१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पूर्वमा सहरीकरण तीव्र 

विराटनगर — पूर्व–पश्चिम राजमार्ग बन्नुअघि इटहरीको अस्तित्व सामान्य बस्तीका रूपमा थियो । राणाकालमा सतन चौधरीले गैसार भन्ने ठाउँमा जंगल फाँडी यहाँ बसोबास सुरु गरे । अहिलेको इटहरी चोकभन्दा एक किलोमिटर दक्षिणमा रहेको गैसारबाट उत्तरमा ढेडु टोलसम्म फैलिएको बस्तीले आधुनिक रूप धारण गर्न राजमार्ग नै बन्नुपर्‍यो ।

पूर्वमा सहरीकरण तीव्र 

त्यसअघि पूर्वबाट राजधानी जान विकट पहाडी बाटाहरूको प्रयोग हुन्थ्यो । महिनौं हिँडेर राजधानी पुग्नुपथ्र्यो । गाडी चढ्नुपरे भारतको बाटो हुँदै रक्सौलसम्म पुगिन्थ्यो र वीरगन्ज नाकाबाट राजधानी जानुपथ्र्यो । रााजमार्ग निर्माणसँगै यो सवारी चालकहरू बस्ने ‘जक्सन’ बन्यो । बिस्तारै आवागमनको केन्द्र पनि । त्यसपछि यसले रूपै फेर्‍यो । जोगबनीदेखि पहाड उक्लिने बाटाले यहीँनेर पूर्व–पश्चिम राजमार्गलाई छेड्यो । अनि, इटहरी पूर्वकै व्यस्त सहर बन्यो । गाउँबाट उठेर २०५३ मा नगरपालिका घोषित इटहरी २०७१ मंसिरमा उपमहानगरपालिका बन्यो । सुखद संयोग प्रदेश १ का दुई उपमहानगरपालिका सुनसरीमै ‘जुम्ल्याहा’ रूपमा छन्– इटहरी र धरान । यी दुवैले यो प्रदेशको वैभवलाई प्रतिनिधित्व गर्छन् । बितेको दशकमा इटहरी मात्र होइन, यसको पश्चिमको पकली, उत्तरको हाँसपोसा र दक्षिणको खनारसमेत सहरीकरणमा समेटिएका छन् । र, इटहरी–धरानको खाली–सीमा मेटिँदै गएको छ ।

उदाहरण इटहरीको भए पनि मुहार यो सिंगो पूर्वी नेपालको हो । केही वर्षयता यहाँ सहरीकरणको गति तीव्र छ । विक्रम संवत् १९७० सम्म दमक दलदल क्षेत्र थियो । झापाको पुरानो बजार गौरीगन्ज र मोरङको मधुमल्ला आउजाउ गर्दा त्यही दलदल बाटो हिंड्नुपथ्र्यो । त्यही भएर आदिवासी धिमाल समुदायले यसलाई ‘दालदालीको दामा’ भन्ने गर्थे । त्यही शब्द अपभ्रंश हुँदै दमक नामकरण हुन पुगेको दमक नगरपालिकाका पूर्वउपप्रमुख मोहन धिमालले बताए ।

त्यसपछि बिस्तारै नजिकैको रतुवा बगरमा बुधबार बजार लाग्न सुरु भएको थियो । अनि, बजारीकरणतर्फ लाग्यो । २०३९ मा नगरपालिका बनेको दमक तीव्र विकाससाथ अघि बढिरहेको छ । दमकमा विश्वकै अग्लो बुद्ध मूर्ति, क्लिन इन्डस्ट्रियल पार्क, भ्यु टावर निर्माण गर्ने ठूला योजना प्रस्ताव गरिएका छन् । निर्माणाधीन अन्य योजनामा फाल्गुनन्द सभागृह, नमुना बजार, फोहोरमैला प्रशोधन केन्द्र, चक्रपथलगायत छन् । सरकारले विराटनगरलाई प्रदेश १ को राजधानी घोषणा गरेको छ । यसको विकासको गति र फैलावट पनि गतिशील छ । २२ किलोमिटर पूर्वमा रहेको रंगेलीबाट विक्रम संवत् १९७१ मा मोरङको सदरमुकाम यहाँ सारिएको हो । २००८ मा नगरपालिका घोषित विराटनगर ११ वर्षअघि उपमहानगरपालिका बन्यो । यही वर्ष महानगरपालिका बनिसकेको छ ।

