२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

एलडिओकै मिलोमतोमा मनोमानीमा अवैध बालुवा उत्खनन

सुदीप कैनी

गोरखा — स्थानिय विकास अधिकारी नारायण आचार्यको मिलेमतोमा सहिद लखन गाउँपालिका–३ स्थित कन्टार बगरमा नियम विपरित बालुवा उत्खनन भईरहेको छ । 

एलडिओकै मिलोमतोमा मनोमानीमा अवैध बालुवा उत्खनन

वडा अध्यक्षको सिफारिसमा मापदण्ड नै पुरा नगरी आचार्यले बालुवा झिक्ने अनुमति दिएका हुन् । एमालेबाट सहिद लखन गाउँपालिकाका प्रमुखको उम्मेदवार बनेका मनोज जोशीको दबावमा उनले नियम विपरित अनुमति दिएको जिल्ला समन्वय समिति स्रोतले जनाएको छ ।


उत्खननको अनुमति पाउने डि.एस.एन. कन्ट्रक्सनका स्थानीय आशिष पोखरेल र दिपेश गुरुङ पनि एमाले कार्यकर्ता हुन् । एमालेबाट वडा अध्यक्षमा विजयी गणेश थापाले जिल्ला समन्वय समितिलाई उत्खनन गर्न अनुमतिका लागि सिफारिस दिएका थिए । सोहि सिफारिसको आधारमा एलडिओ आचार्यले अनुमति दिएका हुन् ।


‘एमाले नेताहरुले प्रदेश कार्यालयमा सरुवा गरेर लैजाने प्रलोभन देखाएपछि अनुमति दिएको बुझिएको छ,’ समन्वय समितिका एक कर्मचारीले भने, ‘पैसा लिएर यस्ता काम भएको हुन पनि सक्छ ।’


नदीजन्य पदार्थ उत्खनन गर्न कम्तिमा प्रारम्भिक बातावरण प्रभाव मूल्याङ्कन गर्नुपर्ने हुन्छ । ठेक्का नै नगरी आचार्यले मनोमानी रुपमा अनुमति दिएको कुनै पनि ठाउँमा प्रभाव मूल्याङ्कन भएको छैन । स्थानीयवासीले अवरोध गर्दा पनि बालुवा झिक्न अनुमति पाएकाहरुले युवाहरुको बलमा उत्खनन जारी राखेका छन् ।


‘स्काभेटर लगाएर, दिनरात बालुवा झिकेर बेचिएको छ,’ स्थानिय एक महिलाले भनिन, ‘हामी हेरेको हेर्‍यै भयौं, बोल्न सक्ने अवस्था छैन ।’


जिल्लास्थित ढुङ्गा, गिटी, बालुवा उत्खनन अनुगमन समितिमा समेत छलफल नै नगरी आचार्यले अनुमति दिएको खुलेको हो । ‘वडा अध्यक्षकै सफारिशमा स्थानिय विकास अधिकारीले बालुवा झिक्ने अनुमति दिन मिल्दैन,’ अनुगमनमा गएका नगर प्रमुख राजनराज पन्तले भने ।

आचार्यले मापदण्ड मिचेरै सहिदलखन गाउँपालिका–४ मा समेत बालुवा झिक्ने अनुमति दिएका छन् । पन्तले भने, ‘वडा अध्यक्षकै सिफारिशको आधारमा अनुमति पाउने भए, जसले जताजता दिएपनि हुन्छ ।’ एलडिओले जनप्रतिनिधि र नेता रिझाउन जथाभावी अनुमति दिने गरेको कर्मचारीहरुले बताए ।


प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले समेत बालुवा झिक्न अनुमति दिएको बारे अनविज्ञता प्रकट गरे । ‘केहि छलफल पनि भएको छैन, कसरी अनुमति दिईएको रहिछ, बुझने क्रममा छु,’ उनले भने । चालु आर्थिक वर्षमा जिल्ला भित्र एक करोड ४७ लाख ३० हजार ७५ रुपिँया राजश्व संकलन हुने गरी नदीजन्य पदार्थ संकलनका लागि १७ वटा ठेक्का स्वीकृत भएर सम्झौता भएको छ ।


यी बाहेक स्थानीय विकास अधिकारीले ठेक्का बिनै स्व:शइच्छाले व्यक्ति/व्यक्तिलाई अनुमति दिन थालेका हुन् । मस्र्याङदी नदिको कन्टारतालमा २१५ घनमिटर र ठेउवाटार बगरमा ३७५ घनमिटर बालुवा संकलन गर्न एलडिओले टेण्डर बिनै राजनितिक दबावमा व्यक्तिलाई जिम्मा दिएका हुन् ।

नदिजन्य पदार्थको उत्खनन र निकासीमा समेत उनले असहयोग गर्ने गरेको अनुगमन समिति स्रोतले जनाएको छ । समन्वय समितिको प्रमुख अशोक गुरुङ, प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी अनुगमनमा जाँदा समेत उनी जाँदैनन् ।


अनुगमनमा प्राविधिक समेत नपठाएर असहयोग गरेको नगर प्रमुख पन्तले बताए । साउन यता उत्खनन र निकासीमा जथाभावी गर्ने ५१ लाई कारवाही गरिएको समन्वय समितिले जनाएको छ । स्काभेटर प्रयोग गरेर, अनुमति बिनै निकासी गर्ने सँग १ हजारका दरले ५१ हजार राजश्व संकलन भएको हो । एलडिओ आचार्यले नियम अनुसार नै अनुमति दिएको दावी गरे । ‘राजश्व लिएर पुनर्निर्माणका घरहरु बनाउन अनुमति दिएको हो, अनुगमन समितिमा छलफल नै क्रममा छ,’ उनले भने ।


प्रकाशित : माघ ५, २०७४ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?