित : माघ ३, २०७४ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?