कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिरामीसँग दलाली

अस्पताल कर्मचारीकै मिलेमतोमा दलाली हुँदै आएको आशंका 
ठाकुरसिंह थारु

नेपालगन्ज — नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा पछिल्लो समय बिरामीसँग दलाली बढेको छ । अस्पताल आसपासका निजी पसलमा औषधि, प्रयोगशाला, एक्सरे लगायतका सेवा छिटो र भरपर्दो दिने भन्दै दलाल परिचालन भएका छन् । यसमा अस्पतालका केही कर्मचारीसमेत संलग्न रहेको आशंका गरिएको छ । 

गाउँबाट उपचारका लागि आएका बिरामीलाई निजी क्लिनिकमा सस्तो र छिटो सेवा पाउने प्रलोभन दिंदै ठगी हुँदै आएको छ । ओपीडी जाँचपछि बाहिर निस्केका बिरामीको पर्चा हेर्दै दलालले निजी क्लिनिकमा पठाउने गरेका हुन् । अस्पतालमा अल्ट्रासाउन्ड, एक्सरे, ल्याब, फार्मेसीलगायतका सुविधा छ । तर, दलालहरूले अस्पतालमा ढिलो गरी जाँच हुने, प्रभावकारी नहुने भन्दै बिरामीलाई झुक्याउने गरेको पाइएको छ ।


टाढाबाट आएका बिरामी छिटो उपचार गरेर घर फर्किन सकिने भन्दै दलालहरूको प्रलोभनमा फस्ने गरेका छन् । उक्त अस्पतालमा दैनिक ५ सय बढी बिरामी उपचारका लागि आउने गर्छन् । एक्सरे, रगत परीक्षण जाँचमा समय लाग्ने गरेका कारण एकै दिन रिपोर्ट देखाउन समस्या हँुदै आएको छ । एक दिन पर्चा काटेर स्वास्थ्य जाँच गराउने र अर्को दिन रिपोर्ट देखाउन आउनुपर्दा आर्थिक भार खेप्नुपरेका कारण सर्वसाधारण सहजै दलालको प्रलोभनमा पर्ने गरेका हुन् ।


बिरामीसँग दलाली हुन थालेको जानकारी पाएपछि अस्पताल प्रशासनले बुधबार निगरानी गरेको थियो । त्यस क्रममा एक दलाल पक्राउ परेका छन् । अस्पतालले उनको नाम सार्वजनिक गरेको छैन । दलालको आरोपमा पक्राउ परेका ती व्यक्तिले अस्पतालकै कर्मचारीको मिलेमतो दलाली गरेको दाबी गरेका छन् । भेरी अञ्चल अस्पतालका निमित्त प्रमुख डा. कृष्ण आचार्यले बिरामीलाई बाहिरका मेडिकलबाट सेवा लिन दलाली भइरहेको स्वीकारेका छन् । उनले एकजनालाई पक्राउ गरी कारबाही प्रक्रिया बढाएको बताए । ‘पक्राउ परेका व्यक्तिले अस्पतालका केही कर्मचारीको नाम पोलेका छन् । त्यसबारे अनुसन्धान गरिरहेका छौँ ।’ उनले भने, ‘अस्पताल परिसरभित्र बिरामीसँग हुने दलाली रोक्न लागेका छौँ ।’


अस्पतालमा नि:शुल्क औषधि नपाउने भएका कारण पनि बिरामीहरू निजी औषधि पसलमा जान बाध्य छन् । उनीहरूले महँगो शुल्क तिरेर उपचार गराउनुपरेको गुनासो गरेका छन् । सरकारी अस्पतालमा स्वास्थ्य जाँच र औषधि नि:शुल्क हुने भनिए पनि अञ्चल अस्पतालमा सेवाग्राहीबाट विभिन्न नाममा शुल्क लिने गरिएको छ । नि:शुल्क पाइने औषधि अस्पतालमा नभएको भन्दै बिरामीलाई किन्न पठाउने गरिएको छ ।

प्रकाशित : माघ २०, २०७४ ०६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?