८ सय विद्यार्थी बाहिरिए

तिब्बती भाषामा पढाउने शिक्षक नहुँदा विद्यार्थी समस्यामा
राजबहादुर शाही

मुगु — उत्तरी सीमावर्ती मुगुम् कार्मारोङ गाउँपालिकाको सामुदायिक विद्यालयमा तिब्बती भाषाको पढाइ नहुँदा विद्यार्थी बाहिरिन थालेका छन् ।

गाउँपालिकाअन्तर्गत दाउरा, मह, मुगु, ताखा, खारी, रिउस, पुवा, कार्ती, पुलु, सेरोकलगायत १२ गाउँबाट तिब्बती भाषा अध्ययनका लागि ८ सय ५० भन्दा धेरै विद्यार्थी बाहिरिएको पाइएको छ ।


गाउँपालिकाको एक तथ्यांकअनुसार मह गाउँबाट १ सय ५०, पुलुबाट २६, माग्री गाउँबाट ५९, सेरोगबाट १८, दाउरा गाउँबाट ३२, डोल्फुबाट ४८ विद्यार्थी तिब्बती भाषामा पढ्न जिल्ला बाहिर गएका छन् । एउटा गाउँबाट तिब्बती भाषामा शिक्षा हासिल गर्न ३० प्रतिशतसम्म विद्यार्थी बाहिरिएको पाइएको छ । आफूहरूलाई नेपालीमा भन्दा तिब्बती भाषामा पठनपाठन गर्न सजिलो हुने स्थानीयले बताएका छन् ।


आदिवासी जनजातिको बाहुल्य रहेको उक्त गाउँपालिकामा एउटा मावि, चारवटा निमावि र १२ प्रावि सञ्चालनमा छन् । तर, तिब्बती भाषामा पढाइ नहुँदा अभिभावकले आफना छोराछोरीलाई काठमाडौंको बौद्ध, स्वयम्भू, भारतको हिमाञ्चलका केरला, लद्दाक, देहरादुन, नैनसुरलगायत स्थानमा पठाउने गरेको बताए ।


‘सरकारले विद्यालय खोल्यो । तर, हाम्रो भाषाको पढाइ हुँदैन ।’ पुलु गाउँका छिरिङतोर्चे लामाले भने, ‘त्यसैले जहाँ तिब्बती भाषा पढाइ हुन्छ, त्यहीं पढाउन पठाउने चलन छ । तिब्बती भाषाको अध्ययन गर्न विद्यार्थी जिल्ला बाहिर जान थालेपछि मुगुम् कार्मारोङ गाउँपालिकाका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटेको छ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई तलब खुवाउने मात्र काम भइरहेको लामाले बताए । ‘मुगुम् कार्मारोङ गाउँपालिकामा शिक्षामा लगानी खेर गएको छ । कक्षा ५ सम्म पढने विद्यार्थीले पनि राम्रोसित नेपाली शब्द उच्चारण गर्न जान्दैनन्,’ उनले भने ।


सरकारले तिब्बती मातृभाषामा पढाइ व्यवस्था नगरेसम्म विद्यार्थी बाहिरिने क्रम नरोकिने सरस्वती निमावि पुलुका शिक्षक सीपी लामाले बताए । ‘नेपाली भाषाबाट पढाउँदा यहाँका बालबालिकाले बुझ्दैनन् । तिब्बती भाषा पढाउने शिक्षक र सरकारी नीति छैन,’ उनले भने, ‘तीन/चार कक्षा पढेका पनि छोडेर तिब्बती भाषामा पढ्न बाहिर जाने गरेका छन् ।’ प्रत्येक गाउँमा सरकारी विद्यालय भए पनि भाषाको समस्याले विद्यार्थी पढन बाहिर जाने गरेको गाउँपालिका प्रमुख छिरिङ क्याप्ने लामा बताउँछन् । तिब्बती भाषाबाट पढाइ हुनुपर्छ भनेर धेरै आवाज उठे पनि सुनुवाइ नभएको उल्लेख गर्दै उनले भने, ‘विद्यार्थी रोक्ने एउटै उपाय मातृभाषामा पढाइ हो ।’


गाउँपालिकाका १७ वटा विद्यालयमा कार्यरत शिक्षकमध्ये चारजना मात्र लामा र दुईजना महिला छन् । तिब्बती भाषाबाट उच्च शिक्षा हासिल गरेका व्यक्तिलाई विद्यालयमा शिक्षक बनाउन यहाँका आदिवासी जनजातिको माग गर्दै आएको भए पनि उनीहरूको शैक्षिक प्रमाणपत्रले सरकारी मान्यता नपाउँदा समस्या भएको छ ।

अहिले भाषागत सिकाइ भनेर १ सय पूर्णांकको स्थानीय पाठ्यक्रम बनाइएको भए पनि लागू नभएको निमित्त जिल्ला शिक्षा अधिकारी रमेश मल्लले बताए । उनले भने, ‘भाषागत शिक्षाको समस्याले मुगुम् कार्मारोङ गाउँपालिका शिक्षाबाट पछि परेको छ ।’

प्रकाशित : माघ २०, २०७४ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?