कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आफन्त नै छुँदैनन् सुत्केरी

अस्पतालमा परिवारसमेत छुनु हुँदैन भनेर पन्छिन्छन्, स्वास्थ्यकर्मीले स्याहार्नुपर्छ
अर्जुन शाह

बाजुरा — सुत्केरी ब्यथाले च्यापेपछि सदरमुकाम मार्तडी छेवैको रजाली गाउँकी सरिता रोकायालाई छिमेकी गाउँले युवाहरू स्ट्रेचरमा बोकेर जिल्ला अस्पताल ल्याउँदै थिए । प्रसूति कक्ष नपुर्‍याउँदै अस्पताल परिसरमा स्ट्ेरचरमै उनी सुत्केरी भइन् । बाटैमा सुत्केरी भएपछि युवाहरू बीचैमा छाडेर हिँडे । सँगै रहेकी सासूले समेत बुहारीलाई छुन मानिनन् । सुत्केरी स्याहार्ने कोही भएन ।

सुत्केरीले गोठ वा अलग्गै कोठामा बस्नुपर्छ, अलग्गै धारा प्रयोग गर्नुपर्छ, बेग्लै बाटो हिँड्नुपर्छ

यो रजाली गाउँको मात्र चलन होइन । प्राय: गाउँमा सुत्केरीलाई छरछिमेक मात्र होइन, ९ दिनसम्म आफ्नै घरपरिवारले समेत छुँदैनन् । यसबेला सकिनसकी सुत्केरी आफैंले सबै काम गर्नुपर्छ ।


सरिताका श्रीमान् प्रहरी सेवामा जिल्ला बाहिर थिए । आफन्त र सासूको सहारामा अस्पताल ल्याउँदै गरिएकी सरिताको बीच बाटोमै बेहाल भयो । ‘सासूले समेत छोएर स्याहार्न नमानेपछि मैले गएर सरसफाइ गर्दिएँ,’ अस्पताल हातामा क्यान्टिन सञ्चालन गर्दै आएकी टाढाकी नातेदार चित्रा बोहराले भनिन्, ‘आफ्नै परिवारका अभिभावकले समेत सुत्केरी छुन नमान्ने समाजमा गाउँघरका अरूले छुने कुरै भएन ।’


सुत्केरी भएका बेला ग्रामीण क्षेत्र मात्र होइन, सदरमुकाम आसपासकै महिलाले समेत सास्ती खेप्नुपर्छ । देवीदेउता मान्ने घरपरिवारका महिलामा झनै समस्या हुन्छ । स्वास्थ्यकर्मीका अनुभवमा प्रसूतिका लागि अस्पताल आएका कतिपय महिलाले निकै कठिनाइ सहनुपर्छ । ‘घरपरिवार कसैले छुन मान्दैनन्, कमजोर स्वास्थ्य अवस्था भएका सुत्केरी आफूले गर्ने अवस्था पनि हुन्न,’ जिल्ला अस्पतालमा प्रसूति कक्षमा कार्यरत स्टाफ नर्स मनदेवी जैशी भन्छिन्, ‘कतिपय सुत्केरीलाई हामी नै स्याहार्छौं ।’


गत पुसमा जिल्ला अस्पताल आएर २७ जना सुत्केरी भए । ‘तीमध्ये करिब आधा संख्यामा सुत्केरीले यस्तो कठिनाइ बेहोरेको देखियो,’ जैशीले भनिन्, ‘देउता मान्ने घरमा त झनै कडा नियम हुन्छ, आफ्नै घरमा पालेको गाईभैंसीको दूध, घ्युसमेत सुत्केरीलाई दिँदैनन् ।’ स्याहारको आवश्यकता हुने बेला यहाँका सुत्केरीहरू भने छुवाछूतको सिकार बन्छन् । साविक बिच्छ्याँ गाविसमा त सुत्केरीले १३ दिनसम्म गोठमै बस्नुपर्ने चलन छ । ‘सुत्केरीलाई छुनु हुँदैन, त्यसैले त्यस अवधिमा गोठमा राख्छौं,’ बिच्छ्याँ गुम्बाका अगुवा छिरिङदोर्जे लामाले भने ।


