कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

हतियारको त्रास देखाएर बालुवा तस्करी

स्थानीय भन्छन्– प्रहरीको पनि मिलेमतो छ
सुदीप कैनी

आँबुखैरनी — गोरखा र तनहुँको सिमानामा पर्ने मर्स्याङ्दी नदीको बगरमा प्रहरीकै संरक्षणमा हतियार देखाएर स्थानीय युवाहरुले बालुवा तस्करीको धन्दा संचालन गर्दै आएका छन् ।

हतियारको त्रास देखाएर बालुवा तस्करी

विगत डेढ वर्ष अघिदेखि सुरु भएको अवैध बालुवा कारोबारमा स्थानीय आँबुखैरनी प्रहरी चौकीका निरिक्षक लोकबहादुर गुरुङको समेत संलग्नता रहेको स्थानीयले दाबी गरे । सोही कार्यमा गोरखा तर्फको मझुवा देउराली प्रहरी चौकीका असई जर्नादन कुहारको पनि साथ रहेको स्थानीयको दाबी छ ।

मर्स्याङ्दी नदीको बरादी/अकला मन्दिरदेखि रामशाहघाट/आँबुखैरनी बजारसम्म हतियार देखाएर विभिन्न युवा समुहले बालुवा तस्करी गर्ने गरेका हुन् । ‘प्रहरीको संरक्षण बिना दिनदहाडै यस्तो काम हुनै सक्दैन,’ स्थानीय एक व्यापारीले कान्तिपुरसँग भने, ‘गुण्डा आंतक बढेपछि व्यावसाय नै छाडेर अन्यत्रै जानुपर्ने अवस्था आउन लागेको छ ।’

प्रहरीलाई खबर गर्दा पनि प्रक्राउ नै नगर्ने र प्रक्राउ गरी हालेपनि तुरुन्तै छोडी दिने गर्दा अवैध ढुङ्गा, गिटि, बालुवाको कारोबार गर्नेको संख्या बढेको उनको भनाई छ । पृथ्वीराजमार्गको छेउ आँबुखैरनी पञ्चायत भन्दा पछाडि कुडुले घाट, नारीघाट, बरादी, ढापटार, खानीखोला लगायतको क्षेत्रमा हतियारको बलमा नदी दोहन भएको तनहुँका एक संचारकर्मीले बताए ।

‘कोहि बोल्न सक्ने अवस्था छैन, हामी रिर्पोटिङमा जाँदा पनि घेराबन्दी गर्छन्, हात हाल्न मात्र सकेका छैनन्, युवाहरुको ग्याङग्याङ छ,’ उनले भने ।

बालुवा उत्खनन हुने ठाउँमा स्थानिय युवाहरु चौबिसै घण्टा हतियारसहित पहरा दिएर बस्ने गरेको ती व्यवसायीले बताए । ‘बालुवा तस्करीले गुण्डागर्दी मौलाएको सबैलाई थाहा छ, मुख खोल्न नसकेर मात्र मौन बसेका हुन्,’ नाम उल्लेख गरे जोखिममा पर्ने भन्दै उनले भने, ‘बोल्यो भने ज्यानै जोखिममा पर्ने सम्भावना छ ।’

बालुवा उत्खननमा सक्रिय युवाहरुको उठबस यी दुई प्रहरी चौकीका प्रहरीसँग हुने गरेको स्थानीयको भनाई छ । ‘बालुवामा काम गर्ने केटाहरु र प्रहरीको भोजभतेर र आउजाउ चलिरहन्छ,’ स्थानिय एक संस्थाका अध्यक्षले भने, ‘करोडौंको बालुवा कारोबार गर्न प्रहरीसहित ठुलै सेटिङ रहेको हुनुपर्छ ।’

यसअघि आँबुखैरनी प्रहरी चौकी र मझुवा प्रहरी चौकीमा हप्ताहप्तामा भोजभतेर हुने गरेको स्थानीयले बताए ।

मंसिर दोस्रो साता गोली र पेस्तोलसहित प्रक्राउ पर्ने बालुवा उत्खननका नाईके अभियान श्रेष्ठको पनि प्रहरीसँग मिलेमतो रहेको स्थानीयको दाबी छ । स्थानीय तहको निर्वाचनमा परिचालन भएको नेपाली सेनाको दबाबमा मात्र प्रहरीले श्रेष्ठ लगायत ३ युवालाई हयितारसहित प्रक्राउ गरेको आँबुखैरनीका अगुवाहरुको भनाई छ ।

प्रक्राउ परेका आँबुखैरनी– ३ का २८ वर्षिय श्रेष्ठ, वडा नम्बर ४ का २४ वर्षिय विजय गुरुङ र २५ वर्षिय जय गुरुङ बालुवा कारोबारी हुन् । विजय गुरुङ धरौटीमा रिहा भईसकेका छन् भने अभियान छुट्ने प्रक्रियामा रहेको प्रहरी स्रोतले जनाएको छ । स्रोतकै अनुसार थुनामै रहेका जय गुरुङलाई पैसा दिएर बरामद सबै हतियारको जिम्मेवारी दिएपछि उनीहरुले उन्मुक्ति पाउने बाटो बनेको हो ।

ढुङ्गा, गिटी, बालुवा कारोबारीहरु सँग हतियार भएको सुईको पाएपछि आवाज उठाउन नसकेको अगुवाहरुले गुनासो गरे । अगुवा मध्येका एकले भने, ‘बगर भरी अवैध बालुवाका पहाड बनाइएको छ, प्रहरी प्रशासनले रोक्न सकेको छैन ।’ ती युवाहरु बालुवा बगरमा पेस्तोलसहित बस्ने आतंक सिर्जना गर्ने गरेको प्रत्यक्षदर्शी सर्वसाधरणको भनाई छ ।

‘बालुवा निकाल्ने ठाँउ आसपास हामीलाई जान पनि दिदैंनन्, हामी उनीहरुलाई देखेपछि भाग्नुपर्छ,’ एक सर्वसाधरणले भने । प्रहरी अधिकारीहरु भने स्थानीय तहको कमजोर कानुनका कारण बालुवा खानीमा कडाई गर्न नसकेको भन्दै पन्छिन्छन् । नदी दोहनमा संलग्लनहरुलाई स्थानीय राजनीतिक दल र जनप्रतिनिधिको समेत संरक्षण रहेको सर्वसाधरणको भनाई छ ।

(सुरक्षा संवेदनशीलताका कारण स्रोतहरुको नाम यहाँ उल्लेख गरिएको छैन ।)


प्रकाशित : माघ ८, २०७४ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?