१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सातै प्रदेशमा प्रदेशसभा सदस्यहरुको शपथ

काठमाडौँ — सातै प्रदेशका प्रदेशसभामा निर्वाचित सदस्यहरूको आइतबार सम्बन्धित प्रदेशका अस्थायी मुकामहरूमा पद तथा गोपनीयताको शपथग्रहण भएको छ । संविधान र प्रदेशसभा निर्वाचन ऐनअनुसार प्रदेशसभामा निर्वाचित ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले र ज्येष्ठ सदस्यले अन्य सांसदलाई शपथग्रहण गराएका छन् ।

सातै प्रदेशमा प्रदेशसभा सदस्यहरुको शपथ

सातै प्रदेशका प्रदेशसभामा निर्वाचित सदस्यहरूको आइतबार सम्बन्धित प्रदेशका अस्थायी मुकामहरूमा पद तथा गोपनीयताको शपथग्रहण भएको छ ।


संविधान र प्रदेशसभा निर्वाचन ऐनअनुसार प्रदेशसभामा निर्वाचित ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले र ज्येष्ठ सदस्यले अन्य सांसदलाई शपथग्रहण गराएका छन् ।


सरकारले निर्वाचन सम्पन्न भएको डेढ महिनापछि प्रदेशप्रमुख नियुक्त गरेलगत्तै निर्वाचन आयोगले प्रदेशसभाको अन्तिम नतिजा बुझाएको थियो । आयोगले माघ २४ गते तोकिएको राष्ट्रिय सभा निर्वाचनको कार्यक्रम आइतबारदेखि नै सुरु गरेकाले सबै प्रदेशसभा सदस्यको शपथ आइतबारै गराउनुपरेको हो ।


आइतबारै सबै प्रदेशमा शपथग्रहण गराउनुपर्ने भएपछि रातारात तयारी गरिएको थियो ।

प्रदेश नम्बर १

प्रदेश नम्बर १ मा प्रदेश प्रमुख गोविन्द सुब्बाले ७३ वर्षीय ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीलाई शपथ गराएका थिए । सरावगीले अरु ९३ प्रदेशसभा सदस्यलाई शपथ खुवाए ।


प्रदेश नम्बर २

२ नम्बर प्रदेशको शपथ ग्रहणमा केही सांसदहरुले आफूले जुन भाषामा शपथ लिएको हो त्यही भाषाको शपथपत्रमा हस्ताक्षर गरेका छन् । कतिपय सांसदहरुले नेपाली भाषाको शपथपत्रमा हस्ताक्षर नगर्ने भनेपछि नेपालीसहित मैथिली र भोजपुरी भाषाको शपथपत्रमा हस्ताक्षर गर्न दिइएको थियो ।

प्रदेशसभा २ को पहिलो अधिवेशन माघ २१ गतेका लागि तय भएको छ ।

प्रदेश नम्बर ३

प्रदेश नम्बर ३ मा प्रदेश प्रमुख अनुराधा कोइरालाले ज्येष्ठ सदस्य डोरमणि पौडेललाई सुरुमा शपथ खुवाइन् । पौडेलले एकसय ९ जनालाई शपथ खुवाए ।


प्रदेश नम्बर ४

प्रदेश नम्बर ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई आइतबार बिहान शपथ खुवाएका थिए । ६७ वर्षीय श्रेष्ठले ५८ प्रदेशसभा सदस्यलाई शपथ खुवाएका छन् । मनाङ ‘ख’बाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) सर्वोच्च अदालतको आदेशपछि सांसदको शपथ लिनबाट बञ्चित भएका छन् ।


प्रदेश नम्बर ५

प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाले आइतबार नै पदबहाली गर्दै जेष्ठ सांसद बलदेव शर्मा पोखरेललाई शपथ खुवाए । पोखरेलले ८६ सांसदलाई शपथ खुवाए । बुटवलको बसपार्क पछाडि रहेको बुटवल उद्योग वाणिज्य संघको हलमा शपथ भएको हो । प्रदेश नम्बर ५ मा प्रत्यक्षबाट ५२ र समानुपातिकबाट ३५ गरी ८७ प्रदेश सभा सदस्य छन् ।


प्रदेश नम्बर ६

प्रदेश नम्बर ६ का सभासदहरुले दिउँसो शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख दुर्गाकेशर खनालले ज्येष्ठ सदस्य ६८ वर्षीय हिमबहादुर शाहीलाई शपथ खुवाएपछि उनले प्रत्यक्ष र समानुपातिक ३९ सांसदलाई सपथ खुवाएका थिए ।


जहाज आउन ढिला भएपछि नेपाली सेनाको हेलिकप्टरबाट सांसदहरु ल्याउनु परेकाले शपथ ढिला भएको हो ।

प्रदेश नम्बर ७

प्रदेश नम्बर ७ को शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । प्रदेश प्रमुख मोहनराज मल्लको जहाज नउडेपछि गाडीबाट धनगढी आउँदा शपथ नै ढिला भएको हो ।

प्रदेश प्रमुख धनगढी आएलगत्तै पदबहाली गरेर ज्येष्ठ सदस्य ७४ वर्षीय दिव्यश्वरी शाहलाई शपथ खुवाएका थिए । ५२ जना प्रदेशसभा सदस्यले शाहबाट शपथ ग्रहण गरे । प्रदेश ७ मा प्रत्यक्ष र समानुपातिक गरी ५३ प्रदेशसभा सदस्य छन् ।

प्रकाशित : माघ ७, २०७४ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?