कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

राष्ट्रिय सभा उम्मेदवारी दर्ता आज

राजेश मिश्र

काठमाडौँ — राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशमा बुधबार उम्मेदवारी दर्ता हुँदै छ । यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ । 

राष्ट्रिय सभा उम्मेदवारी दर्ता आज

आयोगले राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि सबै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याइसकेको छ । प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को पाटन, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र प्रदेश ७ को दिपायलमा निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ । सरकारले प्रदेशको अस्थायी केन्द्र नतोक्दै आयोगले उच्च अदालत रहेका स्थानमा निर्वाचन अधिकृतको कार्यालय खोलेको थियो । आयोग प्रवक्ता नवराज ढकालले बिहान १० देखि ४ बजेसम्म सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको व्यवस्थापन मिलाइएको बताए । निर्वाचक मण्डलबाट एक प्रस्तावक र एक समर्थक लिएर योग्यता पुगेका जोसुकै व्यक्ति राष्ट्रिय सभा सदस्य उम्मेदवार हुन पाउने कानुनी प्रावधान छ । राष्ट्रिय सभा निर्वाचक मण्डलमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख छन् ।


प्रदेशसभा सदस्य ५ सय ५० र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष १ हजार ५ सय ६ समेत गरी कुल मतदाता २ हजार ५६ छन् । राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट ८ सदस्य चुनिने छन् । संविधानअनुसार उक्त संख्यामा कम्तीमा तीन महिला, एक दलित र एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तथा अन्य तीन जना हुनेछन् । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा एकल संक्रमणीय तथा बहुमतीय दुवै प्रणाली अपनाइनेछ । अध्यादेशले एक सदस्य मात्र निर्वाचित गर्नुपर्ने दलित र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहको निर्वाचन बहुमतीय प्रणालीबाटै गरिने व्यवस्था गरेको छ ।


एक जना मात्रै छानिने समूहमा एकल संक्रमणीय मत प्रणाली लागू नहुने भएकाले त्यो व्यवस्था गरिएको हो । महिला र अन्य समूहबाट चुनिने ६ सदस्यका हकमा भने एकल संक्रमणीय मत प्रणाली नै लागू हुनेछ । ३५ वर्ष पूरा भएको र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदाता सूचीमा नाम भएको व्यक्ति उम्मेदवार हुन पाउने छन् । आयोगका अनुसार उम्मेदवारले मनोनयनपत्र दर्ता गराउन जाँदा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता सूचीमा नाम भएको प्रमाण र दलको उम्मेदवार हुन चाहे सम्बन्धित दलको औपचारिक पत्र बोकेर जानुपर्छ । उम्मेदवारी दर्ताका लागि १० हजार रुपैयाँ धरौटी तोकिएको छ ।


एमाले र माओवादीले टुंग्याए उम्मेदवार

काठमाडौं (कास)– राष्ट्रिय सभा निर्वाचनका लागि एमाले र माओवादी केन्द्रले मंगलबार सबै प्रदेशमा उम्मेदवार टुंगो लगाएका छन् । प्रदेश २ मा मधेसी गठबन्धनसँग चुनावी तालमेलबारे छलफल लम्बिँदा वाम गठबन्धन र कांग्रेस दुवैको उम्मेदवार छनोटमा ढिलाइ भएको हो । अन्य प्रदेशमा पार्टीभित्रका आकांक्षी बढी देखिएका र आन्तरिक शक्तिसन्तुलन मिलाएर उम्मेदवार छनोट गर्नुपरेकाले ढिलाइ हुन पुगेको नेताहरूले बताएका छन् ।


एमालेले प्रदेश १ मा महिलाबाट नैनकला ओझा, दलितबाट खेम नेपाली, खुलाबाट हरिचरण सिवाकोटी, खुलाबाटै परशु मेघी गुरुङ, अल्पसंख्यकबाट अगम बान्तवालाई उम्मेदवार बनाएको छ । प्रदेश २ बाट एक मात्रै उम्मेदवार छनोट गरेको छ, जसमा खुलाबाट सुमन प्याकुरेल छन् । प्रदेश ३ बाट भने एमालेले ६ जना उम्मेदवार तय गरेको छ । जसमा महिलाबाट पार्वती रावल, महिलाबाटै उदया शर्मा, दलितबाट सिंहबहादुर विक, खुलाबाट बलाराम बाँस्कोटा, खुलाबाटै वेदुराम भुसाल र अल्पसंख्यकबाट रामचन्द्र राई दनुवार छन् । प्रदेश ४ मा अपांगता भएकाबाट रामबहादुर थापा, खुलाबाट गणेश तिमिल्सिना, महिलाबाट शान्ति अधिकारी र महिलाबाटै दीपा गुरुङलाई उम्मेदवार बनाइएको छ ।