भवन तथा सहरी विकास डिभिजन कार्यालय विराटनगरका डिभिजनल इन्जिनियर श्यामकिशोर सिंहका अनु्सार सार्क क्षेत्रमै सहरीकरणको गति नेपालको बढी छ ।

‘नेपालभित्र पनि सातवटा प्रदेशमध्ये १ नम्बरमा तीव्र गतिमा सहरीकरण भइरहेको छ,’ उनले भने, ‘यसको कारण हो बसाइँसराइ । पूर्वाधार र सुविधा भएका क्षेत्रमा बसाइँ सर्ने क्रम बढेको छ । यसले सहरीकरणमा दबाब पुगेको छ । आर्थिक गतिविधि सहरमै बढी छ । सुविधा बढी भएकाले सहरले गाउँका मान्छेलाई तानिरहेको छ, गाउँले सहरतिर ठेलिरहेको छ ।’

नगरमा गुरुयोजना बनाएर बस्ती विकास, बाटो सञ्जाल, विद्यालय, डम्पिङ साइटजस्ता कुरामा ध्यान दिनु जरुरी रहेको उनले औंल्याए । ‘धेरै गाउँ हुँदा पहिला सानो जनसंख्या थियो, सानै शक्ति थियो । अब एकीकृत हुँदा ठूलो जनसंख्या भएको छ र यसले ठूलै शक्ति निर्माण गरेको छ । यसलाई विकासमा लगाउनुपर्छ,’ उनले थपे । सिंहका अनुसार राजमार्ग आसपास क्षेत्रमा बढी सहरीकरण भइरहेको छ । यसले गर्दा आर्थिक गतिविधि पनि वृद्धि भइरहेको छ ।

त्यति मात्र होइन, विराटनगर देशकै ठूलो महानगरको अवस्थिति बोकेको सहर हो । पूर्वतिर रंगेली, उत्तरतिर धरानसम्म गाभेर यसलाई ‘बृहत्तर विराटनगर महानगर’ बनाउन सकिने योजनाविदहरू बताउँछन् । बीचतिर इटहरी, इनरुवालगायत सहर यसमा जोडिनेछन् । डिभिजनल इन्जिनियर श्यामकिशोर सिंहले पनि सहरी विकासलाई उच्चस्तरमा लैजान यो अवधारणा उचित हुने बताए ।

योजना आयोगमा सहरी विकाससम्बन्धी जिम्मेवारी बहन गर्ने सदस्य डा. सुनीलबाबु श्रेष्ठ भन्छन्, ‘सिंगै देशमा सहरीकरणको गति तीव्र छ, त्यसभन्दा तीव्र १ नम्बर प्रदेशमा छ ।’

