३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

‘सम्बन्ध थप प्रगाढ’

काठमाडौँ — चिनियाँ राजदूत यु होङले नेपाल–चीन सम्बन्ध नयाँ वर्षमा नयाँ वातावरणअनुरूप अघि बढ्ने बताएकी छन् । ‘नेपाल–चीन सम्बन्ध नयाँ वर्षमा नयाँ हुने विश्वास हाम्रो छ । नेपालसहितको छिमेकी सम्बन्धलाई चीनले थप प्रगाढ बनाउने नीति लिएको छ,’ राजदूत युले चिनियाँ भाषा प्रशिक्षणको समापन कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै भनिन् ।

‘सम्बन्ध थप प्रगाढ’

उनको भनाइ थियो, ‘बेइजिङमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं महाधिवेशनले सहरमुखी धारणा, लाभ र असल छिमेकीपनको विचारलाई निरन्तरता दिने भएको छ ।’


नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले नेपालस्थित चिनियाँ दूतावास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा पर्यटन बोर्डको संयुक्त सहकार्यमा भाषा प्रशिक्षण दिइरहेको छ । पर्यटन बोर्डमा ६ महिनादेखि भएको भाषा प्रशिक्षणको दोस्रो चरण समापनमा राजदूत युले यस्तो धारणा राखेकी हुन् । उनले भनिन्, ‘नेपाल–चीनबीच पारस्परिक सम्मान, समान व्यवहार, एकअर्काप्रति समर्थन छ । दुवै देशले सन् २०१७ मा राजनीतिक, आर्थिक व्यापारलगायत क्षेत्रमा उपलब्धि हासिल गरेका छौं ।’


नेपाल र चीनबीच उच्चस्तरमा राजनीतिक भ्रमणहरू भएको उल्लेख गर्दै राजदूत युले चीन नेपालको सबैभन्दा ठूलो लगानीकर्ता मुलुक भएको पनि बताइन् । ‘बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) मा नेपाल र चीनबीच सहमतिपत्रमा हस्ताक्षर, अन्तरदेशीय आर्थिक क्षेत्रमा भएको सहमति र अन्य दुईपक्षीय सम्झौता आफैंमा मित्रताका उदाहरण हुन्,’ उनले भनिन् । उनले नेपालमा चिनियाँ पर्यटक तथा दुईपक्षीय व्यापार बढिरहेकाले भाषाको महत्त्व रहने बताइन् । यसका लागि चीनले नेपालमा भाषा प्रशिक्षणमा जोड दिएको उनले बताइन् । उनले नेपालले तीनै तहका निर्वाचन गरेर संविधान कार्यान्वयनमा महत्त्वपूर्ण प्रगति गरेको पनि उल्लेख गरिन् ।


चिनियाँ विश्वमा नै सबैभन्दा बढी मानिसले बोल्ने भाषा मानिन्छ । राजदूत युका अनुसार मातृभाषा चिनियाँ भएकाहरूको संख्या १ अर्ब ३० करोड ८४ लाख छ । त्यसबाहेक चिनियाँ सिक्ने अन्य भाषीहरूको संख्या १० करोडभन्दा बढी रहेको तथ्यांक चिनियाँ सरकारसँग छ ।’ शैक्षिक परिषदका अध्यक्ष डा. हरिशचन्द्र साहले भाषाले दुई देशलाई थप निकट बनाउने हुनाले यसमा जोड दिइएको बताए ।

प्रकाशित : माघ १०, २०७४ ०६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?