उम्मेदवार चयन गर्न बसेको एमाले स्थायी समिति बैठकको निर्णयमा पार्टी उपमहासचिव घनश्याम भुसाल र सचिव योगेश भट्टराईले भने नोटअफ डिसेन्ट लेखेका छन् । नेताहरू ठाकुर गैरे, जगन्नाथ खतिवडा र नीरज आचार्यको नाम राष्ट्रिय सभा उम्मेदवारमा समावेश नगरिएकोमा उनीहरूले आपत्ति जनाएका हुन् । यसअघि प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पनि उम्मेदवार आकांक्षी रहेका यी तीन जनालाई एमालेले राष्ट्रिय सभामा व्यवस्थापन गर्ने भन्दै पछि हटाएको थियो । ‘यही मापदण्डका आधारमा अन्य व्यक्ति उम्मेदवार बने तर यी तीन जनालाई चाहिँ प्रतिबद्धताअनुसार उम्मेदवार बनाइएन,’ भुसालले भने, ‘यसैले नोट अफ डिसेन्ट लेखेका हौं ।’


एमालेले ५, ६ र ७ का लागि भने सोमबारै नाम टुंग्याइसकेको छ । प्रदेश ५ मा रामलखन हरिजन (दलित), खिमलाल भट्टराई (खुला), मीना बुढा (महिला­) र कोमल वली (महिला) उम्मेदवार हुनेछन् ।


प्रदेश ६ मा कविता बोगटी (महिला), नन्दा शर्मा (महिला), नरपति लोहार (दलित), भैरवसुन्दर श्रेष्ठ (खुला) र ठगेन्द्र पुरी (खुला) उम्मेदवार हुनेछन् । प्रदेश ७ मा कमला ओली (महिला), इन्दु कडेरिया बिष्ट (महिला), शेरबहादुर कँुवर (खुला), चक्रप्रसाद स्नेही (दलित) उम्मेदवार हुनेछन् ।


माओवादी केन्द्रले रामबहादुर थापा र दीनानाथ शर्मासहित १३ जना उम्मेदवारको नाम तय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेताको बैठकले मंगलबार बिहान नाम टुंगो लगाएको हो । प्रतिनिधिसभाकै चुनावमा थापा र शर्मा उम्मेदवार बन्ने चर्चा थियो । तर, गठबन्धनका तर्फबाट सिट बाँडफाँटमा रोजेको क्षेत्र नपाएपछि दुवै नेता अन्यत्र लड्न जान मानेका थिएनन् ।


वाम गठबन्धनतर्फ माओवादीले भागमा परेका १४ मध्ये १३ जनाको मात्र नाम तय गरेको हो । प्रदेश २ मा एक जनाको नाम टुंगो लगाउन बाँकी छ ।


मधेसी दलहरूसंँग तालमेल हुने गरी वार्ता चलिरहेकाले एक सिटमा बुधबार बिहानसम्ममा नाम टुंगो लगाउने माओवादी केन्द्रले जनाएको छ ।


केन्द्रका तर्फबाट प्रदेश १ मा एक जना र प्रदेश ३ मा तीन जना उम्मेदवार हुनेछन् । बाँकी ५ वटा प्रदेशमा दुई–दुई जना उम्मेदवार हुनेछन् । केन्द्रका अनुसार प्रदेश १ मा वीना पोखरेल (महिला), प्रदेश २ मा शशीकला दाहाल (महिला), प्रदेश ३ मा रामबहादुर थापा (खुला) र गंगा पराजुली (महिला), प्रदेश ४ मा दीनानाथ शर्मा (खुला) र खीमबहादुर विक (दलित), प्रदेश ५ मा राजकुमार कुँवर (अल्पसंख्यक/अपांग) र चन्द्रबहादुर खडका (खुला), प्रदेश ६ मा जीवन बुढा (अल्पसंख्यक/अपांग), युटुल लामा (महिला) र कालीबहादुर मल्ल (खुला) र प्रदेश ७ मा लालीराम लोहार (दलित) र हरिराम चौधरी (खुला) उम्मेदवार हुनेछन् ।


