धनकुटा तनावग्रस्त, निषेधाज्ञा जारी (भिडियोसहित)

क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी

धनकुटा — धनकुटामा जारी प्रदर्शन हिंसात्मक बन्दै गएपछि बिहीबार दिउँसोदेखि लागु हुने गरी प्रशासनद्वारा अनिश्चितकालिन निशेधाज्ञा जारी गरेको छ । 

धनकुटा तनावग्रस्त, निषेधाज्ञा जारी (भिडियोसहित)

प्रशासनले पूर्वमा बिहीबारे हाट, पश्चिममा लोकसेवा, उत्तरमा स्कुलडॉडा र दक्षिणमा जिरो प्वाइन्ट क्षेत्रभित्र निशेधाज्ञा जारी गरेको प्रशासनले जनाएको छ । निषेधित क्षेत्र घोषणा भएपछि सडकमा समूहमा हिँड्डुल गर्न नपाइने सूचना जारी भएपनि प्रदर्शनकारीले उल्लंघन गर्दै प्रदर्शन जारी राखेका छन् ।


सरकारले प्रादेशिक अस्थायी मुकाम अन्यत्र तोकेको विरोधमा आक्रोशित धनकुटावासी बिहानैदेखि आन्दोलनमा उत्रिएका थिए । जिल्लालाई प्रदेश नं.१ को राजधानी घोषणा गर्नुपर्ने माग राख्दै पाँच सातादेखि आन्दोलनमा उत्रिएका स्थानीय विराटनगर अस्थायी मुकाम तोकेपछि अझ आक्रोशित बनेका छन् ।


निशानामा सरकारी कार्यालय

यसैबिच सयौंको संख्यामा रहेका प्रदर्शनकारीले सरकारी कार्यालयलाई निशाना बनाउन थालेपछि स्थिति हिंसात्मक बनेको थियो । पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी गरिएको छ । उपप्रशासक सेवन्तराज दाहाल कार्यालयको माथिल्लो तलामा रहेको निवासमा रहेका बखत आगजनी गरिएको हो । दाहाललाई स्थानीयवासीको मद्धतमा उद्धार गरिएको थियो ।


कार्यालयमा आगजनी भएको बखत सुरक्षाकर्मी थिएनन् । आगजनीबाट कार्यालयको कम्प्युटर शाखामा क्षति पुगेको छ । करिब २० मीनेट पछि मात्र सशस्त्र प्रहरीले आगो नियन्त्रणमा लिएको थियो ।


यस्तै प्रदर्शनकारीले उच्च अदालत विराटनगरको धनकुटा इजलाशमा पनि क्षति पुर्‍याएका छन् । अदालतको साइनबोर्ड झिकेर फालिएको छ भने कार्यालयका सिसा फुटाइएका छन् । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमा पनि आगजनी प्रयास गरिएको छ । कार्यालयभित्र राखिएको सरकारी नंबर प्लेटको को.१ ब १०६४ नंबरको मोटरसाइकलमा आगजनी भएको छ ।


हातमा कालो झन्डा लिएका प्रदर्शनकारीले लगातार सरकारी कार्यालयमा आक्रमण गर्न थालेपछि सयौको संख्यामा थप सुरक्षा बल परिचालन गरिएको प्रशासनले जनाएको छ ।


झडपमा ७ घाइते

सुरक्षाकर्मी र प्रदर्शनकारीबिच धनकुटा बजारस्थित भीमनारायण चोक तथा मदन चोकमा कयौंं पटक झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । बिहान मदनचोकमा जिल्ला प्रहरी प्रमुख सुदिप राजभण्डारीले प्रदर्शनकारीलाई आफै नियन्त्रण लिन थालेपछि उनी चढेको गाडी तोडफोड गरिएको थियो । उनी चढेको ना.१ ख १३१४ नंबरको गाडी प्रदर्शनकारीले तोडफोडबाट क्षति पुगेको छ ।


प्रहरीको लाठी चार्जबाट नेपाली कांग्रेस जिल्ला कोषाध्यक्ष दिनेश राई गम्भीर घाइते भएका छन् । उनको टाउकोमा गहिरो चोट लागेको छ । यसैगरी आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठ समेत घाइते भएका छन् । उनलाई प्रहरीले भीमनारायण चोकमा नियन्त्रणमा लिएपछि लाठी प्रहार गर्दा घाइते भएका हुन् ।


रेडक्रसको उद्धार टोलीले एम्बुलेन्सबाट अस्पताल ल्याउँदै गरेका श्रेष्ठलाई प्रहरीले बाटोमा रोकेर आतंककारी भन्दै पुन: यातना दिएको थियो । रेडक्रस सभापति नरेन्द्र पोखरेलसहितको टोलीले प्रहरीबाट उद्धार गरेको छ ।


यसैगरी अन्य घाइतेमा उत्तम खड्गी, जयन्द्र प्रधान, अजित पाख्रिन, अतित विक, एम्बुलेन्स चालक रन्जित गिरी समेत घाइते छन् । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यसैगरी मोरङको केराबारीबाट भोजपुरतर्फ विरामी लिन जॉदै गरेको को २ च ४३२ नं.को एम्बुलेन्स तोडफोड गरिएको छ । चालक रन्जित गिरी समेत सामान्य घाइते भएका छन् । प्रदर्शनकारीले धनकुटा नगरपालिकाको वारुणयन्त्रमा पनि तोडफोड गरेका छन् ।


प्रकाशित : माघ ४, २०७४ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?