३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

राजधानी माग्दै डोटी बन्द

मोहन शाही

डोटी — प्रदेश राजधानीको माग गर्दै डोटीमा पुन: बन्द आव्हान गरिएको छ । यस अघि १३ सम्म लगातार आमहड्तालमा उत्रेका स्थानीयले आन्दोलनको स्वरुप फेर्दै धर्ना र अनशन सुरु गरेका थिए । 

राजधानीको विषयमा आज मन्त्रीपरिषदले निर्णय गर्ने समाचार संञ्चारमाध्यममा सार्वजनिक भएपछि दबाब दिन पुन: जिल्ला ठप्प पारिएको संघर्ष समितिका संयोजक नरेन्द्र खड्काले बताएका छन् । त्यससंगै नागरिकता लगेर जिल्ला प्रशासनमा बुझाउने निर्णय समेत संघर्ष समितिले गरेको छ ।


डोटीको दिपायल, पिपल्ला, राजपुर, सिलगढी लगायतको बजार पूर्णरुपमा बन्द छ । यातायात, कार्यालय पनि ठप्प पार्दा जनजीवन कष्टकर बनेको छ । अन्यत्र राजधानी तोकीय ७ वटै जिल्ला प्रभावीत हुने गरी डोटीको बुडरमा यातायात ठप्प पारी अनिश्चीतकालिन हड्तालमा उत्रने उनीहरुको चेतावनी छ ।


राजधानी कायम नहुँदासम्म आन्दोलन जारी राख्ने उनीहरुले बताएका छन् । एक हप्तादेखि स्थानीय तेज डुम्रेल, डबल साउद र खगेन्द्रप्रसाद भट्ट अनशनमा बसेका थिए । क्षेत्रीय प्रशासन कार्यालयमा नागरिक समाज, ब्यवसायी, स्थानीय तहका जनप्रतिनिधी, संघसंस्थाका प्रतिनिधी लगायत धर्नामा बसेका थिए ।


पूर्वाधार, भौगोलिक केन्द्रबिन्दु र इतिहासका दृष्टीले डोटीमा राजधानी बनाउन उपयुक्त रहेको उनीहरुको तर्क छ । उच्च अदालत, सेना प्रहरीको क्षेत्रीय कार्यालय, सभा हल जस्ता संरचना डोटीमा रहेकाले तत्काल कामकाज चलाउन पनि प्रदेश सरकारलाई सहज हुने डोटी बहुमुखि क्याम्पसका प्राध्यापक अर्जुन देउबाले बताए ।


राष्ट्रिय सभाको निर्वाचन स्थान डोटीमा तोकिएको प्रति भने स्थानिय खुसी छन् । स्थानीयले उच्च अदालत रहेको जिल्लामा निर्वाचन गर्ने भनी गरिएको निर्णयलाई स्वागतयोग्य भनेका छन् ।


प्रकाशित : माघ ३, २०७४ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?