कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

छाउपडी मुक्त भनेर गोठ भत्काएपछि झनै सास्ती, बारीमा त्रिपाल टाँगेर बार्दै

मेनुका ढुंगाना

अछाम — साविकका ढकारी, ढुंगाचाल्ना, हिच्मा, बलातालाई छाउपडी गोठ मुक्त गाविस घोषणा गरियो । त्यतिबेला भएका गोठहरु भत्काएर घरमा बस्छु भनेर प्रतिबद्धता जनाएका महिलाहरु फेरी त्रिपाल टाँगेर बाहिर बस्न थालेका छन् । कतिपय गाउँमा सामुहीक छाउपडी गोठ बनाउन थालेका छन् । 

छाउपडी मुक्त भनेर गोठ भत्काएपछि झनै सास्ती, बारीमा त्रिपाल टाँगेर बार्दै

हालै महिला तथा बालबालिका सेवा केन्द्रले घोषणा ति गाउँहरुमा छाउपडीको अवस्थाको बारेमा गरेको एक अन्तर्क्रियामा अधिकांश महिलाले गोठ भत्काइएपछि झनै सास्ती पाएको बताए । त्रिपाल टाँगेर बस्ने गरेको बताए । कुनै ठाउँमा सामुहीक छाउपडी गोठ बन्नथालेका छन् भने कतै बाख्रा बाध्ने गोठको एक कुनामा बस्ने गरेको उनीहरुले बताए ।


परम्परागत मान्यतालाई तोड्न नसकिने भन्दै फेरी बाहिर त्रिपाल टाँगेर बस्न थालेको साविकको बलाता गाविसकी नन्दा साउदले बताइन् । ‘पहिले भन्दाअहिले बढी दु:ख पाइन थालेको छ । साविकको गाविसभरका मान्छेले पुन: सल्लाह गरेर घर नबस्ने कुरा गरे । एक्लैले घरमा बसे गाउँ समाजबाट अलग हुनुपर्छ’ उनले भनिन् ।


ढकारी गाउँपालिका–४ की सिर्जना योगीको माइतीघर नेपालगञ्ज हो । उनले माइती घरमा हुँदा कहिल्यै छाउ बारिनन् । जब बिहे गरेर ढकारी आइपुगिन् त्यसपछि उनले सोचे भन्दा फरक तरिकाले छाउ बार्नु पर्यो । ‘माइती घरमा हुँदा छाउपडी गोठमा बस्छन् भन्ने त सुनेकी थिएँ तर देखेकी थिइन’ उनले भनिन्, 'खुट्टा तन्काउन पनि नमिल्ने सानो ठाउँ, सोचे भन्दा नितान्त फरक र अप्ठ्यारो महसुस भयो । कति दिन म छाउ गोठमा रोएकी छु ।’


ढकारी गाउँपालिका ८ घोडासैनकी उज्जली देवकोटा ०५८ सालदेखि महिनावारी भएको बेला घरमा बस्न सुरु गरेकी हुन् । उनले त्यसयता आफ्ना २ छोरी २ बुहारीलाई पनि टाढाको गोठमा राखिनन् । घरकै एक सुरक्षित कोठामा राखिन् । आफुले घरमा बस्न सुरु गरेपछि गाउँमा अभियन्ताभएर नै लागिन् । तर, उनले गाउँभरमा सुरु गरेको आन्दोलन व्यर्थ भयो । त्यतिबेला नै उनका जेठा छोराको अल्पायुमा मृत्यु भयो । त्यसपछि गाउँलेहरु सबै मिलेर छाउ हुँदा घरमा बसेर नै छोराको ज्यान गएको आरोप लगाई उज्जलीको परिवारलाई समाजबाट बहिष्कार गर्न पुगे ।


‘दैव संजोगले मेरो आधारशिला ढल्यो, छोरो गुमाएँ । तर, गाउँलेले उल्टो आरोप लगाए, समाजबाट बहिष्कार गरे’ उनी रुँदै भन्छिन्, ‘अल्पायुमा छोरा गुमाउँदाको पीडा एकातिर थियो, गाउँलेले बौलाहा भई भने, पागल बनाए । छाउ प्रथाको बेदना कति छन् कति ।’त्यसपछि गाउँमा कसैलाई ज्वरो आउँदा पनि उनैको कारण हो भन्दै गाली गर्ने, नानाथरी आरोप लगाउने गरेको उनले बताइन् ।

महिलाहरु आफै बाहिर बस्ने, सम्झाउन बुझाउन जाँदा गाली गर्ने गरेको ढकारी १ की सामाजिक अभियन्ता हस्तना बुढाले बताइन् । ‘गाउँका मान्छेको भावना नबुझेर हचुवाको भरमा घोषणा गरे तर प्रतिफल सून्य छ’उनले भनिन्,‘छाउगोठ मुक्तको नाममा बनाइएका सुरक्षित गोठ पनि भत्काए । झन् अहिले दुख पाएका छन् । नाम मात्रको घोषणा भयो ।’


देउताका धामी–झाक्री, वृद्धवृद्धा, महिला सबैलाई एकै ठाँउमा राखेर सामूहीक अन्तर्क्रियालगायतका कार्यक्रम गर्ने र एक पटक १ नम्बर देखि ९ नम्बर वडासम्मका प्रत्येक घरमा छाउपडीको अवस्था बुझ्न तत्काल जाने ढकारी गाउँपालिकाका प्रमुख धनबहादुर खड्काले बताएका छन् । ‘कसैलाई घर सानो भएकै कारण बाहिर गोठमा र त्रिपाल टाँगेर बस्नु पर्ने अवस्था आएको हो भने उनीहरुलाई सुरक्षित राख्नको लागि गाउँपालिकाले पहल गर्नेछ’ उनले भने ।


अगामी भदौबाट लागु हुनेगरी छाउपडीलाई ‘फौजदारी अभियोग’को रुपमा संसदमा पास भएको कानुनको बारेमा वडा तहसम्म जानकारी र सचेतना गराउन आफुहरुले गाउँगाउँमा जानकारी र कार्यक्रम गर्ने गरेको प्रहरी प्रमुख डिएसपी दधिराम न्यौपानेले बताए । ‘६ महिनाको अवधि भनेको सचेतना गर्ने, कानुनको बारेमा जानकारी गराउने बेला हो’ न्यौपानेले भने,‘सकभर त कसैले पनि कानुनी दायरामा आउन नपरोस् भनेर महिला तथा बालबालिका सेवा केन्द्रमार्फत विभिन्न खालका कार्यक्रमहरु सबै ठाउँमा गरिरहेकका छौं ।’

प्रकाशित : माघ १५, २०७४ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?