३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सरकारको परिधी बाहिरका निर्णय फेरिन्छ : दाहाल

कांग्रेसको लोकतान्त्रिक चरित्र माथि प्रश्नचिह्न
शिव पुरी

भरतपुर — माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ जनमत आइसकेको अवस्थामा कामचलाउ सरकारले गरेको गम्भीर प्रकृतिका निर्णयले नेपाली कांग्रेसको लोकतान्त्रिक चरित्र माथि प्रश्नचिह्न खडा भएको बताएका छन् ।

सरकारको परिधी बाहिरका निर्णय फेरिन्छ : दाहाल

प्रेस सेन्टरले शनिबार भरतपुर विमानस्थलमा गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष दाहालले कामचलाउ हैसियतमा रहेको सरकारले अहिले गरेको निर्णयले कांग्रेस पार्टीलाई नै दीर्घकालीन असर पर्ने उल्लेख गरेका छन् । ‘सरकारले सीमाभन्दा बाहिर गएर केही निर्णयहरु गरेका छन्,’दाहालले भने, ‘सरकारले गरेको सबै निर्णयहरु उल्टाउने भन्ने हुँदैन तर औचित्यका आधारमा सही छ भने त्यो कायम रहन्छन् । जुन दीर्घकालीन असर पर्ने र कामचलाउ सरकारको परिधी बाहिरका छन् भने नयाँ सरकारले फेर्न सक्छ ।’उनले फागुनको दोस्रो हप्ताभित्र नयाँ सरकार गठन भइसक्ने बताए । मधेस केन्द्रित दललाई पनि वाम गठबन्धन सरकारमा ल्याउने कुरा भइरहेको छ,’ दाहालले भने,‘संविधान संशोधनमा समझदारी बन्ने सम्भावना रहेकोले सरकारमा आउने सम्भावना पनि छ ।’


चितवनको माडीस्थित बाँदरमुढे घटनामा परेकाहरुलाई सरकारले गरेको सहिद घोषणाका सम्बन्धमा राजनीतिक तहमा गम्भीर छलफल गरेर समझदारी बन्नु पर्ने उनको भनाइ थियो । ‘जसको नेतृत्व भयो त्यसले आफू खुसी सहिद घोषणा गर्ने प्रक्रिया राम्रो होइन,’उनले भने,‘त्यसको मापदण्ड बनाई त्यसभित्र पारेर मात्र सहिद घोषणा गर्नु उपयुक्त हुन्छ ।’निर्णय स्वागतयोग्य छ कि छैन ? भन्ने पत्रकारको प्रश्नमा दाहालले घुमाउरो पाराले भने, 'स्वागतयोग्य भन्दा पनि कामचलाउ सरकारले अनावश्यक यस्ता कामहरु नगरेको भए हन्थ्यो ।’


दाहालले बाँदरमुढे घटनाप्रति दु:ख ब्यक्त गरिसकेको जनाए । ‘त्यसमा परेकाहरुप्रति हामीले सहानुभूति र सहयोग गरेका हौं,’उनले भने,‘सहिद घोषणामा हाम्रो कुनै आपत्ति हुने कुरा होइन ।’ गणतन्त्र नेपालको सरकार बन्दा युद्धका बेलाका सहिद घोषणा गरेको विषयमा पनि टीकाटिप्पणी भएको दाहालले स्पष्ट पारे ।

प्रकाशित : माघ १३, २०७४ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?