'विशेष आवश्यकता शिक्षा' उपलब्धिमूलक : विज्ञ

गणेश राई

काठमाडौँ — अपाङ्ताका प्रकृतिअनुसारको शिक्षण पद्धतिको विकास गर्ने लक्ष्यसहित चार वर्षअघि सुरु गरिएको विशेष आवश्यकता शिक्षा (एसएनई) उपलब्धिमूलक बनेको विज्ञले दाबी गरेका छन् ।

'विशेष आवश्यकता शिक्षा' उपलब्धिमूलक : विज्ञ

दक्षिण कोरियाको छाङहोङ नेसनल युनिभर्सिटी र त्रिभुवन विश्वविद्यालय (त्रिवि)बीच भएको सम्झौताअनुसार यो विषयको पठनपाठन सुरु गरिएको हो । अन्तर्राष्ट्रिय सहयोगका लागि अगुवा विश्वविद्यालय परियोजना (लुपिक) अन्तर्गत त्रिवि शिक्षाशास्त्र संकायले स्नातकोत्तर (एमएड्) र स्नातक (बिएड्) तहमा विशेष शिक्षा पठनपाठन सञ्चालनमा छ । त्यसैगरी त्रिविका तीन र अन्य गरी छ जना शिक्षक कोरियाको छाङहोङ नेसनल युनिभर्सिटीमा विद्यावारिधि शोध गर्दैछन् ।


विद्यावारिधिको अन्तिम चरणमा रहेकामध्ये पाँचजना शोधार्थी यतिखेर त्रिविले आयोजना गरेको सघन विशेष शिक्षा तालिममा प्रशिक्षकका रुपमा खटिएका छन् । प्रशिक्षार्थीका रुपमा विशेष शिक्षा विषयमा स्नातक र स्नातकोत्तर तहका विद्यार्थी सहभागी छन् ।


लुपिकको हिउँदे कार्यक्रमअन्तर्गत कोरियाली र नेपाली विज्ञ टोलीले यतिखेर राजधानी काठमाडौंका विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीलाई चार चरणमा प्रशिक्षण दिएका छन् । परियोजनाकी म्यानेजर युजिन सिमका अनुसार पहिलो चरणमा सानोठिमी क्याम्पसमा बिएड अध्ययनरत ३७ विद्यार्थीलाई प्रशिक्षण दिएको छ । छ दिने कार्यक्रममा सांस्कृतिक आदानप्रदानसहित विशेष शिक्षाबारे प्रशिक्षण दिइएको थियो । त्यसैगरी उपत्यकाका प्राथमिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई कोरियास्थित झिन्जु एजुकेसन कलेजका प्राध्यापक र शोधार्थी शिक्षकले प्रशिक्षण दिएका थिए । साथै, अपाङ्गतासम्बन्धी पढाइ हुने विद्यालयका विशेष शिक्षकलाई तालिम दिइएको छ ।


कीर्तिपुरस्थित त्रिविमा आयोजित कार्यशालामा बिएड र एमएड अध्ययनरत ३० विद्यार्थी सहभागी थिए । ‘हामी विशेष शिक्षा विषयविज्ञका रुपमा विद्यावारिधि शोधकार्यको अन्तिम चरणमा छौं,’ विद्यावारिधिका शोधार्थी त्रिवि उपप्राध्यापक ध्रुव निउरेले भने, ‘अब हाम्रो ज्ञान, दक्षता र विशेषज्ञतालाई स्वदेशमै प्रयोग गर्नेछौं ।’ त्यसैगरी विशेष शिक्षामा विद्यावारिधि शोधार्थीहरु रविन्द्र शिवाकोटी, शरणहरि श्रेष्ठ, नवराज न्यौपाने र यज्ञराज पाण्डेय प्रशिक्षणमा संलग्न छन् ।


छाङहोन युनिभर्सिटीका प्राध्यापक दाय योङ जोङले उद्देश्यअनुसार विशेष आवश्यकता शिक्षाबारे नेपालसित गरिएको सहकार्य सफल रहेको बताए । सन् २०१४ जुनमा सुरु भएको परियोजना यसै वर्ष सन् २०१८ मेईमा पूरा हुनेछ । त्यसपछि दुई वर्षसम्म सुचारु रहने प्राध्यापक जोङले जनाए । ‘उद्देश्यअनुसार नेपालमा विशेष शिक्षाका निम्ति विशेषज्ञ र शिक्षणका निम्ति दक्ष जनशक्ति उत्पादन गर्नु हो,’ कोरियामा सय वर्षअघि विशेष शिक्षा सुरु भएको उल्लेख गर्दै प्राध्यापक जोङले कान्तिपुरसित भने, ‘अब नेपाल सरकारले विज्ञ पाएको छ र शिक्षण जनशक्तिसमेत उपयोग गरेर दीर्घकालीन रुपमा अघि बढाउने सक्छ ।’


विशेष शिक्षाका निम्ति मुलुकमा आवश्यक जनशक्ति उत्पादन लक्ष्यसहित सुरु गरिएको विशेष शिक्षा पठनपाठनका निम्ति प्राथमिकता दिने सरकारको योजना रहेको जनाइएको छ । त्रिवि शिक्षाशास्त्र केन्द्रीय विभाग प्रमुख प्राध्यापक कृष्णप्रसाद आचार्यले विशेष शिक्षा शिक्षणका निम्ति कोरियासित भएको सहमतिअनुसार उपलब्धिमूलक बनेको बताए ।


केन्द्रीय विभागले बहुअपाङ्गतासम्बन्धी नयाँ विषयको सुरु गरेको छ । विशेष शिक्षाअन्तर्गत दृष्टिविहीन, बहिरा तथा सुस्त श्रवण, संवेगात्मक व्यवहार, शारीरिक अपाङ्गता, बहुअपाङ्गता, अपाङ्गता तथा विशेष आवश्यकतासहितका बालबालिकालाई शैक्षणिक प्रविधि समेटिएका छन् । ‘शिक्षा मन्त्रालयले विशेष शिक्षाका निम्ति गुरुयोजना निर्माण गरेको छ,’ आचार्यले भने, ‘त्यसअनुसार अब विशेष शिक्षा पढेकालाई विशेष लाइसेन्सको व्यवस्था हुनेछ ।’

प्रकाशित : माघ ७, २०७४ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?