आइपुगे प्रदेश प्रमुख 

पोखरा — चार नम्बर प्रदेशका लागि नियुक्त प्रदेश प्रमुख बाबुराम कुँवर शनिवार पोखरा आइपुगेका छन् । उनलाई पोखरा विमानस्थलमा क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, चार नम्बर प्रदेश प्रहरी प्रमुख कमलसिंह बमलगायतले स्वागत गरे । 

आइपुगे प्रदेश प्रमुख 

कुँवरले संविधान कार्यान्वयन आफ्नो मुख्य काम भएको संक्षिप्त प्रतिक्रिया दिए । ‘जनताको ईच्छा आकांक्षा पूरा गर्न संविधानको कार्यान्वयन मूख्य काम हो’ उनले भने, ‘कानुन अनुसार प्रदेशसभालगायत अन्य संवैधानिक व्यवस्थाको पूर्ण कार्यान्वयनमा लाग्नेछु ।’ उनी यहाँस्थित राष्ट्रबैंकको गेष्ट हाउसमा बसेका छन् ।


यस प्रदेशका प्रदेशसभा सांसदलाई आईतबार बिहान सपथ खुवाउने कार्यक्रम छ । सुरुमा प्रदेश प्रमुख कुँवरले प्रदेशसभाका सबैभन्दा ज्येष्ठ सदस्यलाई सपथ खुवाउने र लगत्तै ज्येष्ठ सदस्यले अरु सांसदलाई सपथ ग्रहण गराउने कार्यक्रम रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए । सांसदहरुलाई सम्बन्धित जिल्ला प्रशासन र क्षेत्रीय प्रशासन कार्यालयबाट शुक्रबार साँझदेखिनै सपथग्रहण कार्यक्रममा आउन भनिएको थियो । सोही अनुसार अधिकांश सांसद शनिवार रातीसम्म पोखरा आईपुगेका छन् । कोही बाटैमा रहेको र आईतबार बिहानसम्म सबै आईपुग्ने अधिकारीले बताए ।


कुँवरले प्रस्तावित प्रदेश प्रमुखको कार्यालय (हालको अध्यागमन कार्यालय) आईतबार बिहान प्रदेशका ज्येष्ठ सांसदलाई र ज्येष्ठ सांसदले अरु सांसदलाई प्रस्तावित प्रदेशसभा भवन नदीपुरस्थित नगर बिकास प्रशिक्षण केन्द्रमा सपथ खुवाउने तयारी गरिएको छ । चार नम्बर प्रदेशमा ३६ प्रत्यक्ष र २४ जना समानुपातिकबाट प्रदेशसभा सदस्य छन् । तर मनाङ प्रदेश सभा ख बाट निर्वाचित राजिव गुरुङ (दीपक मनाङे) भने सर्बोच्च अदालतको फैसलापछि सांसद हुनबाट बन्चित भएका छन् । यसैले ज्येष्ठ सांसदले अरु ५८ जनालाई सपथ खुवाउने छन् ।


ज्येष्ठ सांसदमा नवलपरासीका श्रेष्ठ

यसैबीच चार नम्बर प्रदेशमा पूर्वी नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा खबाट निर्वाचित जनकलाल श्रेष्ठ ज्येष्ठ सांसदका रुपमा रहेका छन् । उनैलाई प्रदेश प्रमुख बाबुराम कुँवरले सुरुमा सपथ खुवाउने छन् । लगत्तै श्रेष्ठले अरु सांसदलाई सपथ खुवाउने तयारी गरिएको छ । मध्यबिन्दु नगरपालिका १० अरुणखोलाका ६७ वर्षीय श्रेष्ठ २००७ साल असार १७ मा जन्मिएका थिए । निर्वाचन आयोगले यहाँस्थित क्षेत्रीय निर्वाचन कार्यालयमा ज्येष्ठ सांसदको रुपमा श्रेष्ठको आधिकारीक नाम पठाएको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले बताए ।


हाल एमाले नवलपरासीको जिल्ला सचिवालय सदस्य रहेका श्रेष्ठले २०४७ सालमा तत्कालिन मालेको सदस्यता लिएर पार्टीमा लागेका थिए । त्यसदेखि यता आफु निरन्तर पार्टीमा समर्पित भएर लागेको श्रेष्ठले बताए । ईमान्दार, स्वच्छ छविका श्रेष्ठ सामाजिक सेवामा पनि उत्तिक तल्लिन थिए । उनी २०४४ मा तत्कालिन जिल्ला पंचायत सभापतिमा जनपक्षीय उम्मेदवारसमेत भएका थिए । २०५४ सालमा जिल्ला बिकास समितिको सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित : माघ ६, २०७४ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?