१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

बेपत्ता किशोर फेला - ७ दिनसम्म जंगलमै

प्रशान्त माली

काठमाडौँ — ललितपुर– फुल्चोकीमा हिउँ खेल्न जाने क्रममा हराएका १७ वर्षीय जोन तामाङ ७ दिनपछि घनाजंगलभित्र अर्धचेत अवस्थामा फेला परेका छन् ।  

बेपत्ता किशोर फेला - ७ दिनसम्म जंगलमै

‘रेस्क्यु थ्री साउथ एसिया’ को टोलीले बुधबार अपराह्न साढे ४ बजे उनलाई भेट्टाएको थियो ।

‘उनी भिरालो ठाउँमा ७० डिग्रीको कोणमा अडिएका थिए,’ फेला पार्ने स्वयंसेवी संस्था ‘रेस्क्यु थ्री साउथ एसिया’ का क्षेत्रीय निर्देशक चन्द्र आलेले भने, ‘अर्धचेत अवस्थामा थिए । देख्नासाथ मैले बाबु भनें, उनले आँखा खोले । मैले अँगालोमा बेरें । उनी धरधरी रोए ।’ उनका टोलीमा धेरै जना भए पनि फरक–फरक दिशातिर खटिएका थिए । उनले तत्काल रेडियोमार्फत टिमलाई खबर गरे । ‘लोकेसन’ बताउन नसक्दा अर्का एक सहकर्मीको सहयोगमा उनी बोकेर अघि बढे ।


‘कडा जंगल, सिरुपाते खुकुरीले फाँडदै झर्‍यौं,’ उनले भने, ‘फुल्चोकी डाँडासम्म आइपुग्दा साढे ८ बज्यो ।’ काँडेझाडी फाँड्दै आएका आलेका हातभरि चोटैचोट देखिन्थे ।


त्यतिन्जेल उनले जोनका बाबुआमालाई खबर गरिसकेका थिए । उनीहरू फुल्चोकीको फेदमा कुरिरहेका थिए । ‘माया मारिसकेका थियौं, भेट्दा हर्षका आँसु थामिएनन्,’ उनका बुवा गौतम तामाङले भने । जोनको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ ।


उनी हराएयता चिसो खुब बढेको छ । उनले ताता लुगा लगाएका कारण सुरक्षित रहेको आलेले अनुमान गरे । ‘समूहबाट छुटेर चिप्लिएर लडेको हुन सक्छ । सडकबाट करिब सय मिटर तल थिए बाबु,’ उनले सुनाए, ‘भाग्यवश चोट कतै लागेको छैन । एउटा जुत्ता खुस्किएको थियो । गोलीगाँठो हल्का सुन्निएको देखिन्छ ।’ फुल्चोकीको ‘डेन्जर जोन’ लेखिएको ठाउँबाट झन्डै एक किमि पूर्वतर्फ भीरबाट उनी लडेका थिए । उक्त ठाउँ फुल्चोकीको चुचुरोबाट करिब ३ किमि फेदतर्फ पर्छ । सुरुमा झोला भेटिएपछि आलेको आस बढ्यो । केहीबेरमा उनी फेला परे । आलेको टोली मंगलबार बिहानदेखि रातदिन निरन्तर खटेको थियो ।


श्रवणशक्ति कमजोर रहेका जोन थसिखेलस्थित अजय शिक्षा सदनमा कक्षा ६ मा पढछन् । विद्यालयले अभिभावकलाई खबरै नगरी विद्यार्थीलाई फुल्चोकी डाँडामा गत बिहीबार हिउँ खेल्न लगेको थियो । प्रिन्सिपलसहित कक्षा ५ र ६ का ११ विद्यार्थी गएकामा फर्कंदा उनी हराएका थिए । यसमा विद्यालय र प्रिन्सिपलको लापरबाही रहेको अभिभावकहरूले प्रक्रिया दिएका छन् ।


‘प्रिन्सिपल दुर्गाबहादुर ओलीले यसको जिम्मेवारी लिनुपर्छ,’ बुवा गौतमले भने, ‘बाबु हराएको बारे पनि उनले परिवारलाई एकदमै ढिला खबर दिए । छोरो साढे ३ बजे नै सम्पर्कविहीन भइसकेको रहेछ, हामीलाई राति साढे ८ बजे मात्रै खबर गरे ।’ प्रहरीले प्रिन्सिपललाई यसअघि नै नियन्त्रण लिए पनि साधारण तारेखमा छाडिसकेको छ । फुल्चोकी घुम्न जाने क्रममा बेपत्ता भएको यो घटना पहिलो होइन ।


२०७२ पुसमा पनि काठमाडौं विशालनगरका २० वर्षीय श्रीयान्स खत्री बाटो बिराउँदा बेपत्ता भएका थिए । प्रहरीले खोजी गर्ने क्रममा भीरबाट लडेर मृत्यु भएको अवस्थामा भेटेको थियो । ०७१ मा ललितपुर प्रहरीले बाटो बिराएर हराएका ११ युवायुवतीलाई मध्यरातमा फुल्चोकीबाटै उद्धार गरेको थियो । नयाँ वर्ष, जन्मदिन वा क्याम्प फायरका लागि निस्कने धेरै जमात पनि फुल्चोकी घुमफिरका क्रममा हराउने गरेका छन् ।


फुल्चोकी उपत्यकालाई घेरेर बसेको पहाडमध्ये सबैभन्दा अग्लो चुचुरो हो । यस डाँडाबाट प्रकृतिका साथै पहाडी र हिमाली शृंखला अवलोकन गर्न सकिने भएकाले फुल्चोकी धाउनेको जमात ठूलो छ । फुल्चोकी यात्रा गोदावरी नौधाराबाट सुरु हुन्छ । जंगलभित्र डरलाग्दा भीरहरू छन् । दिउँसै रातझैं देखिने खालका ठाउँ छन् ।


दुर्घटनाकै कारण ०७१ मा गोदावरी बसपार्कमा प्रहरी पोस्ट खडा गरिएको थियो । यहाँबाट काभ्रेको पनौती, दक्षिण ललितपुर हुँदै मकवानपुरसम्म छिचोल्ने रुट छ ।

प्रकाशित : माघ १८, २०७४ ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?