कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

वायु प्रदूषण : नेपाल खराब ५ मुलुकको सूचीमा

काठमाडौँ — वायु प्रदुषणका हिसाबले नेपाल विश्वमै अग्रस्थानमा रहेको हालै सार्वजनिक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । विख्यात येले र कोलम्बिया युनिभर्सिटीले ‘वल्र्ड इकोनोमिक फोरम’ सँगको साझेदारीमा हालै सार्वजनिक ‘इन्भारोमेन्ट परफरमेन्स इन्डेक्स २०१८’ (ईपीआई) प्रतिवेदनअनुसार वायु प्रदुषण बढी भएका मुलुकमा नेपाल अग्रस्थानमा रहेको देखाएको हो । 

वायु प्रदूषण : नेपाल खराब ५ मुलुकको सूचीमा

प्रतिवेदनमा वायु प्रदुषणका हिसाबले नेपाल विश्वका १८० देशमध्ये १७६ औं स्थानमा रहेको उल्लेख छ । प्रदुषणका हिसाबले छिमेकी मुलुकहरु भारत र बंगलादेश झन् नेपालभन्दा बढी प्रदुषितको सूचीमा परेका छन् ।


प्रतिवेदनले वायु प्रदुषणलाई विश्वमै प्रमुख वातावरणीय स्वास्थ्यको खतराको सूचकका रुपमा व्याख्या गरेको छ । विगतमा गरिएका विभिन्न अध्ययनले पनि नेपाल (काठमाडौं) सहित भारत (नयाँ दिल्ली) र बंगलादेश (ढाका) वायु प्रदुषणका हिसाबले अग्रस्थानमा रहेको देखाउने गरेका थिए । यो अध्ययनले मानव स्वास्थ्यका हिसाबले वायु प्रदुषण मुख्य चुनौती बनेको देखाएको छ ।


१ सय ८० देशमध्ये स्विट्जरल्याण्डमा वायु प्रदुषणको गुणस्तर सबैभन्दा राम्रो रहेको अध्ययनको निष्कर्ष छ । उक्त देश पहिलो स्वच्छ मुलुकको सूचीमा परेको छ । अध्ययनले १८० देशमध्ये २४ देशमात्र वातावरणीय स्वास्थ्य/वायु प्रदुषणको मात्राका हिसाबले तोकिएका मापदण्डभित्र समावेश हुन सफल भएको देखाएको छ । वातावरणीय र स्वास्थ्यका १० ‘पार्टिकुलेट्स’ लाई आधार मानेर १ सय ८० देशको वातावरणीय अवस्थाबारे अध्ययन गरिएको हो ।


दक्षिण एसियाका नेपालसहित भारत र बंगलादेशको वायु प्रदुषणको गुणस्तर सबभन्दा खराब पाइएको छ । वायुको गुणस्तरका हिसाबले नेपालको स्तर ३१.४४ छ भने भारतको नेपालभन्दा कम ३०.५७ र बंगलादेशको २९.५६ छ । १८० देशमध्ये बुरुण्डीमा वायु प्रदुषणको गुणस्तर सबभन्दा खराब रहेको पाइएको छ । बुरुन्डी सबभन्दा प्रदुषित मुलुकको सूचीमा परेको छ । उसको स्तर २७.४३ मात्र छ । त्यस्तै, अफ्रिकी मुलुक कंगोको वायु प्रदुषणको गुणस्तर पनि खराबमध्येमा छ । उसको स्तर ३०.४१ मात्र छ ।

फ्रान्स, डेनमार्क, माल्टा र स्वीडेन वायु प्रदुषणको गुणस्तर राम्रो हुने मुलुकमा समावेश छन् । ती देशमा अधिकांश यातायात विद्युतीय छन् भने वातावरणमैत्री यातायात व्यवस्थापन र सडक सञ्जालसमेत छ । ती देशमा प्रदुषण रोक्न साइकल प्रवद्र्धन गरिएको छ । नेपाललगायत एसियाली मुलुकहरुमा यातायातका साधन नै प्रदुषणका मुख्य स्रोत हुन् । नेपालमा अधिकांश पुराना सवारी साधन चल्ने र सडकको गुणस्तरसमेत कमजोर भएकाले प्रदुषण बढी हुने गरेको विशेषज्ञहरु बताउँछन् ।

ईपीआईको प्रतिवेदनअनुसार अमेरिका प्रदुषण गुणस्तरका हिसाबले २७ औं स्थानमा छ । सरसफाइ र वायुको गुणस्तरको मात्रा राम्रो भए पनि अमेरिकामा हानिकारक हरितगृह ग्यास उत्सर्जन अत्यधिक भइरहेको उल्लेख छ । वायु प्रदुषणको गुणस्तरका हिसाबले छिमेकी मुलुक चीन १२० औं स्थानमा छ ।


प्रदुषणको गुणस्तर राम्रो भएका पाँच देश

१. स्विट्जरल्याण्ड (८७.४२)

२. फ्रान्स (८३.९५)

३. डेनमार्क (८१.६०)

४. माल्टा (८०.९०)

५. स्विडेन (८०.५१)


खराब पाँच देश

१७६. नेपाल (३१.४४)

१७७. भारत (३०.५७)

१७८. डिआर कंगो (३०.४१)

१७९. बंगलादेश (२९.५६)

१८०. बुरुन्डी (२७.४३)


प्रकाशित : माघ ११, २०७४ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?