राज्यको पुन:संरचनाका क्रममा स्थानीय तह शक्तिशाली भएका छन् । साबिक गाविस/नगरपालिका गाभेर ठूला आकारका गाउँपालिका/नगरपालिका बनाइएका छन् । तिनलाई अधिकारसम्पन्न बनाइएका छन् । स्रोतको उत्पादनदेखि परिचालनसम्मका स्वायत्तता दिइएका छन् । यसले पनि सहरीकरणमा बल पुग्ने विज्ञहरूको अपेक्षा छ । सरकारले सहरीकरणका लागि केही नयाँ योजनासमेत अघि सारेको छ । त्यसमध्ये एउटा हो ‘एक सहर एक पहिचान ।’ श्रेष्ठका अनुसार यसका लागि १ नम्बर प्रदेशका विभिन्न सहरले ‘पहिचान’ का प्रस्तावहरू हालिरहेका छन् । ‘धनकुटाले खाद्यहरियाली नगरका रूपमा पहिचान चाहेको छ,’ उनले भने, ‘यो यस्तो योजना हो, जसमा कृषिमा आत्मनिर्भरतासहित हरियालीलाई प्राथमिकता दिइन्छ । जस्तो– घरमा फलफूलको बगैंचा लगाउने । यसले हरियालीसँगै आम्दानी पनि हुन्छ ।’ दमक, इलामलगायत सहरले पनि ‘पहिचान’ का परियोजना बनाइरहेको उनले जानकारी गराए । त्यस्तै, सरकारको अर्को योजना हो– ‘स्मार्ट भिलेज ।’ त्यसका लागि पनि ठाउँ छनोट भइरहेको उनले जानकारी दिए । उनका अनुसार यस वर्ष ३ वटा खाद्यहरियाली सहर र ७५ वटा ‘स्मार्ट भिलेज’ बनाउने तयारी छ ।

नेपालमा यति धेरै नगर घोषणा गरिएका छन् कि हामी नगरवासीका रूपमा दक्षिण एसियामा एक नम्बरमा छौं । देशभर नगरवासी ५८.४ प्रतिशत पुगेका छन् । तर, कतिपय नगरपालिकामा पूर्वाधार कमजोर छन् । ‘तिनलाई विकासपथमा तीव्र गतिमा अघि लैजानु जरुरी छ, चुनौती पनि उत्तिकै छ,’ श्रेष्ठले भने, ‘त्यसका लागि योजना आयोगले एकीकृत सहरी विकास योजना ल्याउन हरेक स्थानीय तहलाई भनेको छ ।

त्यसपछि सडक, ढल, बिजुली, टेलिफोनजस्ता काम एकीकृत ढंगले हुनेछन् । एउटा विकास गर्दा अर्को अवरुद्ध हुने वा भत्किने क्रम सकिनेछ ।’ प्रदेश १ मा एउटा महानगरपालिका, २ उपमहानगरपालिका, ४६ नगरपालिका र ८८ गाउँपालिका छन् ।

पहाड पनि लम्किँदै

तराईका मात्र होइन, प्रदेश १ का पहाडी सहर पनि तीव्र गतिमा अघि बढिरहेका छन् । इलाम २०१५ मै नगरपालिका बने पनि पूर्वाधार र विकासमा पछाडि थियो । कृषि र पर्यटनका बलमा यसले विकासको अग्रता समाएको छ । यहाँ विमानस्थल, जैविक विविधतायुक्त पर्यटकीय स्थल, सभागृह निर्माण तीव्रतर गतिमा भइरहेको छ ।

विकासको गति समाएको अर्को सहर हो– धनकुटा । राणाशासनकालमा धनकुटा बडाहाकिम कार्यालय थियो । यसैले तराईका केही भाग र इलामसम्मको प्रशासन हेथ्र्यो । विसं १९४२ पछि धनकुटा पूर्वका ३ अड्डाका अपिल सुन्ने केन्द्र बन्यो । पञ्चायतकालमा पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम अर्थात् १६ जिल्लाको प्रशासनिक केन्द्र बन्यो । २०४६ को परिवर्तनपछि विकास क्षेत्रको अवधारणालाई कम महत्त्व दिएका कारण प्रशासनिक रूपमा यसको प्रभाव घट्न थाल्यो ।

नेपालको एकीकरण भएबाटै धनकुटा बनेर यहाँबाट प्रशासनिक, सामरिक र न्यायिक काम सुरु भएको इतिहासकार डा. गोपालबहादुर भट्टराईले जानकारी दिए । त्यहाँबाट यहाँ आइपुग्दा पछिल्लो छोटो समयमा यसले भौतिक विकासमा राम्रै फडको मारेको छ ।

