कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

नेपाल-चीन सम्बन्ध नयाँ वर्षमा नयाँ वातावरणअनुरूप अघि बढ्छ : राजदूत

काठमाडौँ — चिनियाँ राजदूत यु होङले नेपाल–चीन सम्बन्ध नयाँ वर्षमा नयाँ वातावरणअनुरूप अघि बढ्ने बताएकी छन् ।

नेपाल-चीन सम्बन्ध नयाँ वर्षमा नयाँ वातावरणअनुरूप अघि बढ्छ : राजदूत

‘नेपाल–चीन सम्बन्ध नयाँ वर्षमा नयाँ हुने विश्वास हाम्रो छ । नेपालसहितको छिमेकी सम्बन्धलाई चीनले थप प्रगाढ बनाउने नीति लिएको छ,’ राजदूत युले चिनियाँ भाषा प्रशिक्षणको समापन कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै भनिन्, ‘बेइजिङमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं महाधिवेशनले सहरमुखी धारणा, लाभ र असल छिमेकीपनको विचारलाई निरन्तरता दिने भएको छ ।’


नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले नेपालस्थित चिनियाँ दूतावास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा पर्यटन बोर्डको संयुक्त सहकार्यमा भाषा प्रशिक्षण दिइरहेको छ । पर्यटन बोर्डमा ६ महिनादेखि भएको भाषा प्रशिक्षणको दोस्रो चरण समापनमा राजदूत युले यस्तो धारणा राखेकी हुन् । उनले भनिन्, ‘नेपाल–चीनबीच पारस्परिक सम्मान, समान व्यवहार, एकअर्काप्रति समर्थन छ । दुवै देशले सन् २०१७ मा राजनीतिक, आर्थिक व्यापारलगायत क्षेत्रमा उपलब्धि हासिल गरेका छौं ।’


नेपाल र चीनबीच उच्चस्तरमा राजनीतिक भ्रमणहरू भएको उल्लेख गर्दै राजदूत युले चीन नेपालको सबैभन्दा ठूलो लगानीकर्ता मुलुक भएको पनि बताइन् । ‘बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) मा नेपाल र चीनबीच सहमतिपत्रमा हस्ताक्षर, अन्तरदेशीय आर्थिक क्षेत्रमा भएको सहमति र अन्य दुईपक्षीय सम्झौता आफैंमा मित्रताका उदाहरण हुन्,’ उनले भनिन् । उनले नेपालमा चिनियाँ पर्यटक तथा दुईपक्षीय व्यापार बढिरहेकाले भाषाको महत्त्व रहने बताइन् । यसका लागि चीनले नेपालमा भाषा प्रशिक्षणमा जोड दिएको उनले बताइन् । उनले नेपालले तीनै तहका निर्वाचन गरेर संविधान कार्यान्वयनमा महत्त्वपूर्ण प्रगति गरेको पनि उल्लेख गरिन् ।


चिनियाँ विश्वमा नै सबैभन्दा बढी मानिसले बोल्ने भाषा मानिन्छ । राजदूत युका अनुसार मातृभाषा चिनियाँ भएकाहरूको संख्या १ अर्ब ३० करोड ८४ लाख छ । त्यसबाहेक चिनियाँ सिक्ने अन्य भाषीहरूको संख्या १० करोडभन्दा बढी रहेको तथ्यांक चिनियाँ सरकारसँग छ ।’शैक्षिक परिषदका अध्यक्ष डा. हरिशचन्द्र साहले भाषाले दुई देशलाई थप निकट बनाउने हुनाले यसमा जोड दिइएको बताए ।

प्रकाशित : माघ ९, २०७४ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?