कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कालिकोटमा नियन्त्रण भएन भाइरल

एक ट्रक औषधी सदरमुकाम पुगे पनि गाउँ गएन
बिरामी बढदै
तुलाराम पाण्डे

कालिकोट — दुई सातादेखि कालिकोटमा फैलिएको भाइरल ज्वरो अझै नियन्त्रण हुन सकेको छैन । खाडाचक्र नगरपालिका–२ को मेग्र, भर्ता पोरिपाल्नी र ४ को ताडी दलित टोलसहित वडा नम्बर ६ मा पनि भाइरल ज्वरोका बिरामी भेटिएको नगर प्रमुख जसीप्रसाद पाण्डेले जानकारी दिए । ‘सुक्खा मौसमले रोग अन्यत्र पनि देखिन थालेको छ,’ पाण्डेले भने, ‘नियन्त्रणका लागि एकीकृत पहल आवश्यक छ ।’ उनले जिल्ला अस्पतालमा पनि बिरामी बढेको बताए । 

कालिकोटमा नियन्त्रण भएन भाइरल

यस्तै, सान्नी त्रिवेणी–५ डाडाखेत, तिलागुफा नगरपालिकाको चिल्खाया र महाबै गाउँपालिकामा पनि भाइरल ज्वरोका बिरामी देखिएको जिल्ला स्वास्थ्यले जनाएको छ । गाउँमा फैलिएको रुघाखोकी र ज्वरो सदरमुकाम खाडाचक्रका दुईवटा वडाको जस्तो ‘महामारी’ भने नभएको जिल्ला स्वास्थ्यका सिनियर अहेव कटकबहादुर महतले बताए । उनका अनुसार खाडाचक्रको ४ र २ वडामा शनिबार ८ सय १४ जनाको परीक्षण गरिएको थियो भने आइतबार वडा २ को पोरीपाल्नीमा थप १ सय ८९ बिरामी फेला परेका छन् ।


जिल्ला अस्पतालका डा. सुवास शर्माको नेतृत्वमा आइतबार पोरीपाल्नी गएको टोलीले १ सय २७ महिला र ६१ पुरुषको परीक्षण गरेकामा गम्भीर अवस्थाका ९६ बिरामी फेला परेका थिए । वडा ४ मा सोमबार ७७ बिरामीको उपचार गरिएको छ । तीमध्ये ७० प्रतिशतभन्दा बढी बालबालिका छन् भने २० प्रतिशत वृद्धवृद्धा र १० प्रतिशत वयस्क बिरामी छन् ।


अधिकारकर्मी बाले विश्वकर्माले महामारी फैलिएको गाउँमा सरसफाइको कमी, गरिबी र सुक्खा रहेकाले बढी समस्या देखिएको बताए ।


सुर्खेतबाट आएको एक ट्रक औषधि सोमबार मान्म चौरस्थित जिल्ला स्वास्थ्य पुगे पनि प्रभावित गाउँ पठाइएको छैन । आएको एन्टिबायोटिक औषधि मंगलबार प्रभावित गाउँमा पठाइने छ । ‘कडा खालको एन्टिबायोटिक जिल्ला पुगिसकेको छ,’ स्वास्थ्य प्रमुख डा. कौशल अलीले भने, ‘मंगलबारदेखि आवश्यकताअनुसार औषधि पठाउँछांै ।’ उनले जिल्लामा स्टक रहेको सिटामोल र एमोक्सिलिनले काम चलाएको बताए । गम्भीर अवस्थाका बिरामीलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।


आइतबार बेलुकी बसेको जिल्ला दैवी प्रकोप उद्धार समितिको आकस्मिक बैठकले मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट थप स्वास्थ्यकर्मी माग गर्ने निर्णय भए पनि कालिकोट पुगेको छैन । सबै ठाउँमा भाइरल फैलिएपछि हालको जनशक्ति अपुग हुने ठहर गर्दै थप माग गर्ने निर्णय बैठकले गरेको छ ।


जिल्ला अस्पतालमा आइतबार १९ बिरामी आएकामा १३ जना भर्ना गरिएको छ । सोमबार २३ बिरामी अस्पताल आएका छन् । अस्पतालमा भने बेड अभाव छ । जिल्ला जनस्वास्थ्यले सोमबार पनि वडा ४ ताडी दलित टोलमा ४ स्वास्थ्यकर्मी खटाएको दाबी गरेको छ । तर, बिरामीले गाउँमा डाक्टर नगएको र औषधि पनि नपाइएको गुनासो गरेका छन् । गाउँमा भाइरल ज्वरोले महामारीको रूप लिएपछि आइतबार ६ बिरामीको घाँटीको पानी संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको छ ।


भाइरलबाट खाडाचक्रका २, ३ र ४ वडामा सोमबारसम्ममा ७ बिरामीको मृत्यु भइसकेको छ ।

प्रकाशित : माघ ८, २०७४ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?