कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

मुख्यमन्त्रीका लागि सरकारी कार्यालय खाली

पोखरा — प्रदेशसभाका सांसदले शपथ ग्रहण गरेसँगै प्रदेशसभा हललगायत अन्य पूर्वाधारको तयारी युद्धस्तरमा भइरहेको छ ।

मुख्यमन्त्रीका लागि सरकारी कार्यालय खाली

मन्त्रिपरिषदको कार्यालयको निर्देशनअनुसार कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी प्रदेश प्रमुखको कार्यालय, सचिवालय, निवासलगायत मुख्यमन्त्री, मन्त्रीको कार्यालय र बासको तयारीमा खटिएका छन् ।


आइतबार मात्रै सहिदचोकस्थित अध्यागमन कार्यालय खाली गराएर प्रदेश प्रमुखको कार्यालय कायम गराइएको थियो । प्रदेश प्रमुख बाबुराम कुँवरले सोही भवनमा कार्यभार सम्हालेर प्रदेशसभाका ज्येष्ठ सांसदलाई शपथ खुवाएका थिए । यसैगरी सोमबार जिल्ला भूसंरक्षण कार्यालयका १० कोठा खाली गराइएको छ । त्यहाँ प्रदेश मुख्यसचिवको निवास राखिनेछ ।


क्षेत्रीय प्रशासकको निवासमा प्रदेश प्रमुख बस्ने भएपछि क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल सोमबारै राष्ट्र बैंकका अधिकृत कर्मचारी आवासगृहमा सरेका छन् । ‘नदीपुरको नगर विकास प्रशिक्षण केन्द्रको सभाहलमा प्रदेशसभाको तयारीका लागि आवश्यक पूर्वाधार थप्ने काम भइरहेको छ,’ प्रजिअ अधिकारीले भने, ‘अन्य संरचनाको पनि मर्मत र विस्तारको काम भइरहेको छ ।’


सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले प्रस्तावित कार्यालय र निवासको ‘इमरजेन्सी’ मर्मत गरिरहेको छ । अन्यत्रभन्दा प्रदेशसभा हलमा बढी जोड दिएर काम गरिरहेको र अन्यत्र पनि आवश्यकताअनुसार मर्मतको काम भइरहेको कार्यालयका प्रमुख किशोरलाल महाजुले बताए । अधिकारीका अनुसार मुख्यमन्त्री, गृह र अर्थमन्त्रीको कार्यालय प्रस्ताव गरिएको सीप विकास प्रशिक्षण केन्द्रको भवन निर्माणको काम समयमै सम्पन्न गर्न निर्माण व्यवसायीलाई सोमबारै निर्देशन दिइएको छ ।


चैतभित्र उक्त भवन सम्पन्न गर्ने लक्ष्य छ । उक्त भवनको निर्माण नहुँदासम्म कास्की जिल्ला समन्वय समितिको कार्यालयमा मुख्यमन्त्री कार्यालय राखिनेछ । साथै पोखरा–लेखनाथ महानगरपालिकाको ड्यामसाइडस्थित गेस्टहाउसलाई तत्कालका लागि मुख्यमन्त्रीको निवासका रूपमा प्रयोग गरिने भएको छ । मुख्यमन्त्रीको कार्यालय र निवास तत्कालका लागि अस्थायी रूपमा तोकिएको हो । क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालको संयोजकत्वमा गठित प्रतिवेदनलाई मन्त्रिपरिषदको कार्यालयले स्वीकृत गरेपछि सोहीअनुसार मर्मत र तयारीका काम थालिएको हो । ‘आवश्यकताअनुसार सबै काम हुनेछ,’ प्रजिअ अधिकारीले भने, ‘अधिकांश मन्त्रालय यहाँका क्षेत्रीय कार्यालयमा रहनेछन् ।’


अहिले सबै कार्यालय र निवास अस्थायी प्रकृतिका रहेको र प्रदेशसभाले मुख्यमन्त्रीको सुरक्षा, पदको गरिमा र सम्मानका हिसाबले उपयुक्त विकल्प खोज्ने यसअघि सरोकारवालाको बैठकले निर्णय गरेको थियो । मुख्यमन्त्रीको कार्यालयमा क्याबिनेट, मुख्यसचिव, सचिव, मन्त्रालय र विभिन्न महाशाखा पनि हुने भएकाले सोहीअनुसारको संरचना पछि तयार हुनेछ । तारागाउँ रिसोर्टमा उपसभामुखको निवास, क्षेत्रीय वन, शिक्षा, खानेपानी तथा ढल निकास, क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण, सहकारी प्रशिक्षण तथा डिभिजन, क्षेत्रीय हुलाक, सडक, सिँचाइ, स्वास्थ्य, क्षेत्रीय कृषि, जिल्ला कृषि कार्यालय, घरेलु तथा साना उद्योग र सहरी विकास तथा भवन डिभिजन कार्यालय मा मन्त्रालय राखिनेछ ।



पोखरास्थित चार नम्बर प्रदेश प्रमुखको कार्यालय । अध्यागमन कार्यालय रहेको ठाउँमा प्रदेश प्रमुख कार्यालय स्थापना गरिएको हो । तस्बिर : लालप्रसाद शर्मा/कान्तिपुर


प्रकाशित : माघ ८, २०७४ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?