कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नगरपालिकाबाटै सम्बन्ध विच्छेद

रुकुम पश्चिम — आठबिसकोट नगरपालिकाले न्यायिक समितिमा परेको निवेदनमाथि सुनुवाइ गर्दै एक दम्पतीको सम्बन्ध विच्छेद गराएको छ । समितिले दुवै पक्षसँग छलफल गराई मेलमिलापबाट सम्बन्ध विच्छेद गराएको हो । 

आठबिसकोट नगरपालिका १२ की सिर्जना खत्रीले न्याय माग्दै श्रीमान् राजेकन्द्रकुमार कुसारीविरुद्ध न्यायिक समितिमा निवेदन दिएकी थिइन् । सहमतिमै सम्बन्ध विच्छेद हुन सक्ने व्यवस्था हुँदा समितिले दुवैलाई संयुक्त निवेदन लेख्न लगाएको थियो । तीन छोरीका आमाबाबु सिर्जना र राजेन्द्रकुमारको सम्बन्ध विच्छेद भएको न्यायिक समिति संयोजक एवं नगर उपप्रमुख गीता नेपालीले बताइन् । ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अन्तर्गत मेलमिलापकै माध्यमबाट सम्बन्ध विच्छेद भएको हो,’ संयोजक नेपालीले भनिन्, ‘दुवैको मञ्जुरी भयो र सम्बन्ध विच्छेदको मिसिल तयार भयो ।’


न्यायिक समितिको क्षेत्राधिकारभित्रै रहेर उक्त सम्बन्ध विच्छेद भएको उनले बताइन् ।

न्यायिक समितिमा निवेदन परेको १० दिनमा मुद्दाको टुंगो लागेको हो । श्रीमान्–श्रीमती दुवैले सम्बन्ध विच्छेद माग गर्दै संयुक्त निवेदन दिएका थिए । समितिले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीलाई मेलमिलापकर्ता तोकेर जिम्मेवारी दिएको थियो । केसीले दुवैसित परामर्श गरेर मुद्दाको मिसिल तयार गरेका थिए । लेनदेनलगायतका दुवै आपसी टुंगो लगाएपछि मिसिल

तयार भएको मेलमिलापकर्ता केसीले बताए ।


न्यायिक समिति गठनपछि उक्त नगरपालिकामा ३० निवेदन परेका छन् । सम्बन्ध विच्छेदको एउटासहित २१ निवेदनमाथि टुंगो लागिसकेको छ । ९ वटा छलफलकै क्रममा छन् । ऐनको परिच्छेद ८, को दफा ४७ को २ (ग) मा न्यायिक समितिले मेलमिलापको माध्यमबाट मात्रै पति–पत्नीबीच सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था छ ।

प्रकाशित : माघ २०, २०७४ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?