१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

बुद्धस्थलमा मापदण्डविपरीत संरचना, कोषले टेरेन विभागको निर्देशन

मनोज पौडेल

कपिलवस्तु — पुरातत्त्व विभागले मापदण्डविपरीतको संरचना भत्काउन निर्देशन दिए पनि लुम्बिनी विकास कोषले अटेरी गरिरहेको छ । ऐतिहासिक एवं पुरातात्त्विक स्थल निग्रोधाराममा आधुनिक निर्माण सामग्री प्रयोग गरी ध्यानकेन्द्र बनाउन लागिएपछि विभागले रोकेको थियो ।

बुद्धस्थलमा मापदण्डविपरीत संरचना, कोषले टेरेन विभागको निर्देशन

विभागको निर्देशनपछि काम रोके पनि कोषले संरचना भत्काउन नमानेको हो । बुद्ध जन्मस्थल लुम्बिनी र आसपासका पुरातात्त्विक स्थलको संरक्षण जिम्मा पाएको निकायले नै ऐन–नियम मिचेर नयाँ संरचना बनाउँदा संरक्षणमा चुनौती थपिएको छ ।

कोषले निग्रोधाराममा आधुनिक निर्माण सामग्री प्रयोग गरी ध्यान केन्द्र बनाउन थालेपछि विभागले भत्काउन निर्देशन दिएको थियो

कोषले एक महिनायता कपिलवस्तु नगरपालिका– २ कुदानस्थित निग्रोधाराममा पक्की ध्यान केन्द्र र वडा नं ३ स्थित तिलौराकोटनजिक कन्थक स्तुपमा पार्क बनाउने काम अघि बढाएको थियो । निग्रोधाराममा कोष आफैंले ठेक्काबाट र कन्थक स्तुपमा गैरसरकारी संस्थालाई निर्माण अनुमति दिएको हो । यी दुवै स्थानमा संरचना निर्माण थाल्नुअघि कोषले पुरातत्त्व विभागसँगै अनुमति लिएन । ‘स्थानीय स्तरमा कुनै छलफल नगरी काम थालियो,’ कपिलवस्तु–२ का वडाध्यक्ष रामभजन कलवारले भने, ‘काम राम्रो भए पनि नियमपूर्वक नहुँदा समस्या आयो ।’


निग्रोधाराममा ध्यान केन्द्र बनाउन साउनमा ठेक्का लागेकोमा मंसिरमा काम थालिएको थियो । करिब ४० प्रतिशत संरचना पूरा भएपछि निर्माण गैरकानुनी रहेको सार्वजनिक भएसँगै विभागले काम रोकिदिएको छ । कोषले निग्रोधारामको मुख्य संरचनासँगै ८ मिटर दूरीमा बनाउन लागेको १२ मिटर लामो र ६ मिटर चौडा ध्यान केन्द्रको फाउन्डेसन निर्माण भइसकेको छ । पिल्लरसमेत ठड्याई छानो लगाउन मात्र बाँकी छ ।


कन्थक स्तुपमा पार्क बनाउन एक महिनाअघि त्यहाँ टहरा बनाएर चौकीदार राख्न थालिएको थियो । स्तुपस्थलमै खनेर पूर्वतिर एक मिटर उचो र आधा मिटर चौडा पर्खाल लगाएर शिलान्यास गरियो । पार्क बनाउन दिन कोषका कर्मचारी र केही सदस्यले सक्रियता देखाएका थिए । निग्रोधारामको संरचना भत्काउन विभागले कोषलाई लिखित निर्देशन दिएको दुई साता बित्दा पनि भत्काइएको छैन । कन्थक स्तपुमा शिलान्यास गरिएको संरचना र टहरा भने भत्काइएको छ । कोषले पार्क बनाउन काठमाडौंस्थित बोधिग्राम फाउन्डेसनलाई अनुमति दिएको थियो ।


दुवै संरचना नेपाल प्राचीन स्मारक संरक्षण ऐन २०१३ विपरीत रहेको पुरातत्त्व विभागका प्रवक्ता तथा प्रमुख पुरातत्त्व अधिकृत रामबहादुर कँुबरले बताए । ‘जुन ठाउँमा पुरातात्त्विक संरचना छ त्यहाँ पक्की संरचना बनाउन पाइँदैन,’ उनले भने, ‘निर्माण कार्य पुरातात्त्विक मूल्य मान्यताविपरीत रहेकाले तत्काल रोक्न निर्देशन दिएका हौं ।’ कोषले अब पनि निर्देशन अटेरी गरे कारबाही अघि बढाइने कुँवरले जनाए । ‘कोषले निग्रोधारामको बनिसकेको संरचना भत्काएर विभागलाई तत्काल जानकारी गराउनुपर्छ,’ उनले भने, ‘विकासका काम गर्ने नै भए विकल्प धेरै छन् तर त्यो छलफलमै ल्याइएन ।’


