२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

बालिकामाथिको दुर्व्यवहार बढ्दै

भक्तपुर — गत असार १६ मा मध्यपुर थिमि मनहरास्थित ७ वर्षीया बालिका बलात्कृत भइन् । बालिका मरणासन्न अवस्थामा पुगेपछि छाडिएको थियो । अभिभावकसँग राम्रो हिमचिम भएकै व्यक्तिले बालिकालाई बलात्कार गरेका थिए । बालिकालाई ललाइफकाइ बलात्कार गर्ने सिखरपागु-५ काभ्रेका २२ वर्षीय सुमन लामालाई भक्तपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । 

बालिकामाथिको दुर्व्यवहार बढ्दै

सूर्यविनायक-५, कटुन्जेस्थित १३ वर्षीया बालिकालाई गत कात्तिक ८ गते देउसी, भैलो खेल्न जाउँ भन्दै निर्माणाधीन घरमा लगेर बलात्कार गरे । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार ती बालिकालाई बलात्कार गर्ने सोही स्थानका २४ वर्षीय राज चौधरी अझै फरार छन् ।


यी दुवै बालिका परिवारको हिमचिम र विश्वास गरेकै व्यक्तिबाट यौन दुर्व्यवहारमा परेका हुन् । उनीहरूजस्तै यौन दुर्व्यवहारको सिकार भएकी बालिकाको उजुरी दिन प्रतिदिन बढदै गएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरमा परेको उजुरीको ३ वर्षयताको तथ्यांक हेर्दा यौन दुर्व्यवहारमा बालिका बढी पीडित भएको पाइएको छ । आफन्त वा चिनेजानेकै व्यक्तिसँग बालिकाहरू असुरक्षित हुने गरेको तथ्यांकमा उल्लेख छ ।


विभिन्न प्रविधिको विकाससँगै विकृति भित्रिएका कारण बालिकाहरू बढी पीडित भएको महानगरीय प्रहरी परिसर मुद्दा शाखाका प्रमुख प्रहरी निरीक्षक मदन केसीले बताए । बालिकालाई आफूमाथि भएको व्यवहार दुर्व्यवहार हो र होइन भन्ने जानकारी नहुँदा पनि उनीहरू यौन दुर्व्यवहारको सिकार भएको उनी बताउँछन् । पछिल्लो समय प्रविधि तथा सामाजिक सञ्जालको दुरुपयोग, अश्लील भिडियोका कारण पनि यौन दुर्व्यवहारको घटना बढदै आएको प्रहरीले जनाएको छ । कतिपय यौन दुर्व्यवहारका उजुरी बढ्नुमा सहमतिमै सम्बन्ध (यौन गतिविधि) गर्ने र समाज/आफन्तले थाहा पाएपछि बलात्कारको उजुरी गर्ने गरेको प्रहरी निरीक्षक केसीले बताए ।


चालु आवको ६ महिनायता प्रहरीमा दर्ता भएका ८ उजुरीमध्ये ६ घटना बालिका यौन दुर्व्यवहार तथा बालयौन दुराचारका छन् । जसमध्ये जबरजस्ती करणीमा ६ बालिका र दुई महिलाको उजुरी दर्ता भएको प्रहरीले जनाएको छ । गत आव ०७३/७४ मा जबरजस्ती करणीसम्बन्धी उजुरी परेका १६ मध्ये ९ बालिका, ७ महिला छन् । एउटै घटनामा २ बालिका यौन दुर्व्यवहारमा परेको समेत तथ्यांकमा उल्लेख छ । यौन दुर्व्यवहारको घटनाक्रम हेर्दा ४ देखि १३ वर्ष उमेर समूहका बालिका बढी पीडित भएको प्रहरीको भनाइ छ ।


महिला हिंसालाई सामान्यत मानव अधिकारविरुद्धको अपराधका रूपमा समाजले हेर्न नसकेका कारण पनि बालिकाहरू यौन दुर्व्यवहारमा पर्ने गरेको महिला बालबालिका अधिकृत नीला घिमिरे बताउँछिन् । ‘समाज, परिवारका सदस्यहरूमा नैतिक आचरण, सदाचारमा ह्रास आएको छ,’ उनले भनिन्, ‘गम्भीर अपराधमा संलग्न व्यक्ति राजनीतिक आडमा कानुनी दायरामा आउन नसकेकै कारण समाजमा अपराध मौलाएको हो ।’ महिला, बालबालिकामाथि हुने हिंसामा परिवारका सदस्यहरूले ढाकछोप गर्ने गरेको समेत उनले बताइन् ।


प्रकाशित : माघ १७, २०७४ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?