कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अधिवेशन हलको रातारात तयारी

विराटनगर — प्रदेशसभाका सदस्यहरूले शपथ लिएपछि प्रथम अधिवेशन बस्न तयारी थालिएको छ । प्रदेश १ को प्रथम प्रदेश अधिवेशन जिल्ला समन्वय समितिको सभाहलमा बस्ने भएको छ । पहिलो अधिवेशनको मिति भने तोकिएको छैन । 

मोरङ प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, जिल्लाका सुरक्षा प्रमुख, सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयलका प्रमुखसहितको टोलीले सोमबार समन्वय समितिको सभाहल निरीक्षण गरेको थियो । प्रजिअ आचार्यले रातारात भए पनि हललाई ७ दिनभित्र अधिवेशन सञ्चालनका लागि तयार गर्ने बताए ।


उक्त हलमा १ सय ४० सिट छन् । प्रदेश १ मा ९३ सदस्य छन् । ‘अधिवेशन सञ्चालनका लागि कम्तीमा १० कर्मचारी आवश्यक पर्छ,’ आर्चायले भने, ‘२२ जनाजति मर्यादापालक र १० जना सञ्चारकर्मी अट्ने गरी हलको व्यवस्थापनमा जुटेका छौं ।’ हलभित्र मर्यादापालक भने उभिनेछन् ।


सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले सिफारिस गरेअनुसार आइतबारबाट क्षेत्रीय पशुसेवा निर्देशनालयमा प्रदेश प्रमुखको कार्यालय स्थापना गरिएको छ । प्रदेशसभाको सचिवालय, सभामुख र उपसभामुखको कार्यालय जिल्ला समन्वय समितिको कार्यालयमा राखिने भएको छ । ‘अहिले प्रदेश प्रमुखबाहेक अन्य मन्त्रालय कहाँ राख्ने भन्ने निर्णय भइसकेको छैन,’ प्रजिअ आचार्यले भने, ‘तर सहरी विकास कार्यालयले सिफारिस गरेअनुसार नै मंगलबारबाट मन्त्रालय बस्ने कार्यालयसमेत व्यवस्थापन गर्ने तयारी छ ।’


मुख्यमन्त्रीको कार्यालय र निवासका लागि क्षेत्रीय कृषि निर्देशनालयको भवन र मुख्य सचिवको कार्यालय क्षेत्रीय सिंचाइ निर्देशनालय रहेको कार्यालयमा राख्ने तयारी छ । अधिकांश कार्यालय सामान्य मर्मत गर्नुपर्ने भए पनि सुरक्षा पोस्ट भने छैनन् । डिभिजन कार्यालयले अस्थायी सुरक्षा पोस्ट बनाउने भएको छ ।


यसैगरी घरेलु तथा साना उद्योग कार्यालय, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय प्रशासनिक भवन, क्षेत्रीय वन तथा तालिम केन्द्र, जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय, सुनसरी–मोरङ सिंचाइ आयोजनाको कार्यालय, क्षेत्रीय सहरी विकास कार्यालय (महानगरको अतिथि गृह) र क्षेत्रीय हुलाक कार्यालयमा विषयगत मन्त्रालय राख्ने तयारी गरिएको छ । आइतबार प्रदेशसभाका सदस्यलाई वीरेन्द्र सभागृहमा शपथ गराइएको थियो ।

प्रकाशित : माघ ८, २०७४ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?