कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘सीमाबाहिरका निर्णय उल्टिन्छन्’

भरतपुर — माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहालले कामचलाउ सरकारले सीमाबाहिर गएर गरेका गम्भीर प्रकृतिका निर्णय फेरिने बताएका छन् । ‘सरकारले गरेका सबै निर्णय उल्टाउने भन्ने हैन, तर औचित्यका आधारमा सही भए कायम रहन्छन्,’ उनले भने, ‘दीर्घकालीन असर पर्ने र कामचलाउ सरकारको परिधिबाहिरका निर्णय नयाँ सरकारले फर्न सक्छ ।’ 

‘सीमाबाहिरका निर्णय उल्टिन्छन्’


प्रेस सेन्टरद्वारा आयोजित पत्रकार भेटमा दाहालले कामचलाउ हैसियतको सरकारले गरेका निर्णयले दीर्घकालीन असर पर्ने उल्लेख गरे । नयाँ जनमत आइसकेको अवस्थामा सरकारले गरेका गम्भीर प्रकृतिका निर्णयले कांग्रेसको लोकतान्त्रिक चरित्रमाथि नै प्रश्न खडा भएको दाहालले आरोप लगाए । चितवनको माडीस्थित बाँदरमुढे घटनाका मृतकलाई सहिद घोषणाका सम्बन्धमा अध्यक्ष दाहालले राजनीतिक तहमा गम्भीर छलफल गरेर समझदारी बन्नुपर्ने बताए ।


‘जसको नेतृत्व भयो, त्यसैले आफूखुसी सहिद घोषणा गर्ने प्रक्रिया राम्रो होइन,’ उनले भने, ‘त्यसको मापदण्ड बनाई त्यसभित्र पारेर मात्र सहिद घोषणा गर्नु उपयुक्त हुन्छ ।’ निर्णय स्वागतयोग्य छ कि छैन भन्ने पत्रकारको प्रश्नमा दाहालले घुमाउरो पाराले भने, ‘स्वागतयोग्य भन्दा पनि कामचलाउ सरकारले अनावश्यक काम नगरेको भए हुन्थ्यो ।’ दाहालले बाँदरमुढे घटनाप्रति दु:ख व्यक्त गरिसकेको जनाए । ‘त्यसमा परेकाहरूप्रति हामीले सहानुभूति र सहयोग गरेका हौं,’ उनले भने, ‘सहिद घोषणमा हाम्रो कुनै आपत्ति हुने कुरा होइन ।’


फागुन दोस्रो साताभित्र नयाँ सरकार गठन भइसक्ने उनको दाबी छ । पार्टी एकताका लागि अध्यक्ष तहमा गम्भीर छलफल भइरहेको र सरकार गठनभन्दा अघि टुंग्याउने गरी छलफल गर्ने दाहालले बताए ।


प्रकाशित : माघ १४, २०७४ ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?