कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनाङमा भारी हिमपात

आश गुरुङ

लमजुङ — हिमाली जिल्ला मनाङका प्राय: सवै भागमा हिमपात भएको छ । हिमपातले जनजीवन कष्टकर हुनुका साथै सवारी आवागमत ठप्प बनेको छ ।

मनाङमा भारी हिमपात

मे गाउँपालिकाको तिमाङ, दानाक्यु, चामे, माथिल्लो क्षेत्रको मनाङ, पिसाङ, हुम्डे, थोराङला, घ्यारु, ङावल, हुम्डे, तिलिचो क्षेत्र साथै नारफू क्षेत्रलगायतमा हिमपात भएको स्थानीयले बताए । हावाहुरीसंगैको हिमपातले जनजीवन कष्टकर बनेका छन् । चक्रीय अन्नपूर्ण पदमार्गका पर्यटक बीचबाटोमै रोकिएका छन् । चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले सडक र पदयात्रामा हिउँ जम्ने गरी हिमपात भइरहेको बताए । ‘राती २/३ बजेदेखि निरन्तर हिउँ पर्ने र हावाहुरी हुने गरेको छ । हिउँका कारण चामेबाट तल्लो क्षेत्र र माथिल्लो क्षेत्रमा सवारी गुड्न सकेको छैन । जनजीवन कष्टकर छ ।’


तल्लो क्षेत्रमा भन्दा माथिल्लो क्षेत्रमा कम हिमपात भएको स्थानीयले बताए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप (मनाङ) का निमित्त प्रमुख एवं पर्यटन सहायक क्षेत्र गुरुङले हिमपातका कारण थोराङला र तिलिचो जाने पर्यटक रोकिएको बताए । ‘तल्लो क्षेत्रमा भन्दा माथिल्लो क्षेत्रमा हिमपात कम हो । हावाहुरी भने हिजो (मंगलबार) दिउँसो ११ बजेदेखि चलिहरेको छ’ उनले भने । उनका अनुसार आधा इन्चजति हिउँ जमेको छ ।


चामेमा भने ठाउँ हेरेर ४ इन्चसम्म हिउँ जमेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए । उनका अनुसार हिमपातले बाहिर निस्कन सक्ने अवस्था छैन । राती २ बजेदेखि परेको हिमपातले चिसो पनि बढेको र जनजीवन कष्टकर बनेको उनले बताए । उनका अनुसार बटुवा तथा पर्यटकको आवतजावत रोकिएको छ । तल्लो क्षेत्रको नासोङ गाउँपालिका अन्तर्गत धारापानी, ताचैबगरछाप, नाचै, तिल्चे लगायत क्षेत्रमा भने हिमपात भएको छैन । समुद्री सतहदेखि २५ सय मिटरमाथि हिमपात भएको स्थानीयले बताएका छन् । ‘मनाङको तल्लो क्षेत्रबाहेक माथिल्लो क्षेत्रको चामे, नारफू र नेस्याङ गाउँपालिकाका सवै क्षेत्रमा हिमपात भएको छ’ प्रजिअ पन्तले भने ।

तस्बिर सौजन्य: सञ्जीवकुमार चौधरी


प्रकाशित : माघ १०, २०७४ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?