३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मुख्यमन्त्रीका आकांक्षीलाई ‘वान टु वान’ कन्भिन्स गर्दै ओली

दुर्गा खनाल

काठमाडौँ — एमाले अध्यक्ष केपी ओलीले पार्टीभित्र मुख्यमन्त्रीका आकांक्षी नेताहरूलाई एक्लाएक्लै भेटेर आन्तरिक सहमति गराउने प्रयास थालेका छन् ।

मुख्यमन्त्रीका आकांक्षीलाई ‘वान टु वान’ कन्भिन्स गर्दै ओली

राष्ट्रिय सभाको निर्वाचनलगत्तै संसदीय दलको नेता चयन गर्नुपर्ने भएकाले सकेसम्म सहमतिबाटै चयन गर्न अध्यक्ष आफैंले आकांक्षी भेट्न थालेका हुन् ।


संसदीय दलभित्र चुनाव गर्दा सांसदहरू दुई समूहमा विभाजन हुने भएकाले सकेसम्म मिलेर नै नेता चयन हुने गरी अघि बढ्न ओलीले सुझाव दिएका छन् । माघ २४ मा राष्ट्रिय सभा निर्वाचन हुन भएकाले त्यो अवधिसम्म सहमति प्रयास गर्ने र केन्द्रीय नेताबीच पनि समझदारी बनाउने गरी ओली सक्रिय भएका हुन् । ‘उहाँले आकांक्षीका कुरा के–के छन् भन्ने बुझिरहनुभएको छ,’ ओली निकट एक नेताले भने, ‘सर्वसम्मतिबाट चयन हुन सक्यो भने राम्रो सन्देश जान्छ भनेर पहल गर्नु भएको हो ।’


एमालेको भागमा परेका प्रदेश ५ बाहेक अन्य तीनवटा प्रदेशमा मुख्यमन्त्री को बन्ने भन्ने तीव्र प्रतिस्पर्धा छ । आकांक्षीहरूले आफू निकट सांसदहरूको समूह निर्माण गर्न थालिसकेका छन् । आफ्नो पक्षमा रहने सांसदहरूको हिसाब देखाउँदै उनीहरूले शीर्ष नेतासमक्ष लबिइङ गरिरहेका छन् । एमालेभित्र प्रदेश १ मा सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राई आकांक्षी छन् । प्रदेश ३ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे प्रबल दाबेदार छन् ।


त्यस्तै प्रदेश ४ मा सचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङ आकांक्षी छन् । प्रदेश ५ मा भने स्थायी समिति सदस्य शंकर पोखरेल यसअघि नै संसदीय दलको नेता चयन भइसकेका छन्, उनी मुख्यमन्त्री बन्ने निश्चित भएको छ । संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने भएकाले अन्य प्रदेशमा आकांक्षीको दौडधुप बढेको हो । पार्टीभित्रका नेताहरूको आन्तरिक समीकरणसमेत मिलाउनुपर्ने भन्दै आ–आफ्ना निकटहरूले लबिइङ गरेका छन् ।


को कसको टक्करमा ?

  • प्रदेश १ भीम आचार्य– शेरधन राई
  • प्रदेश ३ अष्टलक्ष्मी शाक्य– राजेन्द्र पाण्डे
  • प्रदेश ४ पृथ्वी सुब्बा गुरुङ– किरण गुरुङ

प्रदेश १ का आकांक्षी सचिव आचार्यले पार्टीभित्र माधव नेपाल समूहबाट चुनाव जितेका थिए । प्रदेशको इञ्चार्ज र पार्टीभित्र सिनियर भएकाले पनि आफूले पाउनुपर्ने दाबी गरेका छन् । प्रदेश १ मा आफ्नो पक्षमा बहुमत आउने दाबी गर्दै उनी तल्लो तहमै संसदीय दलको नेता छनोट गर्नुपर्ने पक्षमा छन् । ‘लोकतान्त्रिक अभ्यासबाटै हामी अघि बढेकाले पार्टीले प्रदेशमा पनि त्यही खालको अभ्यास गर्न दिँदा राम्रो हुन्छ,’ सचिव आचार्य भन्छन् ।


आफ्नो पक्षमा धेरै सांसद रहेकाले संसदीय दलको चुनाव जित्ने आकलन उनको छ । स्थानीय तह, प्रदेश र प्रतिनिधिसभासमेतको निर्वाचनमा अन्यत्रको भन्दा प्रदेश १ को परिणाम उत्कृष्ट आएकाले त्यसमा आफ्नो भूमिका पनि महत्त्वपूर्ण रहेको आचार्यको दाबी छ । तर स्थानीय तह र प्रदेशसभा चुनावको टिकट वितरणमा प्रदेश १ मा पैसाको चलखेल भएको उजुरी पार्टीमा परेको थियो । त्यस्तो प्रवृत्ति नियन्त्रणमा कुनै पहल नगरेको आरोप उनीमाथि छ । उनकै गृहजिल्ला सुनसरीका ४ मध्ये तीन सिटमा वाम गठबन्धन हारेको छ । सुनसरीको परिणाम बिग्रनुमा आचार्यको भूमिका रहेको आरोप छ ।


