१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

चूडामणी शर्मामाथि दोस्रो भ्रष्टाचार मुद्दा दायर

गैरकानूनी सम्पत्ति आर्जनको आरोपमा ४ करोड २९ लाख रुपैयाँको मुद्दा दायर 
किताब विक्रीबाट १ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको शर्माको दाबी
कृष्ण ज्ञवाली

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विवादास्पद छवीका निलम्बित सहसचिव चूडामणी शर्माविरुद्ध ४ करोड २९ लाख ५४ हजार रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ ।

चूडामणी शर्मामाथि दोस्रो भ्रष्टाचार मुद्दा दायर

अख्तियारले शर्मा र उनकी पत्नी कल्पना उप्रेतीविरुद्ध दोस्रो मुद्दा दायर गर्ने निर्णय गरेको हो । ‘तीन करोड ६३ लाख रुपैयाँमात्रै बैध रुपमा आर्जन गरेको अनुसन्धानबाट देखिएको छ,’ आरोपपत्रमा उल्लेखित विवरणवारे अख्तियारका प्रवक्ता पदमप्रसाद पाण्डेले कान्तिपुरसित भने, ‘शर्माको सम्पत्ति विश्लेषण हँुदा सात करोड ९३ लाख रुपैयाँ जोडेर कुनै न कुनै रुपमा खर्च गरेको देखियो । वैध आम्दानीको तुलनामा खर्च धेरै भएकाले गैरकानूनी आर्जन गरेको अभियोगमा मुद्दा चलाइएको हो ।’


आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक शर्माविरुद्ध यो दोस्रो मुद्दा हो । कर फर्स्योट आयोगको सदस्यसचिव रहँदा अनियमितता गरेको भनी शर्मासहित ३ जनाविरुद्ध अख्तियारले दायर गरेको १० अर्ब रुपैयाँको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ । शर्माविरुद्ध सुपारी निकासीपछि अनियमित ढंगले कर फिर्ता गरेको उजुरीमाथि छानविन विचाराधीन छ । त्यसैगरी कर फस्यौंट आयोगबाट १ करोडभन्दा कम रकमका फाइलमा भएको कर मिनाहाका अनियमितता पनि छानविनको दायरामा परेको छ ।


शर्मा विरुद्धको दोस्रो भ्रष्टाचार मुद्दा कुनै फाइल वा निर्णय विशेषमा भएको भ्रष्टाचारसँग सम्बन्धित होइन । राष्ट्रसेवक र सार्वजनिक पदमा रहेका व्यक्तिले बैध र श्रोत पुष्टि हुने आम्दानीको तुलनामा अस्वभाविक रकम आर्जन गरेको देखिएमा गैरकानूनी आर्जन गरेको ठानी अख्तियारले अनुसन्धान गर्नसक्छ । शर्माले यो मुद्दाको सुनुवाईका क्रममा आफ्नो आर्जनको बैधता आफैले पुष्टि गर्नुपर्ने हुन्छ । पुष्टि गर्न नसके उनीमाथिको अभियोग अदालतले सही ठहर्‍याउनेछ ।


विशेष अदालतमा सोमबार दायर भएको अभियोगपत्र अनुसार शर्माले आफ्नो आम्दानीको ठूलो हिस्सा पुस्तक लेखन र बिक्रीलाई देखाएका छन् । उनले लोकसेवाको किताब बेचेर १ करोड ६ लाख रुपैयाँ आर्जन गरेको देखाएका छन् ।


तलब भत्ता र पारिश्रमिक गरी २७ लाख ११ हजार रुपैयाँ आर्जन गरेका उनले आफ्नो र श्रीमतीको नाममा विविध शीर्षकमा ३१ लाख ३९ हजार रुपैयाँ बचत गरेका छन् । खेतीबाट उनको कमाई एक लाख ३९ हजार रुपैयाँ देखिएको छ । बहुआयामिक प्रकाशत तथा व्यवस्थापन केन्द्रको आम्दानी १० लाख ९७ हजार रुपैयाँ छ ।


उनले जग्गा बेचेर ७६ लाख रुपैयाँ कमाएको भेटिएको छ भने सञ्चयकोषबाट १ करोड ८ लाख रुपैयाँ ऋण लिएका छन् । ‘यी सबै जोडा ३ करोड ६३ लाख रुपैयाँ बैध आर्जन पुग्छ,’ आरोपपत्रमा उल्लेख छ ।


उनले श्रीमतीको नाममा जग्गा खरिदमा १ करोड २४ लाख हाराहारीमा खर्च गरेका छन् । घर निर्माण र सजावटमा २ करोड ६ लाख रुपैयाँ खर्च भएको छ । बहुआयामिक केन्द्रमा १० लाख रुपैयाँ लगानी गरेका छन् । विविध शीर्षकमा ३ करोड ५६ लाख रुपैयाँ खर्च गरेको बयानमा स्विकारेका छन् ।


