बलात्कारका घटनामा कारबाहीको माग गर्दै प्रदर्शन

शिल्पा कर्ण

काठमाडौँ — पछिल्लो समयमा लगातार भएका बलात्कारका घटनालाई गम्भीरतापूर्वक लिइ दोषीमाथि कारबाही गर्न शुक्रबार माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरिएको छ । 

बलात्कारका घटनामा कारबाहीको माग गर्दै प्रदर्शन

महिला सुरक्षा दबाब समूहले बलात्कारका घटनालाई फितलो रुपमा लिइ पीडकलाई सामान्य तारेखमा छाडिदिने जस्ता घटनाले पछिल्लो समय महिलालाई असुरक्षित महसुस भइरहेको भन्दै यस्ता घटना रोकिनुपर्ने माग गरेको छ । सहरी क्षेत्रमा समेत यस्ता घटना हुनु र प्रहरी प्रशासनको लापरबाही तथा असंवेदनशीलता निन्दनीय रहेको भन्दै समूहले साढे ११ देखि १ घण्टा प्लेकार्ड लिएर माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए ।


नयाँ शक्तिकी नेतृ हिसिला यमीले वर्तमान र भावी सरकार दुवैले महिला सुरक्षाको विषयमा चासो नलिएको आरोप लगाइन् । ‘खै एमाले र माओवादीले यो विषयमा बोलेको?,’ उनको प्रश्न थियो, ‘भावी प्रधानमन्त्री र पार्टी अध्यक्षको छलफल गरि बसिरहेका छन् । महिला नेतृहरुको पनि जाँगर चलेन यस्ता कार्यको विरोध गर्न ।’


प्रमुख दलका महिला संगठनले यस्ता घटना विरुद्ध आवाज नउठाउनुले थप घटना हुन प्रेरित गरेको भन्दै यमिले पुरुष समेत असुरक्षित हुने परिस्थिति आउने खतरा रहेको बताइन् । बलात्कार जस्तो जघन्य अपराधमा समेत दुवैपक्ष मिलाएर पैसा खाने बिचौलिया सक्रिय रहेको उनको भनाइ थियो ।


‘सरोकारवालाहरुले मुखमा बुजो लाए स्थिति झन् भयावह हुन्छ । बलात्कारका घटना सम्झौतामा टुंगिने ट्रेन्डले हाम्रो देश कतातिर लाँदैछ,’ उनले प्रश्न गरिन् । दण्डहीनता र प्रहरीको समेत लापरवाहीले आपराधिक प्रवृत्तिले बढावा पाउने र उनीहरुको मनोबल बढ्ने बताएकी छिन् ।


अधिकारकर्मी सुनिता दनुवारले दरबारमार्ग घटनामा पीडितालाई धाकधम्कि दिएर बयान फेर्न बाध्य बनाइएको जस्तो देखिएको बताइन् । ‘प्रमाण समेत भेटिइसकेको अवस्थामा उनले बयान फेर्नु प्राकृतिक देखिन्न,’ दनुवारले भनिन्, ‘उनले सहमतिमा सम्पर्क राखेकी हुन् भने त्यो एक जनासँग हुनुपर्ने हो, ४ जनासँग होइन ।’


पीडिताले बयान फेर्नुलाई ‘शंकास्पद’ को संज्ञा दिँदै उनले प्रहरीसामु पुगेको घटनामा आफ्नो कार्यक्षेत्र पर्दैन भनि पञ्छिनु प्रहरीको निन्दनीय कदम भएको बताइन् । पीडकले सजाय पाउनैपर्ने मागसहित प्रदर्शनमा सामेल भएको उनको भनाइ थियो ।


ललितपुरको बाडेगाउँ, काठमाडौंको दरबारमार्ग, खोटाङमा ८ वर्षीया बालिका र देशैभरि बलात्कारका घटना बढै गएकोमा समुहले सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित : माघ १९, २०७४ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?