पोलिटब्युरो सदस्य राईले पार्टीले नयाँ परम्परा बसाल्नका लागि सकेसम्म सहमतिबाटै संसदीय दलको नेता र मुख्यमन्त्री छान्नु उपयुक्त हुने बताएका छन् । तर संसदीय दलभित्र चुनावी प्रतिस्पर्धा भए पनि आफ्नो जित सुुनिश्चित रहेको उनको पनि दाबी छ । ‘हामी संघीयताको नयाँ अभ्यासमा जाँदैछौं त्यसका लागि सबै मिलेर काम गर्नुपर्ने भएकाले भरसक पार्टीभित्र पनि यस्तो अभ्यास भयो भने राम्रो सन्देश जान्छ,’ राईले भने । लोकतान्त्रिक प्रतिस्पर्धा नै हुने भयो भने आफू तयार रहेको उनको भनाइ छ ।


आचार्यको कार्यशैलीमा प्रदेश १ का धेरै नेता सन्तुष्ट नरहेकाले आफूलाई जित्न सहज हुने दाबीसमेत राईको छ । प्रदेश १ मा राई, लिम्बु लगायत जनजातिको ठूलो बसोबास छ । यसैले पनि समावेशी सन्देश दिने हिसाबले राई प्रबल दाबेदार देखिएका हुन् । यसअघि एमालेभित्र अशोक राईहरूले जातीय कुरा उठाएका बेला राईले विरोध गरेका थिए । त्यसपछि नै उनको पार्टीभित्रको राजनीतिक उचाइ बढेको हो ।


प्रदेश ३ मा उपाध्यक्ष शाक्य र पाण्डेको दाबेदारी सशक्त छ । यी दुवै नेता माधव नेपाल समूहका हुन् । वाम गठबन्धनकै तर्फबाट मुख्यमन्त्री बन्ने महिला आकांक्षीमा शाक्य मात्र एक हुन् । त्यसैले उनलाई जसरी पनि बनाउनुपर्ने धारणा केही नेताहरूको छ । महिला प्रतिनिधित्वको विषय पनि उठ्ने भएकाले शाक्यको पक्षमा महिला नेतृहरूले पनि लबिइङ गरिरहेका छन् ।


पाण्डे भने महिला, जनजातिलगायत कारण देखाएर सार्वभौम संसद्ले नेता चयन गर्ने अधिकार खोस्न नहुने पक्षमा छन् । किनभने चुनाव भयो भने संसदीय दलमा शाक्यलाई पछि पार्न सकिने बुझाइ पाण्डेको छ । मुख्यमन्त्री भएपछि प्रदेशभित्र सशक्त कमान्ड हुनुपर्ने भएकाले त्यसका लागि शाक्यभन्दा बढी दौडधुप गर्न सक्ने नेताका रूपमा पाण्डेको नाम आएको छ । प्रदेश १ र ३ मा मुख्यमन्त्रीसहित प्रदेश सभामुख पनि एमालेकै भागमा परेको छ । प्रदेश सभामुख पनि मुख्य पद नै भएकाले आकांक्षीबीच सहमति गर्न मुख्यमन्त्री र सभामुख पदमा बाँडफाँट गरिने सम्भावना छ ।


प्रदेश ४ का आकांक्षीहरू एमाले सचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण दुवै गुरुङ समुदायका हुन् । पार्टीभित्र ओलीनिकट पृथ्वी सुब्बा सचिव भएकाले अहिले माथिल्लो तहमा छन् । किरण उपाध्यक्ष वामदेव गौतमनिकट नेता हुन् । पार्टीको आन्तरिक समीकरण बिग्रन नदिन पनि गौतम पक्षधरले किरणलाई मुख्यमन्त्री बनाउन लबिइङ गरेका छन् । यद्यपि चुनावअघि नै पृथ्वी सुब्बाले पार्टीले मुख्यमन्त्रीकै रूपमा आफूलाई टिकट दिएर पठाएको भन्दै भोट माग्ने गरेका थिए ।


अहिले दुवै नेता प्रदेशसभामा आफ्ना दलका सांसदलाई आफ्नो पक्षमा लिने दौडधुपमा छन् । उनीहरूले अध्यक्ष ओलीलाई भेटेर आफ्नो क्षमता र योजनासमेत प्रस्तुत गरेका छन् । प्रदेश ४ मा दुवै आकांक्षीलाई व्यवस्थापन गर्ने गरी एउटालाई मुख्यमन्त्री र अर्कोलाई सभामुखको जिम्मेवारी दिने सक्ने अवस्था पनि छैन । प्रदेश ४ मा सभामुख माओवादीको भागमा परेको छ । त्यसैले यहाँ उपसभामुख एमालेको भागमा छ । दुईमध्ये एक जना मुख्यमन्त्री बन्दा अर्कोले उपसभामुखमा चित्त बुझाउने अवस्थामा छैनन् ।


प्रकाशित : माघ १७, २०७४ २०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?