सुत्केरी हुँदा महिनावारी भएका बेलाभन्दा कठोर नियम लगाइन्छ । न्वारन हुने दिनसम्म सुत्केरीले अलग्गै कोठा, अलग्गै धारा र बेग्लै बाटो हिँड्नुपर्ने कुरीतिले महिलालाई सास्ती हुन्छ । ‘गाउँघरमा त यस नियममा तलमाथि गर्नै नपाइने चलन छ,’ तोली स्वास्थ्य चौकीका इञ्चार्ज वीरबहादुर अयडीले भने ।


गर्भवती अवस्थामै महिलाहरूले अनेक जोखिम ब्यहोर्नुपर्ने अवस्था छ । कतिपय गाउँबस्तीमा अझै पनि सुत्केरी ब्यथा लागेकालाई प्रसूतिका लागि स्वास्थ्य संस्था लैजाने चलन छैन । बिच्छ्याँ गाविसबाट विगतमा झैं यस वर्ष पनि एउटै गर्भवती सुत्केरी गराउन स्वास्थ्य संस्था गएनन् ।


सदरमुकाम मार्तडीदेखि ४ दिन पैदल टाढाको अति विकट हिमाली गाउँपालिकाको बिच्छयाँको गुम्बागाउँमा सुत्केरी गराउने आफ्नै सामाजिक परम्परा छ । गर्भवतीलाई सुत्केरी ब्यथा लाग्नेबित्तिकै घरपरिवारले हतार गर्दै चौपाया राख्ने गोठमा सार्छन् र त्यहीँ शिशुको जन्म हुन्छ । यस गाउँमा हालसम्म सबै शिशु गोठमै जन्मिएका छन् ।


त्यहाँबाट करिब एक दिनको पैदलमा पर्ने देउसैनमा स्वास्थ्यचौकी छ । तर, जस्तोसुकै जोखिमपूर्ण अवस्थामा पनि गुम्बाका स्थानीय गर्भवतीलाई सुरक्षित प्रसूतिका लागि स्वास्थ्य संस्था ल्याउँदैनन् । ‘विगतझैं यस वर्ष पनि स्वास्थ्य चौकीमा सुत्केरी गराउने बिच्छ्याँका एक जना पनि छैनन्,’ जिल्ला स्वास्थ्य कार्यालयका तथ्यांक सहायक रुगमबहादुर थापाले भने, ‘गुम्बा मात्र नभई स्वास्थ्यचौकी रहेको देउसैन आसपासकै गर्भवतीसमेत प्रसूति सेवाका लागि स्वास्थ्य संस्था जाँदैनन् ।’


बिच्छ्याँ विकट भएकाले अन्यत्रजस्तो सुरक्षित प्रसूतिलगायत स्वास्थ्य शिक्षा पुर्‍याउन नसकिएको जनस्वास्थ्य कार्यालयले स्विकारेको छ । ‘बिच्छ्याँमा प्रसूतिलगायत स्वास्थ्य शिक्षा न्यून मात्र पुगेको अवस्था छ,’ जिल्ला जनस्वास्थ्य अधिकृत रमेश कुँवरले भने, ‘भौगोलिक रूपमा टाढा भएकाले निरन्तर अनुगमनमा समेत समस्या छ ।’


कार्यालयको तथ्यांकअनुसार यस जिल्लाका ४५ प्रतिशत गर्भवती सूचीकृत प्रसूति केन्द्रमा सुत्केरी गराउँछन् । स्वास्थ्य संस्थामा सुत्केरी गराउनेलाई प्रोत्साहनस्वरूप १ हजार ५ सय रुपैयाँ प्रदान गरिन्छ ।

प्रकाशित : माघ ५, २०७४ २२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?