कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

हिउँ परेपछि मुस्ताङ सेताम्मे

विनोद त्रिपाठी

मुस्ताङ — मंगलबार राति एक्कासी बढेको चिसोले मुस्ताङका अधिकांश बस्तीमा हिमपात भएको छ । तल्लो भेगमा पानी परेको छ भने उपल्लो क्षेत्रका भू-भागमा हिमपात भइरहेको छ। 

हिउँ परेपछि मुस्ताङ सेताम्मे

सदरमुकाम जोमसोम बजार लगायत वरपर क्षेत्रमा बुधबार आज बिहानीदेखि नै हिमपात भएको हो । हिउँ घाँसा, टुकुचे, कोवाङ, लेते, मार्फा, ठिनी, कागवेनी लगायतका क्षेत्रमा धेरै परेको छ । अग्ला डाँडाहरु सेताम्मे देखिएका छन् । जोमसोम बजार सेतै देखिएको छ । मुक्तिनाथ मन्दिर र यो क्षेत्र वरपर हिउँले पुरै डाँडाहरु हिउँले सेता बनेका छन् ।


बजारमा भन्दा अन्य गाउँवस्ती र उच्च पहाडमा अत्यधिक परेको जोमसोम विमानस्थल तापमापन केन्द्रले जनाएको छ । मंगलबार रातिदेखि नै जोमसोमको न्युनतम तापक्रम माइनस ६ डिग्री सेन्टिग्रेडमा झरेको छ ।


हिउँ परेपछि घर बाहिरको जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि घर बाहिर कोहि निस्कन सकेका छैनन् । पसलहरु बन्द छन् । आन्तरिक पर्यटक आएका छैनन् । चिनियाँ तथा तेस्रो मुलुकका पर्यटकहरु होटलमा बसेका छन् । साना होटलहरु बन्द छन् । सरकारी कार्यालयमा कर्मचारी निकै कम छन् । कार्यालय कुर्न बसेका कर्मचारी कोठा भित्रै बस्न बाध्य छन् ।


चार वर्षपछि जोमसोममा हिउँ देखिएको निर्वाचन कार्यालयका कर्मचारी छत्रदास बैरागीले बताए । 'खेतीपातीलाई पुग्नेगरी अझै हिउँ परेको छैन,' उनले भने । धेरै सरकारी कार्यालयमा कर्मचारी बसेका छैनन् । सेवाग्राही कोही पनि नआउने भएकोले अधिकांश कर्मचारी बिदा मिलाएर घर गएका छन् ।

हिउँ जोमसोम बजारमा भन्दा वरपरका डाँडामा धेरै परेको छ । जोमसोममा भन्दा तल लेते र कोवाङमा धेरै हिउँ परेको स्थानीयको भनाइ छ । उपल्लो मुस्ताङमा हिउँ नपरेपनि अत्यधिक चिसो बढेको छ । यो मौसममा मुस्ताङका घरहरुमा अधिकांश स्थानीय बसेका छैनन् । चिसो छल्न सबैजसो पोखरा, काठमाडौं, चितवन, वुटवल र भारत तर्फका विभिन्न सहरमा पुगेका छन् ।


जोमसोम विमानस्थल तापमापन शाखाका अनुसार, चिसो बढेकोले हवाइयात्रुको चाप निकै कम भएको छ । नेपालीहरुको ओहोरदोहोर शुन्य जस्तै छ । तेस्रो मुलुकका पर्यटकहरु चिसोमा खेल्न आउने भएकोले अहिले दैनिक १/२ उडान मात्र भएको छ ।


जोमसोमको अधिकतम तापक्रम माइनस २ र न्युनतम तापक्रम माइनस ६ डिग्री सेन्टिग्रेड रहेको बिमानस्थल कार्यालयले जनाएको छ । ‘न्युनतम तापक्रम कम भएकोले हिउँ परेको हो,’ बिमानस्थल प्रमुख विष्णुप्रसाद अधिकारीले भने, 'हिउँ परेपनि तुवाँलो नलागेकोले उडानमा समस्या भएको छैन ।’ हिउँसँगै पानी परेकोले आकाश खुलेको उनले जानकारी दिए ।

प्रकाशित : माघ १०, २०७४ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?