कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा धर्ना

सुरक्षाकर्मी र आन्दोलनकारीबीच घम्साघम्सी

धनकुटा — प्रदेश नं.१ को राजधानी धनकुटा कायम गरिनु पर्ने माग राख्दै आन्दोलनरत धनकुटाबासीले बुधबार बिहान पुर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा धर्ना दिएका छन् । धर्ना दिन कार्यालय हातामा प्रवेश गर्न लाग्दा सुरक्षाकर्मीले रोकेपछि केहिबेर घम्साघम्सी समेत भएको छ ।

पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा धर्ना

आन्दोलनकारीले मुल गेटमा दर्जनौं संख्यामा रहेका सुरक्षाकर्मीको घेरा तोडेर कार्यालय हाताभित्र प्रवेश गर्दा त्यहाँको स्थिति तनाबग्रस्त बन्न पुग्यो । आन्दोलनकारी समूहले कार्यालयमा ढुंगा समेत प्रहार गरे पनि सुरक्षाकर्मीले संयममता अपनाएका थिए । अहिले पनि आन्दोलनकारीले कार्यालय घेराउ गर्दै नाराबाजी गरिरहेका छन् । क्षेत्रीय प्रशासक राजेश्वर सिंह विगत तीन सातादेखि कार्यालयमा नआएको भन्दै स्थानीयले प्रशासक विरुद्ध समेत नाराबाजी गरेका छन् । कार्यालय हाताभित्र दजनौं संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । घेराउको नेतृत्व प्रदेश नं. क का प्रदेशसभा सदस्य निरन राई र ख का सदस्य इन्द्रमणी पराजुलीले गरिरहेका छन् ।


विगत पाँच सातादेखि आन्दोलनमा उत्रिएका जिल्लाबासीले आज आम हड्ताल समेत आव्हान गरेका छन् । जसका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ । बिहानैदेखि कोशी राजमार्गको धरान धनकुटा सडक खण्डमा यातायात चलेका छैनन् । मुलघाट, भेडेटार, हिले, सिधुवा, लेगुवा लगायतका स्थानमा कयौं सवारी साधन रोकिँदा यात्रुहरु अलपत्र परेका छन् ।


बिहानैदेखि आन्दोलनरत प्रदर्शन जारी राखेका छन् । धनकुटा बजारको जिरो प्वाइन्ट, आत्मारा ढाट लगायतका स्थानमा सडकमा उत्रिएर यातायात अवरुद्ध पारिएको छ । धनकुटामा बिहानैदेखि बजार, पसल, शिक्षण संस्था, उद्योग, कलखाना बन्द रहेको छ । कोसी राजमार्गको धरान धनकुटा सडक खण्ड बन्द रहेपछि धनकुटा भएर भोजपुर, संखुवासभा, तेह्रथुम लगायत जिल्लामा सञ्चालन हुने यातायात समेत प्रभावित बनेको छ ।

सरकारले धनकुटालाई राजधानी तोक्न आनकान गरेको भन्दै विगत पाँच सातादेखि जिल्लामा दिनहुँजसो प्रदर्शन जारी रहेको छ । स्थानीयवासीले क्षेत्रीय प्रशासन कार्यालय घेराउ, धर्ना लगायतका कार्य गर्दै आइरहेका छन् । सरकारले आफ्नो माग सुनुवाई नगरेकाले आन्दोलनलाई शसक्त पारिएको आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए । पर्याप्त पुर्वाधार र राणाकालदेखि हालसम्म प्रशासनिक केन्द्रको रुपमा रहेको धनकुटालाई प्रदेश नं.१ को राजधानी घोषणा गरिनु पर्ने माग रहेको प्रदेश ‘ख’ का सांसद इन्द्रमणी पराजुलीले बताए ।


सवारी साधनमा तोडफोड

यसैबिच बन्द अवज्ञा गरेको भन्दै धनकुटाको आत्मारा ढाटमा आज बिहान बन्दकर्ताले एउटा मोटरसाइकल तोडफोड गरेका छन् । संखुवासभाबाट धरानतर्फ जादै गरेको को.२६ प ५६११ नंबरको पल्सर मोटरसाइकल तोडफोड गरिएको प्रहरीले जनाएको छ ।


बालुवाटारमा धर्ना

धनकुटालाई प्रादेशिक राजधानीको माग राख्दै आज बिहान साढे ८ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा पनि धर्ना दिईएको छ । यस अघि प्रधानमन्त्री लगायत विभिन्न राजनीतिक दलका प्रमुख समक्ष धनकुटालाई राजधानी कायम गर्न ज्ञापन पत्र दिइएपनि ध्यानाकर्षण नभएको जनाउँदै धर्ना दिईएको आन्दोलनमा सहभागी उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले बताए ।

प्रकाशित : माघ ३, २०७४ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?