सम्पत्ति विवरण भर्ने क्रममा २२ लाख ७९ हजार रुपैयाँ रहेको भनी उल्लेख गरेका उनको बैंक कारोबार हेर्दा १७ लाख ६३ हजार रुपैयाँ मात्रै बचत देखिएको छ । आरोपपत्रमा भनिएको छ, ‘उनको खर्च र लगानी गरी कुल ७ करोड ९३ लाख रुपैयाँ देखिन्छ ।’


२०४५ साल साउन २३ गते सहलेखापालबाट सरकारी सेवा प्रवेश गरेका शर्मा गत जेठ १९ गतेदेखि निलम्बनमा छन् । उनले गत वर्ष मंसीर २३ गते अख्तियारमा पेश गरेको सम्पत्ति विवरणलाई नै आधार बनाई अनुसन्धान शुरु गरिएको थियो ।


अनुसन्धानका क्रममा बयान शुरु हुनासाथ दुईपटक अख्तियारमा पुगेका उनले त्यसपछि भने विरामी भएको भनी बयान दिनै चाहेनन् । त्यसपछि अख्तियारले उनी र उनकी पत्नीको नाममा समेत पत्र काट्यो । चुडामणीले अस्वस्थताका कारण बयान दिन नसक्ने बताए भने उनकी पत्नी कल्पनाले ‘बिरामी श्रीमानको स्याहार सुसार’मा व्यस्त भएकाले बयान दिन नसक्ने बताइन् । चूडामणीले आफ्नो सम्पत्ति पत्नीको नाममा समेत राखेकाले उनलाई समेत प्रतिवादी बनाइएको छ ।


स्रोतका अनुसार, बयानका क्रममा आम्दानीको हिसावकिताव बुझाउदा शर्माले पुस्तक विक्रीबाट करिब २ करोड रुपैयाँ आर्जन गरेको दावी गरेका थिए । किताबको अंकित मूल्यलाई नै आफ्नो भनी उनले हिसाब देखाउन खोजेका थिए । लोकसेवाका पुस्तक लेखकले बढीमा २० प्रतिशतसम्म पाउँछन् । कतिपय पुस्तक व्यापारीहरुले नै आम्दानीको सबै हिस्सा लेखकले नपाउने भनी बयान दिएका छन् ।


श्रीमतीले सञ्चालक गरेको बहुआयामिक परामर्श केन्द्रलाई आर्जन देखाउन माध्यम बनाएका चूडामणीले २०५६/५७ सालदेखि त्यो संस्थाको आम्दानी आफूले पाइरहेको दावी गरेका थिए । पछि अनुसन्धानका क्रममा उनले उक्त संस्था २०७१ साल पुस ३० गतेमात्रै अस्तित्वमा रहेको खुल्यो । स्याङ्जाको फापरथुममा सामान्य परिवारमा जन्मेका चुडामणीले पैत्रिक सम्पत्तिको भागवण्डा हँुदा ६ रोपनी जग्गा पाएका थिए । हाल भने उनको बुढानिलकण्ठमा २५ आनामा बनेको साढे ३ तलाको घर छ ।


स्रोतका अनुसार, सम्पत्ति लुकाउन अत्यन्त चलाख चूडामणीले २०६९ सालमा किनेको जग्गामा ७० सालमा नै तीन तले घर बनेको देखाइदिए । स्रोतकै भनाईमा ‘सानोतिनो दरबार’ भन्न मिल्ने उक्त घरको पछिल्लो २/३ वर्षयताको मूल्यांकन हो भने ५ करोड रुपैयाँ घटि तयार हुँदैन । तर चूडामणीले घरको ढलान र पिलर निर्माण हुनासाथ २०७० मै निर्माण सम्पन्न प्रतिवेदन लिए । ‘घरको सम्पूर्ण मूल्यांकन ७० सालको भवन निर्माण विभागको दररेट अनुसार नै तयार गर्नुपरेको थियो,’ अख्तियारका एक सहसचिवले भने, ‘दुई करोड ६ लाख रुपैयाँमा मात्रै घर बनेको देखियो ।’


अर्बौको अनियमिततामा मुछिएका चूडामणीको बैंक कारोवारको सम्पूर्ण हिस्सा केही लाखमा सीमित छ । उनी र परिवारका सबै सदस्यको ७/८ वटा बैंकखाताको बारम्बारको कारोवारमा लाखको अंक निकै नगन्य छ । उनको बैंक मौज्दात १७ लाख ६३ हजार रुपैयाँमात्रै छ । उनकी श्रीमतीको नाममा अल्टो कारमात्रै छ । उनले ३२ तोला सुन र करिव त्यती नै चादी आफूसँग रहेको दाबी गरेका थिए ।

प्रकाशित : माघ १५, २०७४ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?