चुनौती उत्तिकै

तीव्र सहरीकरणसँगै केही चुनौती पनि छन् । कतिपय सहर नयाँ निर्माण भएका छन् भने कतिपय पुरानै विस्तार भएका हुन् । नयाँमा भन्दा पुरानामा पूर्वाधार निर्माणमा कठिनाइ बढी छ । योजनाबद्ध विकास नहुनु, व्यापारिक र आवासको परिकल्पना नगरिनु, सडक, खानेपानी, सरसफाइलगायतको प्रबन्ध नगरिनु, सानै सहर बन्नासाथ प्रदूषण र ट्राफिक जामको समस्यामा फस्नु साझा विशेषता देखिएका छन् । ‘यस्ता चुनौती चिर्ने गरी योजनाबद्ध र एकीकृत विकासमा जाने हो भने सहरीकरण छिट्टै सम्भव छ,’ प्रदेश १ को उदारहण दिँदै योजना आयोगका सदस्य श्रेष्ठले भने, ‘समृद्धि पनि त्यसमै छ । खोज्न अन्यत्र जानै पर्दैन ।’

(सम्बन्धित जिल्लाका कान्तिपुर संवाददाताको सहयोगमा)


प्रदेश १ मा चम्किइरहेका केही सहर

  • मोरङ– विराटनगर, रंगेली, उर्लाबारी, बेलबारी, विराटचोक, सलकपुर, लेटाङ, कटहरी, डायनियाँ, नयाँ बजार, कर्सिया, मिक्लाजुङ, पथरी, शनिश्चरे, झोराहाट
  • सुनसरी– धरान, इटहरी, झुम्का, तरहरा, इनरुवा, चतरा, भरौल, दुहबी
  • झापा– दमक, बिर्तामोड, काँकडभिट्टा, भद्रपुर, सुरुङ्गा, धुलाबारी, झिलझिले, गौरादह, गौरीगन्ज, चन्द्रगढी, चारआली, बुधबारे, शनिश्चरे
  • धनकुटा– धनकुटा बजार, हिले, जितपुर, पाख्रिबास, लेगुवा, जोरपाटी, सिँधुवा, तित्रे, भेडेटार, डाँडाबजार, राजारानी, मौनाबुधुक, शुक्रबारे
  • तेह्रथुम– वसन्तपुर, म्याङलुङ, जिरीखिम्ती, मोराहाङ, पोक्लाबाङ, संक्रान्ती, चुहानडाँडा, लसुने, शुक्रबारे
  • संखुवासभा– खाँदबारी, चैनपुर, तुम्लिङटार, मुढेशनिश्चरे, किमाथांका, हटियागोला, बाना बजार, बाह्रबिसे, ताम्कु
  • ताप्लेजुङ– फुङलिङ, दोभान, खाम्दिङ्गे, सिवा
  • पाँचथर– फिदिम, यासोक, रवि, दुरदिम्बा, जोरपोखरी, थर्पु, पञ्चमी, अमरपुर, भालुचोक, काबेली, च्याङ्थापु, फलैंचा, ओयाम, मावा, आङना, चिसापानी, राँके, पौवाभन्ज्याङ, नवमीडाँडा
  • इलाम– सदरमुकाम इलाम बजार, फिक्कल, मंगलबारे, देउराली, शुक्रबारे, माङसेबुङ, पशुपतिनगर, सप्तमी, कुटिडाँडा, जौबारी, आइतबारे
  • उदयपुर– गाईघाट, बेलटार, कटारी, रामपुर, मुर्कुची
  • ओखलढुंगा– रुम्जाटार, मानेभन्ज्याङ, रामपुर, खानीभन्ज्याङ, खिदी फलाँटे, घोराखोसी, ओखलढुंगा
  • भोजपुर– भोजपुर, दिङला, घोडेटार, तिवारीभन्ज्याङ, प्याउली, बालङखा, टक्सार
  • खोटाङ– दिक्तेल, खोटाङ बजार, ऐंसेलुखर्क, फाक्सिला, बुइपा, मानेभन्ज्याङ, चिसापानी, सिमपानी
  • सोलुखुम्बु– नाम्चे, सल्लेरी, लुक्ला, नेचा, पत्ताले


प्रकाशित : माघ ५, २०७४ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?