कांग्रेस र मधेसवादी दलमा सकस

काठमाडौं (कास)– कांग्रेस र मधेसी गठबन्धनले मंगलबार रातिसम्म पनि सबै उम्मेदवारको नाम तय गर्न सकेका छैनन् । कांग्रेसले प्रदेश १, २ र ३ मा टुंगाउन नसके पनि अन्यमा तय गरेको छ । उसले प्रदेश ४ मा खुलातर्फ सुरेन्द्रराज पाण्डे, महिलाबाट बृन्दा राना मगर, दलितबाट जितबहादुर नेपाली, अपांगता भएकाबाट प्रकाश पन्तलाई उम्मेदवार बनाएको छ । प्रदेश ५ मा खुलातर्फ दुर्गाप्रसाद उपाध्याय, महिलाबाट अनिता देवकोटा, दलितबाट मैकुलाल वाल्मीकि, दलितबाट लटुबहादुर खत्री उम्मेदवार तोकिएका छन् । प्रदेश ६ मा खुलाबाट विष्णुबहादुर शाही, महिलाबाट सूर्यदेवी मल्ल, दलितबाट सीताराम विके र अपांगबाट गोपालप्रसाद शर्मा तथा प्रदेश ७ मा खुलातर्फ बद्री पाण्डे, महिलामा तारादेवी भट्ट, दलितमा शेरीराम पार्की र अपांगता भएकातर्फ छत्रराज जोशीलाई उम्मेदवार बनाएको छ ।

प्रदेश ६ बाट अपांग कोटामा उम्मेदवार रहेका शर्मालाई द्वन्द्वकालमा माओवादी लडाकुले आँखामा तेजाब हालिदिएका थिए ।


प्रदेश २ मा तालमेल

अन्तत: प्रदेश २ मा कांग्रेस र मधेसी गठबन्धनबीच तालमेल हुने भएको छ । वाम गठबन्धनसंँग कुरा नमिलेपछि मंगलबार राति कांग्रेस र मधेसी गठबन्धनले तालमेल गर्ने सहमति जुटाएका हुन् । राजपा पार्टी कार्यालय बबरमहलमा दुई पक्षबीच भएको छलफलमा कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमबीच दुई–दुई सिट लिने गरी सहमति जुटेको अर्थमन्त्रीसमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । राजपा नेता केशव झाले पनि तीन दलबीच दुई–दुई सिट लिने गरी सहमति जुटेको जनाउँदै रातिसम्ममा उम्मेदवार छनोट हुने बताए । मधेसी गठबन्धनसँग वार्ता गर्न कांग्रेसका तर्फबाट अर्थमन्त्री कार्की, केन्द्रीय सदस्य रामशरण महत र मीनेन्द्र रिजाल बबरमहल पुगेका थिए । बैठकमा गठबन्धनतर्फबाट राजपा अध्यक्ष मण्डलका सदस्यहरू र संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवलगायत नेता सहभागी थिए ।


‘अब तालमेलमा सहमति बनेको छ, क्लस्टरअनुसार पार्टीभित्र छलफल गरेर उम्मेदवार छनोट गर्ने काम हुन्छ,’ राजपा नेता झाले भने । फोरमले पनि राति नै उम्मेदवार छनोट गर्ने गरी पार्टीको आन्तरिक छलफल सुरु गरेको जनायो । प्रदेश २ मा वाम गठबन्धनले दुई सिट जित्ने सुनिश्चित जस्तै भएकाले कांग्रेस, राजपा र फोरमबीच ६ सिटमा मात्रै तालमेल भएको हो ।


त्यसअघि मधेसी गठबन्धनले वाम गठबन्धनसँग पनि तालमेल प्रयास गरेको थियो । मधेसी र वाम गठबन्धनबीच मंगलबार दुई चरणमा बैठक बसेको थियो । मधेसी गठबन्धनका नेताहरूले ८ सिटमा ६ वटा आफूहरूलाई दिन वाम गठबन्धनसँग आग्रह गरेका थिए । उनीहरूले संविधान संशोधनको मुद्दामा प्रतिबद्धता जनाउनुपर्ने सर्त पनि अघि सारेका थिए । वाम गठबन्धन ५ सिट दिन तयार भएको थियो । तर, संविधान संशोधनको सर्तमा कुरा नमिलेपछि मधेसी नेताहरू वाम गठबन्धनसँग तालमेलबाट पछि हटेका हुन् । एमाले नेता अग्नि खरेलका अनुसार आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिनेमा वाम गठबन्धन तयार थियो । ‘२ नम्बर प्रदेशमा दुई सिटमा (एमाले र मधेसी गठबन्धनले जित्नेबाहेक) एक–एक गरौं भन्ने भएको हो । पछि उहाँहरूले संविधान संशोधनको मुद्दा पनि अघि सार्नुभयो,’ उनले भने, ‘त्यसमा पनि आवश्यकता र औचित्यका आधारमा संशोधन गर्न सकिने भाषा प्रयोग गर्न तयारै भएका हौं । उहाँहरूले मान्नुभएन ।’

प्रकाशित : माघ १०, २०७४ ०६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?