२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

फुक्यो गाँठो - संसद्, सरकार र राष्ट्रिय सभा तीनवटैलाई बाटो खुला

दुर्गा खनाल

काठमाडौँ — सरकारले प्रदेश प्रमुखको नाम सिफारिस गरेलगत्तै बुधबार साँझ निर्वाचन आयोगले पनि प्रदेशसभा समानुपातिकमा विजयी सांसदको नाम घोषणा गरेकाले प्रदेशसभा, प्रदेश सरकार गठन र राष्ट्रिय सभा निर्वाचनको गाँठो फुकेको छ ।

फुक्यो गाँठो - संसद्, सरकार र राष्ट्रिय सभा तीनवटैलाई बाटो खुला

प्रदेशसभा समानुपातिकका लागि दलहरूले बन्द सूचीमा पेस गरेका उम्मेदवारलाई आयोगले निर्वाचित भएको घोषणा गरेको हो । प्रदेश प्रमुख नतोकिएकै कारण लामो समयदेखि आयोगले घोषणा गर्न नसकी रोकेर राखेको थियो । प्रदेशसभा समानुपातिकमा सातवटै प्रदेशमा गरी २ सय २० सांसद निर्वाचित भएका छन् ।

निर्वाचन परिणाम घोषणाको सात दिनभित्र प्रदेश प्रमुखलाई परिणाम बुझाउनुपर्ने संवैधानिक बाध्यता छ । तर प्रदेश प्रमुखको टुंगो नलागेकाले प्राविधिक काम सके पनि आयोगले परिणाम घोषणा गर्न पाएको थिएन । आयोग प्रवक्ता नवराज ढकालका अनुसार प्रदेशसभामा समानुपातिकतर्फबाट निर्वाचितको नाम प्रदेश प्रमुखसमक्ष पठाउने, प्रमाणपत्र दिने र सम्बन्धित दललाई जानकारी गराएर आयोगले नामावली राजपत्रमा प्रकाशित गराउनेछ । निर्वाचित सांसदलाई शुक्रबार आयोग कार्यालयमा प्रमाणपत्र दिने कार्यक्रम छ ।


प्रदेश प्रमुखले शपथ लिएलगत्तै आयोगले निर्वाचितको नामावली बुझाउने तयारी गरेको छ । सरकारबाट सिफारिस भएकालाई राष्ट्रपतिले नियुक्ति गरी शपथ गराउनुपर्ने प्रावधान छ । नियुक्ति र शपथ दुई दिनभित्र गर्ने तयारी छ । आउँदो ७ गते राष्ट्रिय सभाका मतदाताको सूची प्रकाशित गर्नुपर्नेछ । त्यो सूची प्रकाशित गर्ने मितिअगावै निर्वाचन परिणाम प्रदेश प्रमुखलाई बुझाउने वातावरण मिलाउन आयोगले अनुरोध गरेको छ । राष्ट्रिय सभाको निर्वाचनका लागि प्रदेश सांसदहरू पनि मतदाता हुन्छन् । आयोगको कार्यतालिकाअनुसार माघ १० गते राष्ट्रिय सभाको उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ । चुनाव २४ गते हुनेछ ।

अब कहिले के हुन्छ ?

प्रदेशसभा सांसदको नामावली ७ दिनभित्र

राष्ट्रिय सभा निर्वाचन २० दिनभित्र

प्रदेशसभा पहिलो अधिवेशन २० दिनभित्र

मुख्यमन्त्री र प्रदेश सरकार ३० दिनभित्र

सभामुख र उपसभामुख अधिवेशनको १५ दिनभित्र

मुख्यमन्त्रीले विश्वासको मत लिने नियुक्तिको ३० दिनभित्र


प्रदेश प्रमुख नियुक्ति नहुँदा राष्ट्रिय सभा निर्वाचन नै प्रभावित हुने भन्दै आयोगले छिटो नियुक्ति गर्न दबाब दिँदै आएको थियो । सरकारले सिफारिस गरेका प्रदेश प्रमुखलाई अब राष्ट्रपतिले नियुक्त गर्नेछिन् । त्यसपछि प्रदेश प्रमुखले शपथ ग्रहण गरी आफूलाई तोकेको स्थानबाट कार्यारम्भ गर्नेछन् । प्रदेश प्रमुखले शपथ लिएपछि आयोगले उनीहरूलाई प्रदेशसभा निर्वाचन परिणाम हस्तान्तरण गर्नेछ । त्यसपछि मात्र प्रदेशसभा औपचारिक रूपमा गठन हुनेछ ।


अबको २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्नुपर्नेछ । संविधानको धारा १८३ मा निर्वाचन परिणाम घोषणा मितिले २० दिनभित्र प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन आहवान गर्नुपर्ने व्यवस्था छ । अबको ३० दिनभित्र प्रदेश सरकार गठन गर्नुपर्नेछ । निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र प्रदेश प्रमुखले प्रदेशसभामा बहुमत प्राप्त दलको नेता वा दुई वा दुईभन्दा बढी दलको बहुमत समर्थन प्राप्त गर्ने व्यक्तिलाई मुख्यमन्त्री नियुक्ति गर्नुपर्नेछ ।


संविधानमा प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्ति गर्ने र उसको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद् गठन हुने उल्लेख छ । कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गर्नुपर्नेछ । प्रदेश प्रमुखबाट नियुक्ति भएको मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ ।


यदि प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र माथिल्लो प्रावधानअनुसार मुख्यमन्त्री नियुक्त हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त नगरेमा अर्को कुनै व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गरिनेछ ।


प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीले प्रदेश प्रमुखसमक्ष शपथ लिनुपर्नेछ । संविधानअनुसार प्रदेशसभाको पहिलो बैठक सुरु भएको मितिले १५ दिनभित्र प्रदेश सभामुख र उपसभामुखको निर्वाचन हुनेछ । सभामुख र उपसभामुखमध्ये एक महिला हुनुपर्ने र फरक–फरक दलको हुने गरी प्रतिनिधित्व गराउनुपर्नेछ । प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनपछिको पहिलो अधिवेशनको बैठक सम्बोधन गर्नुपर्ने प्रावधान छ ।

प्रकाशित : माघ ४, २०७४ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?