कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

भाइरल ज्वरोले सातामा पाँचको मृत्यु

तुलाराम पाण्डे

कालिकोट — दुई सातादेखि फैलिएको भाइरल ज्वरोले ५ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी बिरामी छन् । लामो खडेरीले खाडाचक्र नगरपालिकाका २, ३ र ४ नम्बर वडामा भाइरल फैलिएको हो ।

भाइरल ज्वरोले सातामा पाँचको मृत्यु

खाडाचक्र ४ मा फैलिएको भाइरल ज्वरोले दत्त विश्वकर्माका ९ महिनाका छोरा लक्ष्मण, संगीता सुनारकी एकमहिने छोरी रश्मि, गोबी विश्वकर्माका डेढ महिनाका छोरा दीपकको मृत्यु भएको वडाध्यक्ष धनसिंह कामीले बताए । तीनै बालबालिका एकै टोलका हुन् । उनका अनुसार ४ नम्बर वडाको दलित टोलमा मात्र ७० जना बिरामी छन् । ‘घरघरमा भाइरलका बिरामी छन्,’ उनले भने । बिरामी हुनेमा धेरैजसो बालबालिका र वृद्ध छन् ।


त्यस्तै, दुई साताअघि ३ नम्बर वडाका वृद्ध बुदे पाण्डेको भाइरल ज्वरोले मृत्यु भएको थियो भने सोही गाउँका ७४ वर्षीय महानन्द पाण्डेको बिहीबार मृत्यु भएको आफन्त कुम्मे पाण्डेले जानकारी दिए । दलित टोलमा फैलिएको भाइरल ज्वरो नियन्त्रणका लागि जिल्ला अस्पतालबाट कोही नआएको वडा सदस्य जय विकले गुनासो पोखे । खाडाचक्र ४ ताडीमा बिरामी परेको खबर आए पनि धेरै बिरामी भएको आफूलाई जानकारी नभएको जिल्ला स्वास्थ्य प्रमुख डा. कौशल अलीले बताए । उनले दत्त विकका ९ महिने छोरा लक्ष्मणको सुरुमा स्थानीय मेडिकलमा औषधि खुवाइएको र अन्तिम अवस्था पुगेपछि जिल्ला अस्पताल ल्याइएको बताए । बालकको भाइरल ज्वरो बिग्रिएर कडा निमोनियाँले राति नै मृत्यु भएको उनले जानकारी दिए ।


अलीका अनुसार भाइरल ज्वरो जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकामा फैलिए भए पनि महामारीका रूपमा नरहेको दाबी गरे । जिल्लाका पचालझरना, पलाता, सान्नीत्रिवेणी, नरहरिनाथ गाउँपालिका र तिलागुफा नगरपालिकामा औषधिसहित स्वास्थ्यकर्मी पठाएर उपचार गरिएको जिल्ला स्वास्थ्य प्रमुख अलीले बताए । उनले अचेल कुनै पनि स्वास्थ्यकर्मीलाई बिदा, काजमा नपठाउन स्थानीय तहलाई परिपत्र गरिएको जनाए । स्थानीय तहमा औषधि पनि पठाइएको उनले दाबी गरे ।


त्यस्तै, यहाँको विकट पलाता गाउँपालिकाको थिर्पुमा पनि भाइरल ज्वरोका बिरामीको घरघरमा स्वास्थ्यकर्मी पठाएर उपचार गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । खाडाचक्र नगरपालिकाका २, ३ र ४ वडामा भाइरल ज्वरोले बिरामी परेको जानकारी आएको नगर प्रमुख जसीप्रसाद पाण्डेले बताए । उनले वडामा स्वास्थ्यकर्मी खटाएर उपचार गर्ने तयारी भइरहेको बताए ।


प्रकाशित : माघ ५, २०७४ २२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?