सुर्खेतमा खुसीयाली

प्रकाश अधिकारी

सुर्खेत — सरकारले सुर्खेतलाई प्रदेश ६ को अस्थायी राजधानी र सुर्खेतकै पुराना राजनितिज्ञ दुर्गाकेशर खनाललाई प्रदेश प्रमुख नियुक्त गरेपछि यहाँ खुशीयाली छाएको छ ।

लामो समयपछि बुधबारको मन्त्रिपरिषद्को बैठकले अस्थायी राजधानीसंगै सम्बन्धित प्रदेशको प्रमुख नियुक्त गरेको हो । प्रदेश प्रमुख नियुक्तिमा ढिलाई हुँदा निर्वाचन आयोगले प्रदेश सभा निर्वाचनको परिणाम सार्वजनिक गर्न सकेको थिएन ।


सुर्खेतबासीले सरकारको पछिल्लो निर्णयको स्वागत गरेका छन् । उद्योग वाणिज्य महासंघको प्रदेश कमिटी अध्यक्ष पदमबहादुर शाहीले सुर्खेतमै राजधानी घोषणा र सुर्खेतकै सम्मानित व्यक्तित्वलाई प्रदेश प्रमुखजस्तो उच्च पदमा नियुक्त गरिएकोमा खुसी व्यक्त गरे । ‘यो सुर्खेतबासीका निकै खुशीको कुरा हो’ उनले भने, ‘उतिबेला हामीले लडेर प्रदेश ल्यायौं । सरकारले बल्ल बैधानिकता दियो ।’


निकट भविष्यमै बस्ने प्रदेश सभाले पनि सर्वसम्मत रुपमा सुर्खेतलाई नै राजधानी कायम गर्ने उनले विश्वास गरे । सुर्खेतका पर्यटन व्यवसायी चिन्तामणी शर्माले सरकारको निर्णय स्वागतयोग्य रहेको बताए । प्रदेश राजधानीलाई अबका दिनमा पनि विवादित बनाउन नहुने उनको सुझाव छ । राजनीतिक दलका नेताहरु, नागरिक समाजका अगुवा, व्यवसायी, सर्वसाधारणहरुले प्रदेशको अस्थायी मुकामसंगै स्थानीय व्यक्तित्व प्रदेश प्रमुखमा नियुक्ति भएपछि हर्षित भएका छन् ।


संविधान निर्माण अघि प्रमुख चार दलका नेताहरु सम्मिलित विशेष समितिले ०७२ साउन २३ मा ६ प्रदेशको खाका सार्वजनिक गरेपछि यहाँ आन्दोलन सुरु भएको थियो । बेग्लै प्रदेशको माग राखी १३ दिनसम्म सञ्चालित आन्दोलनमा सुर्खेतका तीन जनाले ज्यान गुमाएका थिए । जतिबेला सुदुरका ९ तथा मध्यपश्चिमका १० जिल्ला ९रुकूम आधा० समेटेर एउटै प्रदेश प्रस्ताव गरिएको थियो । यसको विरोधमा सुरु भएको आन्दोलन उत्कर्ष पुग्न थालेपछि भदौ ४ गते प्रमुख राजनीतिक दलबीच प्रस्तावित ६ प्रदेशको सीमांकन पुरावलोकन गरी ७ प्रदेशको संघीय संरचना निर्माण गर्ने समझदारी भएको थियो । कर्णालीका हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालिकोट, भेरीका दैलेख, सुर्खेत र जाजरकोट, राप्तीका सल्यान र रुकुम ९पश्चिम भाग० समेटेर ६ नम्बर प्रदेश जन्मिएको हो ।


को हुन् दुर्गाकेशर खनाल ?

प्रदेश प्रमुखमा नियुक्त भएका खनाल कांग्रेसका पुराना नेता हुन् । उनी राष्ट्रिय सभा ९०४८–५२० सदस्य हुन् । सुदुरपश्चिमको डोटीमा जन्मेपनि सुर्खेतमै हुर्किए ।


उनले प्रारम्भिक शिक्षासमेत सुर्खेतबाटै लिए । वीरेन्द्रनगर नपा ७ निवासी ७१ वर्षीय खनाल गिरिजाप्रसाद कोइरालाको निधनपछि कांग्रेस राजनितिमा निष्क्रियजस्तै थिए ।


पञ्चायतकालमा उनले जिल्ला पार्टीको नेतृत्व गरेका थिए । वीरेन्द्रनगरस्थित घरमै रहेका खनालले प्रदेश प्रमुख नियुक्तिपछि आफूले नितान्त नौलो र ऐतिहासिक जिम्मेवारी पाएको बताए ।


‘यसका लागि प्रधानमन्त्रीजीलाई धन्यवाद छ । उहाँकै प्रस्तावमा मेरो नियुक्ति भएको हो’ उनले भने, ‘नौलो जिम्मेवारी पाएको छु । कानुनविपरीत जादिनँ ।’ उनी मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापनाका प्रमुख अभियन्तासमेत हुन् ।


प्रकाशित : माघ ३, २०७४ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?