पुरातात्त्विक स्थलमा सिमेन्ट, इँट र रड प्रयोग गरेर संरचना बनाउनै पाइँदैन । तर, निग्रोधाराममा यो नियम लत्याइएको छ । ‘नयाँ संरचनाले पुरानालाई ओझेलमा पार्छ,’ वरिष्ठ पुरातत्त्वविद् वसन्त बिँडारीले भने, ‘यसले त्यस ठाउँकै महत्त्व र गरिमालाई नराम्रो असर र प्रभाव पार्छ ।’ पहिलोदेखि चौथौं–पाँचौं शताब्दीका पुरातात्त्विक सम्पदाछेउमा आधुनिक संरचना बनाउँदा विश्वमै नराम्रो संदेश जाने भन्दै उनले चिन्ता व्यक्त गरे । कन्थक स्तुप पहिलो शताब्दी आसपासको भएको अनुमान गरिएको छ । १७ कट्ठामा रहेको स्तुप आसपास ३ वर्षअघि भू–भौतिक सर्भे हुँदा विहार र पोखरीको ठूलो भग्नावषेश पाइएको थियो । त्यस्तै ३ वर्षअघिको उत्खननमा ४ सय ९७ पञ्चमार्क मुद्रा भेटिएका थिए ।



जग्गा अधिग्रहण सुरु

बुद्धस्थल गोटिहवामा रोकिएको जग्गा अधिग्रहणको काम फेरि सुरु भएको छ । कपिलवस्तु नगरपालिका–५ मा पर्ने उक्त स्थानका घरधनीले क्षतिपूर्ति प्रक्रियामा असहमति जनाएपछि ५ महिनादेखि अधिग्रहण कार्य रोकिएको थियो । स्थानीय प्रशासन, घरधनी, नगरपालिका र सरोकारवालाबीच सहमतिपछि पुस १६ देखि काम थालिएको हो ।


अधिग्रहणमा परेका ३४ घरलाई क्षतिपूर्ति दिई आउने वैशाख मसान्तसम्म हटाउने निर्णय भएको उक्त वडाका अध्यक्ष दिरेप चौधरीले बताए । ‘पटक पटक प्रयास गर्दा पनि घरधनीले विरोध गरेपछि काम रोकिएको थियो,’ प्रजिअ मदन भुजेलले भने, ‘सरोकारवालाबीच छलफलपछि काम अघि बढेको छ ।’ प्रजिअसहितको टोलीले स्थलगत अनुगमपछि घरधनीको सहमति जुटाएर निर्णय लिएकाले अधिग्रहण कार्य अघि बढेको वडाध्यक्ष चौधरीले बताए । ‘३४ मध्ये ३२ घरधनी क्षतिपूर्ति लिन राजी भएका छन्,’ उनले भने, ‘२ जना मात्र असन्तुष्ट छन् । ढिलोचाँडो उनीहरु पनि सहमतिमा आउछन् ।’


अधिग्रहण गरिने जग्गा पहिले पुरातत्व विभागकै नाममा थियो तर रेखदेख अभावमा वर्षौंदेखि सर्वसाधारणले घर बनाइर् बसेका थिए । त्यही जग्गा लुम्बिनी विकास कोषले क्षतिपुर्ति दिई अधिग्रहण गर्न थालेको हो । कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले भने जग्गाको नभई घरको मात्र क्षतिपूर्ति दिइने बताए । ‘विभिन्न निकायका ३ इञ्जिनियरमार्फत घर र त्यसमा प्रयोग भएका सामग्रीलाई आधार बनाएर मूल्यांकन गरेका छौं,’ उनले भने, ‘मूल्यांकन आधार वैज्ञानिक छ ।’ कोषले जग्गा अधिग्रहणकालागि प्रशासन कार्यालयको खातामा गत जेठमा ४ करोड रुपैया जम्मा गरिसकेको छ ।


‘गोटिहवाको अधिग्रहण अब रोकिँदैन,’ नगरपालिकाका मेयर किरण सिंहले भने ‘पर्यटकीय विकासका लागि सबैले सहयोग गर्नुपर्छ ।’ अतिक्रमणले गर्दा बुद्धस्थल पुग्ने बाटो साघुरो छ । प्राचीन कुवा र भग्नावषेशमाथी नै स्थानीयले घर बनाएका छन् । बाटो राम्रो नभएकाले वर्षाका बेला त्यहा जानै सकिदैन् । बाटोमै फोहर र ढल बग्छ । अशोक स्तम्भ भाँच्चिएको छ ।


‘पुरातात्त्विक ठाउँ भए पनि अतिक्रमणकै कारण विकास गर्न सकेनांै,’ कोषका प्रोजेक्ट म्यानेजर सरोज भट्टराईले भने, ‘अब त्यसको योजनाबद्ध विकासमा लाग्छौं ।’ गोटिहवामा पुरातत्त्व विभागका नाममा २ बिघा १९ कठ्ठा जग्गा थियो । त्यसमध्ये २ बिघा अतिक्रमण भएको छ ।


गोटिहवा क्रकुछन्द बुद्धको जन्म र निर्वाण प्राप्त भएको स्थल हो । उक्त ठाउमा भारतीय सम्राट अशोकले स्तम्भ बनाएका थिए ।


प्रकाशित : माघ ९, २०७४ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?