कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

प्रदेश राजधानी धनगढीमा तोकिएपछि दिपायल तनावग्रस्त

मोहन शाही

डोटी — सरकारले प्रदेशको अस्थायी राजधानी धनगढी तोकेपछि दिपायल तनावग्रस्त बनेको छ । राजधानी माग्दै आन्दोलनमा उत्रेका स्थायीवासीले बुधबार दिपायलमा ढुंगामुढा गरेका छन् ।

प्रदेश राजधानी धनगढीमा तोकिएपछि दिपायल तनावग्रस्त

ठाउँ ठाउँमा टायर बाल्नुका साथै पिपल्ला बजारमा आक्रोशित हुँदै प्रदर्शन गरे । ढुंगामुढा राखेर सडक अवरुद्ध गरेसँगै आन्दोलनकारीले दिपायल इलाका प्रहरीको गाडीसमेत नियन्त्रणमा लिएका थिए ।


सरकारले गलत निर्णय गरेको भन्दै कांग्रेसका जिल्ला सचिव, क्षेत्रीय सभापति, नगर सभापतिलगायतले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएर आन्दोलनमा उत्रेका छन् । पार्टी सचिव नारायण जोशीले डोटेली जनभावनाविपरीत कांग्रेसकै सरकार भएका बेला अप्रीय निर्णय गरेकाले नैतिकरुपमा राजीनामा दिई आन्दोलनमा उत्रेको बताए ।


संघर्ष समितिका संयोजक नरेन्द्र खड्काले अनिश्चित आमहड्ताल भन्दै आन्दोलनलाई थप चर्काउने चेतावनी दिएका छन् । यसअघि १३ सम्म लगातार आमहड्तालमा उत्रेका स्थानीयले आन्दोलनको स्वरुप फेर्दै धर्ना र अनशन सुरु गरेका थिए ।


सरकारले अप्रीय निर्णय गरेको भन्दै पुन: जिल्ला ठप्प पारिएको संघर्ष समितिका संयोजक नरेन्द्र खड्काले बताए । त्यससँगै नागरिकता लगेर जिल्ला प्रशासनमा बुझाउने निर्णय समेत संघर्ष समितिले गरेको छ । डोटीको दिपायल, पिपल्ला, राजपुर, सिलगढीलगायतको बजार बन्द छ । यातायात, कार्यालय पनि ठप्प पार्दा जनजीवन कष्टकर बनेको छ ।


राजधानी कायम नहुँदासम्म आन्दोलन जारी राख्ने उनीहरुको भनाइ छ ।

प्रकाशित : माघ ३, २०७४ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?