कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नेपाल-भारतका अधिका‌ंश सीमा स्तम्भ जीर्ण

पवन यादव

रौतहट — नेपाल भारतको सिमाना छुट्याउन गाडिएको ७० प्रतिशत बढी सीमा स्तम्भ जिर्ण भई काम नलाग्ने अवस्थामा पुगेको छ ।

नेपाल-भारतका अधिका‌ंश सीमा स्तम्भ जीर्ण

सीमा स्तम्भको अवस्था अवलोन गर्न खटिएका दुबै देशका संयुक्त प्रविधिक टोलीले अनुगमन निरीक्षणको क्रममा यस्तो भेटाएको हो ।


दशगजालाई खेतमा परिणत गर्ने क्रममा स्थानीय किसानले फुटाएको, दशगजालाई सडकको रुपमा प्रयोग गरी सवारी कुदाउँदा विभिन्न स्थानमा ठोक्किएको कारणले स्तम्भहरु जीर्ण बनेको टोलीको ठम्याई छ ।


भेटाएको मध्ये ७० प्रतिशत बढी सीमा स्तम्भ जीर्ण भई काम नलाग्ने अवस्थामा पुगेको भारतीय सर्वेक्षण विभाग उत्तराखण्ड देहरादुनका सर्भेयर धनसिंह असवालले बताए ।


‘मझौला तथा साना (माईनर) सीमा स्तम्भ ड्यामेज भएका छन,’ उनले भने, ‘ति सीमा स्तम्भलाई फेर्नै पर्छ ।’ ड्यामेज भएको सिमा स्तम्भ फेरिने उनले बताए । ती स्थानमा ३ पाटे सिमा स्तम्भ गाडिने उनले जनाए ।


बेलाबेला आएको बाढीले गरेको कटानको कारण केही सीमा स्तम्भ हराएका छन् ।


नेपाल र भारत दुबै देशका किसानले दशगजा मिचेर खेतमा परिणत गरेको निरीक्षणको क्रममा टोलीले फेला परेको जनाएको छ ।


नेपाली पक्ष भन्दा बढी भारतीय पक्षबाट बढी अतिक्रमण भएको पाइएको नापी विभागका नासु (सर्भेयर) राहुल कुमार मिश्रले बताए ।


‘धेरै स्थानमा दशगजा खेतमा परिणत भएको छ,’ उनले भने, ‘धेरै स्थानमा दशगजामै बस्ती बसेको पाइयो ।’ थुप्रै स्थानमा दशगजमै सडक बनाइएको उनले बताए ।


२ दिनसम्म रौतहटमा चलेको सीमा स्तम्भ निरीक्षण तथा प्राविधिक जाँचको भारतीय सशस्त्र सीमा बल (एसएसबी) र नेपालको तर्फबाट सशस्त्र प्रहरी बलले संयुक्त गस्ती समेत गरेको थियो ।


भारतको सितामढी र पुर्वी चम्पारणसम्म जिल्लाको ब्रम्हपुरीदेखि बंकुलसम्म भारतीय सिमानासँग जोडिएको सिमाको लम्बाई (दुरी) ३२ किलोमिटर रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रेमराज पोखरेलले बताए ।


नेपाल र भारततर्फका सीमा सुरक्षा बलले सीमामा संयुक्त सुरक्षा गस्ती गर्ने, मासिकरुपमा सीमा स्तम्भको अवस्था अपडेट गर्ने कार्य नियमितरुपमा गर्ने गरिएको उनले बताए ।

उनका अनुसार रौतहट र भारतीय सीमा छुट्याउन सानाठूला गरी १ सय ६२स्तम्भ छन् । जसमध्ये ३ ठूला, २९ मझौला र १ सय १८ वटा साना स्तम्भ पर्दछन ।

नापी विभागको तथ्याङ्कअनुसार भारत र रौतहटको सीमामा गाडिएका स्तम्भमध्ये १७ वटा हराएको छ । जिल्लाको ब्रम्हपुरी र महादेवपट्टीको बीचमा पर्ने ३४४/७ नम्बर स्तम्भ हराएको अधिकारीले बताए ।


ब्रम्हपुरीस्थित बागमती नदी, महादेवपट्टीस्थित लालबैया नदीमा समेत पिलर हराएको अधिकारीले बताए ।


प्राविधिक जाँचपछि सीमा स्तम्भको अवस्था झल्किने गरी प्रतिवेदन तयार पारी सम्बन्धित निकायमा पेस गरिने सर्भेयर टोलीले जनाएको छ ।

नेपाल–भारतको सीमा क्षेत्रमा रहेका सिमास्तम्भहरुको अवस्थाबारे दुवै देशका प्राविधिक टोली मंंगलबार देखि संयुक्तरुपमा रौतहटको पूर्वी सीमादेखि निरीक्षण अध्ययन सुरु गरेका थिए ।


सेप्टेम्बर १३–१५ तारेखमा भारतको देहरादुनमा सम्पन्न भएको सर्भे आफिसियलस कमिटी (एसओसि) को सातौ बैठकमा तय गरेको कार्यक्रम अनुसार सन् २०१७/२०१८ को नेपाल भारत सीमा सम्बन्धि संयुक्त फिल्ड कार्यका लागि दुबै देशका सर्वेयर सम्मिलित ४/४ वटा संयुक्त टोली भारतीय सिमासँग जोडिएका नेपालका २६ जिल्लामा गत मंसिर ४ गते खटिएका छन् ।


यसअघि सन् २००६ मा सीमा स्तम्भ अनुगमन निरीक्षण संयुक्तरुपमा भएको थियो । लामो समयको अन्तरालपछि सीमा स्तम्भ निरीक्षण गरिएको हो । भारत र नेपालको सीमा छुट्याइएको दशगजामा कूल ९ सय २७ वटा ठूला अर्थात जंगे पिलर छ ।


प्रकाशित : माघ ३, २०७४ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?