१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कालिकोट भाइरल - १६ विद्यालय ४ दिन बन्द

एकै विद्यालयमा १५० विद्यार्थी बिरामी
तुलाराम पाण्डे

कालिकोट — भाइरल ज्वरो नियन्त्रणमा नआएपछि प्रभावित क्षेत्रका १६ विद्यालय ४ दिनका लागि बन्द गरिएको छ । जिल्ला शिक्षा कार्यालयले खाडाचक्र नगरपालिका र सान्नी त्रिवेणी गाउँपालिकाका विद्यालय ४ दिनका लागि बन्द गर्ने निर्णय गरेको हो ।

जिल्ला दैवी प्रकोप उद्धार समिति र स्थानीय वडाको आग्रहमा जिल्ला शिक्षाले खाडाचक्रका १, २, ३ र ४ वडाका सबै १५ वटै र सान्नी त्रिवेणी गाउँपालिकाको एक विद्यालय बन्द गर्न निर्देशन दिएको जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीले बताए । ‘भाइरल ज्वरो समूहमा बढी फैलिने सम्भावना भएकाले विद्यालय ४ दिन बिदा गरेका हौं,’ जिशिअ तिवारीले भने– ‘भाइरलबाट प्राय: सबैजसो बालबालिका प्रभावित भएकाले विद्यालय बन्द गर्नुपर्ने भयो ।’ रोगबाट ३ बालबालिकाको मृत्यु भइसकेको छ ।


जिशिअ तिवारीका अनुसार खाडाचक्रसहित सान्नी त्रिवेणीको बडरुख आधारभूत विद्यालयमा १ सय ५० विद्यार्थी बिरामी परेकाले मंगलबारदेखि बन्द गरिएको छ । खाडाचक्रमा पनि ८० प्रतिशत स्कुले बालबालिका बिरामी परेको जिल्ला स्वास्थ्य प्रमुख डा. कौशल अलीले बताए । उनले गाउँमा जाँदा अधिकांश बालबालिकामा भाइरल र झाडापखाला देखिएकाले विद्यालय बन्द गर्न अनुरोध गरिएको जनाए । उनका अनुसार मंगलबार पनि १ सय ७७ जना बिरामीको परीक्षण गरिएको छ । उनले खाडाचक्रको ४ वडा, सान्नी त्रिवेणी र नरहरिनाथ गाउँपालिकामा औषधि पठाइएको जानकारी दिए । शुक्रबारसम्म विद्यालय बन्द गरेर बिरामी पहिचान र उपचारमा सहजीकरण गर्न शिक्षकलाई अनुरोध गरिएको जिल्ला शिक्षाले जनाएको छ ।


खाडाचक्रको वडा २ र ४ मा १ हजार १ सय ३० बिरामी भेटिएको खाडाचक्र नगरपालिका खटिएका स्वास्थ्य संयोजक डा. सुवास शर्माले बताए । उनले पुराना बिरामी सञ्चो हँुदै गइरहे पनि नयाँमा संंक्रमण देखिएको जानकारी दिए । सुर्खेतबाट आएको एक ट्रक औषधिमध्ये केही मंगलबार भाइरल प्रभावित गाउँमा पठाइएको जिल्ला स्वास्थ्यले जनाएको छ । पलाता, पचालझरना, नरहरिनाथ गाउँपालिका र रास्कोट नगरपालिकामा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा आइसकेको जिल्ला स्वास्थ्यको दाबी छ । भाइरलबाट वडा ४ मा ३ बालबालिका, एक वृद्ध, वडा ३ मा २ वृद्ध र वडा २ मा ३ वृद्धवृद्धासहित ८ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : माघ १०, २०७४ ०६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?