निर्वाचन समीक्षा बैठक बोलाउन देउवामाथि दबाव

काठमाडौँ — प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरवहादुर देउवालाई निर्वाचन समीक्षाका लागि तत्काल केन्द्रीय कार्यसमितिको बैठक बोलाउन दबाव परेको छ ।

निर्वाचन समीक्षा बैठक बोलाउन देउवामाथि दबाव

बरिष्ठ नेता रामचन्द्र पौडेललगायत उनी पक्षीय नेता र संस्थापन पक्षकै केही केन्द्रीय सदस्यहरुले मंगलबार बिहानको बैठकमा तत्काल केन्द्रीय कार्यसमितिको बैठक बोलाउन दबाव दिएका हुन ।


तर, कांग्रेस नेता बिमलेन्द्र निधिले भने राष्ट्रिय सभाको निर्वाचन नभएसम्म निर्वाचनको समिक्षाका लागि बैठक बोलाउन उचित नहुने बताएका थिए । निर्वाचन समीक्षामा बैठक केन्द्रित हुन थालेपछि राष्ट्रिय सभाको निर्वाचनको वातवरण बिग्रन सक्ने भन्दै निधिले सभापति देउवाको ध्यानाकर्षण गराएका हुन ।


‘प्रतिनिधिसभाको निर्वाचनले पनि पूर्णता पाइसकेको छैन । त्यसअघि राष्ट्रियसभाको निर्वाचन हुँदैछ,’ निधिले भने, ‘प्रतिनिधिसभा, राष्ट्रियसभाको निर्वाचन सकिएर सरकार गठन भएपछि मात्रै निर्वाचनको समीक्षा गर्न राम्रो हुन्छ भन्ने मेरो भनाई हो ।’


देउवाले भने बैठक चाँडै राख्न पनि आफू तयार रहेको बताएका थिए । बैठकमा दुई थरी विचार आएपछि देउवा आफै अलमलमा परेको बालुवाटार स्रोतले बतायो । देउवा पक्षीय केन्द्रीय सदस्य बालकृष्ण खाँडले निर्वाचनको समीक्षाका लागि केन्द्रीय कार्यसमितिको बैठक तत्कालै बोलाउनुपर्ने बताएका थिए । पार्टीको पराजयलाई लिएर नेतृत्वप्रति नै नकारात्मक टिकाटिप्पणी सार्वजनिक हुन थालेको भन्दै त्यसलाई मत्थर बनाउन पनि केन्द्रीय कार्यसमितिको बैठक बोलाउनु पर्ने उनको तर्क थियो ।


कांग्रेसका युवा नेताहरुले पार्टी पराजय हुनुमा नेतृत्वको अक्षमतानै मुख्य कारण मान्दै तत्काल केन्द्रीय कार्यसमिति र महासमितिको बैठक बोलाउन माग गर्दै आएका छन् । नेतृत्व परिवर्तन गर्नुपर्ने सम्मको माग राख्दै पार्टीभित्रै विशेष महाधिवेशनको माग समेत हुँदै आएको छ । देउवा केन्द्रीय कार्यसमिति र महासमिति बैठक बोलाउन तयार भएपनि राष्ट्रिय सभा निर्वाचन अघि बोलाउने या पछि भन्नेमा अलमलमा परेका छन । कतिपय नेताहरुले राजधानीमा उपलव्ध केन्द्रीय सदस्यहरुलाई बोलाएर अनौपचारिक बैठक राख्न समेत सुझाएका थिए ।


बैठकमा देउवाले पार्टीभित्रै अन्तर्घात गर्नेहरुलाई कारवाही गर्ने भन्दै त्यसका लागिपनि बैठक बोलाउनु पर्ने भएको धारणा राखेका थिए । पौडेलले पनि अन्र्तघात गर्नेमाथि पार्टीले कारवाही गर्नुपर्नेमा जोड दिएका थिए । बैठकमा कांग्रेस महामन्त्री सशांक कोइरालाले बाम गठबन्धन फुटाउनु पर्छ भनी पोखरामा दिएको अभिव्यक्तिप्रति पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले आपत्ति प्रकट गरेका थिए ।


‘महामन्त्री जस्तो व्यक्तिले बाम गठबन्धन फुटाउनु पर्छ भनी अभिव्यक्ति दिनु राम्रो होइन,’ सिटौलको भनाई थियो । कोइरालाले काठमाडौ फर्केपछि माओवादी केन्द्रका नेताहरुसँग छलफल हुने भनी अभिव्यक्ति दिएका सन्दर्भ जोड्दै सिटौलाले प्रश्न गरे, ‘सभापतिजीले महामन्त्रीलाई छलफल गर्न जिम्मेवारी दिनु भएको हो ?’ देउवाले यसबारे केही नभएको बताए । तर, महामन्त्री कोइरालाले भने कुनै प्रतिक्रिया दिएनन् ।

प्रकाशित : माघ ८, २०७४ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?