ओली र दाहालबीच राष्ट्रिय सभामा एमालेका २९ र माओवादीका १४ उम्मेदवार उठाउने सहमति

कार्यदलको रिपोर्ट अनुमोदन
दुर्गा खनाल

काठमाडौँ — एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सभाको उम्मेदवार बाँडफाँट सम्बन्धि कार्यदलको प्रस्तावलाई अनुमोदन गरेका छन् । अब राष्ट्रिय सभा चुनावमा बाम बगठबन्धनक तर्फबाट ४३ जना उम्मेद्वार हुनेछन् ।

ओली र दाहालबीच राष्ट्रिय सभामा एमालेका २९ र माओवादीका १४ उम्मेदवार उठाउने सहमति

त्यसमा एमालेका २९ र माओवादीका १४ जना रहनेछन् । उम्मेदवारको मापदण्ड तयार गर्ने लगायतका बिषयमा गृहकार्य गर्न बनेको कार्यदलले दुबै अध्यक्षलाई प्रतिवेदन बुझाएको थियो । कार्यदलको प्रतिवेदनलाई दुई अध्यक्षले शुक्रबार तीन घण्टा बालकोटमा बसेर अध्ययन गरेका थिए । दुई दलबीच राष्ट्रिय सभा चुनावमा ६७ र ३३ प्रतिशतको भागबन्डा भएको छ । यसअघि प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा दुई दलले ६० र ४० प्रतिशत भागबन्डा गरेका थिए । ‘कार्यदलको रिपोर्ट ठिकै छ, समान्य हेरफेरसहित कार्यान्वयन हुन्छ’ अध्यक्ष ओलीको भनाई उदृत गर्दै उनका प्रेस संयोजक चेतन अधिकारीले भने । ओली र दाहालबीच 'वान टु वान' कुराकानी भएको थियो । अब दुबै दलले आ–आफ्नोतर्फबाट प्राप्त कोटामा उम्मेद्वार चयन गर्ने प्रक्रिया अघि बढाउनेछन् ।


अब ३० दिन भित्र प्रदेश सरकार पनि गठन गर्नुपर्ने भएकाले त्यसको पनि गृहकार्य गर्ने समझदारी दुई अध्यक्षबीच भएको छ । प्रदेश सरकारको बिषयमा पनि कार्यादलले प्रारम्भिक प्रस्ताव तयार गर्नेछ । त्यसको आधारमा अध्यक्षहरुबीच छलफल गरी टुंगो लगाउने समझदारी भएको छ । प्रदेश सरकार र प्रदेश सभाका मुख्य पदमा कति सिट भागबन्डा गर्ने भन्नेमा दुई दलबीच कुरा मिलेको छैन ।


बामगठबन्धनको तर्फबाट ६ वटा प्रदेशमा सरकार बन्ने स्थिति छ । त्यसैले मुख्यमन्त्रीमा एमाले ४ र माओवादीले दुई लिने करिव निश्चित छ । तर, प्रदेश सभाको सभामुखमा भने माओवादीले बढी दाबी गरेको छ । एउटाको मुख्यमन्त्री भएको स्थानमा अर्को दलको सभामुख हुनुपर्ने माओवादीको अडान छ । यो अडानका कारण कार्यदलस्तरमा सहमति बनिसकेको छैन । माओवादीको अडान अनुसार प्रदेश सभाको सभामुख ४ वटा माओवादीले पाउने अवस्था हुन्छ । यसमा एमाले तयार छैन ।


शुक्रबारको भेटमा पार्टी एकता प्रक्रियालाई पनि छिटो अघि बढाउने र त्यसका लागि आइतबार एकता संयोजन समितिको बैठक बोलाउने निर्णय भएको प्रेस संयोजक अधिकारीले जानकारी दिए । एकता संयोजन समितिको बैठक अघि शनिबार दुई अध्यक्षले केही गृहकार्य गर्नेछन् । यसअघि ओली उपचारका लागि बैकक जानु अघि एकता संयोजन समितिको बैठक बसेको थियो । ओली फर्के लगतै समितिको बैठक बस्ने भनिएको थियो । संयोजन समितिमार्फत पार्टी एकता सम्बन्धि गृहकार्य गर्न एउटा संगठनात्मक र अर्को बैचारिक बिषय हेर्ने गरी कार्यदल बनाउने तयारी छ । पार्टी एकताको आधार नयाँ सरकार गठनअघि नै तयार गरिसक्ने दुई दलको योजना छ ।


प्रकाशित : माघ ५, २०७४ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?