राष्ट्रिय सभा निर्वाचन: उम्मेदवारी दर्ता धमाधम

काठमाडौँ — राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशमा बुधबार उम्मेदवारी दर्ता भइरहेको छ । आयोगले राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि सबै प्रदेशमा तोकेको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता भइरहेको छ ।

राष्ट्रिय सभा निर्वाचन: उम्मेदवारी दर्ता धमाधम

प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को पाटन, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र प्रदेश ७ को दिपायलमा निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ । सरकारले प्रदेशको अस्थायी केन्द्र नतोक्दै आयोगले उच्च अदालत रहेका स्थानमा निर्वाचन अधिकृतको कार्यालय खोलेको थियो ।


आयोग प्रवक्ता नवराज ढकालले बिहान १० देखि ४ बजेसम्म सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको व्यवस्थापन मिलाइएको जानकारी दिए । निर्वाचक मण्डलबाट एक प्रस्तावक र एक समर्थक लिएर योग्यता पुगेका जोसुकै व्यक्ति राष्ट्रिय सभा सदस्य उम्मेदवार हुन पाउने कानुनी प्रावधान छ ।


राष्ट्रिय सभा निर्वाचक मण्डलमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख छन् ।


प्रदेशसभा सदस्य ५ सय ५० र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष १ हजार ५ सय ६ समेत गरी कुल मतदाता २ हजार ५६ छन् । राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट ८ सदस्य चुनिने छन् । संविधानअनुसार उक्त संख्यामा कम्तीमा तीन महिला, एक दलित र एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तथा अन्य तीन जना हुनेछन् । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा एकल संक्रमणीय तथा बहुमतीय दुवै प्रणाली अपनाइनेछ । अध्यादेशले एक सदस्य मात्र निर्वाचित गर्नुपर्ने दलित र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहको निर्वाचन बहुमतीय प्रणालीबाटै गरिने व्यवस्था गरेको छ । एक जना मात्रै छानिने समूहमा एकल संक्रमणीय मत प्रणाली लागू नहुने भएकाले त्यो व्यवस्था गरिएको हो ।


महिला र अन्य समूहबाट चुनिने ६ सदस्यका हकमा भने एकल संक्रमणीय मत प्रणाली नै लागू हुनेछ । ३५ वर्ष पूरा भएको र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदाता सूचीमा नाम भएको व्यक्ति उम्मेदवार हुन पाउने छन् । आयोगका अनुसार उम्मेदवारले मनोनयनपत्र दर्ता गराउन जाँदा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता सूचीमा नाम भएको प्रमाण र दलको उम्मेदवार हुन चाहे सम्बन्धित दलको औपचारिक पत्र बोकेर जानुपर्छ ।


उम्मेदवारी दर्ताका लागि १० हजार रुपैयाँ धरौटी तोकिएको छ ।

उम्मेदवारी दर्ता

आज बिहान १० बजेदेखि साँझ ४ बजेसम्म

मतदाता : २०५६

प्रदेशसभा सदस्य : ५५०

स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष गरी १५०६


निर्वाचित हुने :

प्रत्येक प्रदेशबाट ८ सदस्य (महिला ३, दलित १, अपांगता/अल्पसंख्यक १, अन्य ३)


मतदान :

माघ २४ गते

प्रकाशित : माघ १०, २०७४ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?